रञ्जु दर्शना काठमाडौं महानगरपालिका : मेयर

प्रदेश जिल्ला दल उमेर लिंग समूह प्राप्त मत कैफियत
प्रदेश नं ३ काठमाडौं विकेकशील साझा पार्टी महिला

महानगरमा मेयरको कान्छो उम्मेदवारका रुपमा चर्चा पाएकी रञ्जु दर्शनाको उमेर २१ वर्षको छ । विवेकशील नेपाली पार्टीको समर्थनमा उम्मेदवार बनेकी उनी एकल आमाकी छोरी हुन् ।

काठमाडौं महानगरपालिका ३ महाराजगञ्ज स्थायी घर भएकी रञ्जु अहिले नेसनल कलेज बालुवाटारमा 'विकास अध्ययन' विषय लिएर स्नातक पढ्दै छिन् ।

विवेकशील नेपालीमा उनी चार वर्ष अघिदेखि सक्रिय हुँदै आएकी छिन् । सङ्लो राजनीतिको परिकल्पना गरिरहेको समयमा विवेकशीलको घोषणापत्रबाट प्रभावित भएर उनी त्यसमा आबद्ध भएकी थिइन् ।

रञ्जुले ०७० सालको संविधानसभा निर्वाचनमा चुनावी अभियानको अनुभव बटुलेकी छिन् । सो चुनावमा काठमाडौं क्षेत्र नम्बर ५ बाट विवेकशीलका अध्यक्ष उज्ववल थापा उठ्दा उनी अभियानमा खटेकी थिइन् । दुई वर्षअघि भूकम्पपछिको उद्धार र राहतमा पनि उनी जुटिन् ।

भ्रष्टाचार विरोधी अभियान र डा. गोविन्द केसीको समर्थनमा सडकमा नारा लगाउने उनी यसपाली आफैं कमाण्ड सम्हाल्ने गरी राजनीतिको दौडमा होमिएकी छिन् । आफ्नै जति उमेरमा धेरैले इतिहासमा अब्बल काम गरेको उदाहरण दिँदै अघि सरेकी उनले पनि काठमाडौं हाँक्ने सपना देखेकी छिन् ।

अहिले महानगरको मेयरको सपना देखे पनि रञ्जुको सपना योभन्दा पनि निकै ठूलो छ । ५५ वर्षसम्म मात्र सक्रिय राजनीति गर्ने सोच राख्ने उनले प्रधानमन्त्री बन्ने अन्तिम लक्ष्य राखेकी छिन् ।