किशोर थापा काठमाडौं महानगरपालिका : मेयर

प्रदेश जिल्ला दल उमेर लिंग समूह प्राप्त मत कैफियत
प्रदेश नं ३ काठमाडौं साझा पार्टी समर्थित पुरुष

काठमाडौं महानगरमा साझा पार्टीका तर्फबाट मेयरका स्वतन्त्र उम्मेदवार किशोर थापा नेपाल सरकारका पूर्वसचिव हुन् ।

तत्कालीन चोभार गाउँ पञ्चायतमा जन्मिएका थापाको हालको बसोबास कामपा १४ बल्खुमा रहेको छ । पिता-पुर्खा र आफन्तहरु नेपाली सेनामा रहे पनि उनले भने केही फरक काम गर्ने सोचले निजामती सेवा रोजे ।

थापा ०३९ सालमा तत्कालीन हवाई विभाग (अहिलेको नागरिक उड्ययन प्राधिकरण) बाट सरकारी सेवामा प्रवेश गरेका हुन् । अस्थायी आर्किटेक्ट इञ्जिनियरका रुपमा सेवा सुरु गरेका उनी केही समयमै स्थायी हुनुका साथै बढुवा हुँदै गए ।

३२ वर्षको सरकारी सेवापछि सचिवका रुपमा उनी ०७१ सालमा रिटायर्ड भएका हुन् । थापाका श्रीमती र दुई छोराछोरी छन् ।

सरकारी सेवामा रहँदा कार्यसम्पादनका क्रममा कुनै दाग नलागेका थापा स्वच्छ छविका मानिन्छन् । शहरी विकास तथा भवन निर्माण विभाग तथा शहरी विकास मन्त्रालयमा समेत काम गरेका उनले शहरी विकास विज्ञको परिचय बनाएका छन् ।

पढाइमा अब्बल रहेका थापा ०३१ सालको एसएलसी परीक्षामा बोर्ड फर्स्ट हुन् । एसएलसीपछि आईएस्सी गरेका उनले कोलकाता युनिभर्सिटीमा आर्किटेक्चर इञ्जिनियरिङ पढे, त्यसपछि दिल्लीको स्कूल अफ प्लानिङ एन्ड आर्किटेक्चरमा शहरी योजना विषयमा मास्टर्स गरे ।

सरकारी सेवाबाट अवकाश लिएर विश्राममा रहिरहँदा ५८ वर्षीय थापासामु गत वर्ष राजनीतिक दलमा आबद्ध हुने प्रस्ताव आयो । वैकल्पिक शक्ति भन्दै गत वर्ष रवीन्द्र मिश्रले खोलेको साझा पार्टीमा उनी जोडिन पुगे । 

पार्टीमा लागेको छोटो समयमै उनी देशकै जेठो महानगर काठमाडौंको मेयर बन्न चुनावी मैदानमा उत्रिएका छन् ।