सुर्खेत–१ : दाजुको विरासत जोगाउने चुनौतीमा विष्णुबहादुर
२०२४ साल कातिक ६ गते सुर्खेतमा जन्मिएका विष्णुबहादुर खड्का सुर्खेत १ बाट पहिलो पटक संसदीय चुनावमा होमिएका नेता हुन् । तर, उनका दाजु पूर्णबहादुर खड्का भने यही क्षेत्रबाट पटक–पटक चुनाव जितेका नेता हुन् ।
तर, राजनीतिमा भने विष्णुबहादुर लामो समयदेखि सक्रिय छन् । हाल नेपाली काँग्रेस सुर्खेतका उपसभापति समेत रहेका विष्णुबहादुर वीरेन्द्रनगर–७, इत्राम्मा निवासी हुन् । २०३६ सालमा देशमा बहुदल की निर्दल भन्ने विषयमा बहस भइरहँदा उनी बहुदलको पक्षमा उभिएका थिए ।
त्यो बेला उनले देशमा बहुदल चाहिन्छ भन्दै राँके जुलुस गर्ने, भित्ते लेखन गर्ने र बहुदलको पक्षमा पर्चा टेम्पलेट छपाएर वितरण गर्ने लगाएका काम गरेका थिए ।
२०४६ सालको जनआन्दोलनमा अग्रभागमा रहेर सुर्खेतमा आन्दोलन थालेका विष्णुले त्यो बेला पहिलो पटक ११ दिन र दोस्रो पटक २६ दिन हिरासतमा बसेका थिए । व्यवसायीक क्षेत्रमा सक्रिय रहेका उनी दाइ पूर्णबहादुरको चुनावी अभियान र उनको राजनीतिक जीवनका प्रमुख सारथिका रूपमा थिए ।
२०४२ सालमा आमाको नामबाट सुर्खेतको वीरेन्द्रनगरमा माया मेडिकल हल नामक व्यवसाय सुरु गरेका विष्णुबहादुर अहिले माया अस्पतालका सञ्चालन हुन् । २०५० साल देखि सुर्खेतमा पहिलो पटक मध्यपश्चिम यातायात व्यवसायी संघ स्थापना गरेका उनी संघको संस्थापक समेत हुन् । हाल मध्यपश्चिम यातायात प्रालिको अध्यक्ष समेत रहेको उनी विगत २३ वर्षदेखि यो संस्थाको नेतृत्वमा रहेर काम गर्दै आएका छन् ।
यातायात व्यवसायी राष्ट्रिय महासंघको केन्द्री उपाध्यक्ष समेत भई सकेका विष्णुले यातायात, अस्पताल, पेट्रोल पम्प, औषधी डिलर लगायतका क्षेत्रमा व्यवसाय गर्दै आएका छन् ।
नेपाली काँग्रेसको १० औ महधिवेनमा साबिकको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर–८ को वडा सभापतिमा निर्वाचित भएका थिए । १४ औ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका विष्णु पछि नेपाली काँग्रेसको जिल्ला उपसभापतिमा निर्वाचित भएका हुन् । उनी पार्टीको साधारण सदस्य, क्रियाशील सदस्य हुँदै जिल्ला उपसभापति बनेका व्यक्ति हुन् ।
कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ नेतृत्व चयन गर्दै गर्दा उनका दाजु पुर्णबहादुर विपक्षमा थिए । पूर्णबहादुर खड्काको नेतृत्वमा महाधिवेशनको वैधतामाथि प्रश्न उठाएर सर्वोच्च अदालतमा मुद्दा समेत परेको छ । यो पृष्ठभूमीमा भाइ विष्णुबहादुरले प्रतिनिधिसभा सदस्यको टिकट पाएका हुन् ।
यो क्षेत्रबाट पूर्णबहादुर खड्काले २०४८ सालमै चुनाव जितेका नेता थिए । २०५१ र २०५६ को संसदीय निर्वाचनमा पनि खड्का विजयी भएका थिए । २०६४ को संविधानसभा निर्वाचनमा २०६४ मा एमालेकी कमला शर्मा निर्वाचित भएकी थिइन् । त्यसपछिका २०७० को चुनावमा कांग्रेसका पूर्णबहादुरले नै चुनाव जिते । २०७४ मा भने एमालेका ध्रुवशाहीले बाजी मारे । २०७९ मा फेरि पूर्णबहादुरले नै चुनाव जिते ।
पछिल्ला चुनावमा प्रमुख दलहरू गठबन्धनमा समेत थिए । यसपटक दलहरू एक्ला एक्लै चुनावी मैदानमा छन् । पूर्णबहादुर खड्काको ठाउँमा कांग्रेसबाट पूर्णबहादुरकै भाइ विष्णुबहादुर मैदानमा छन् । यसकारण विष्णुबहादुरलाई आफूले जितेर दाजु पूर्णबहादुर विरासत जोगाउनु छ ।
अनुकूलता
विगतका धेरै चुनावमा पार्टीले नै चुनाव जितेको र दाजु नै उम्मेदवार भएकोले त्यसबेला पाएको साथको निरन्तरता पाउन सक्छन् । दाजुको चुनावी क्याम्पेनर भएर काम गरेकोले त्यसको अनुभव पनि छ । जिल्लामै व्यवसाय गरेर बस्दै आएकाले उनी परिचित अनुहार हुन् ।
प्रतिकूलता
दाजुले निरन्तर चुनाव जित्दै आएको र दाजुपछि भाइ उम्मेदवार भएको भनेर पारिवारिक विरासतको प्रश्न छ । यसमा उनले आफू जनप्रतिनिधिसका लागि योग्य रहेको प्रमाणित गर्नुपर्ने छ ।
व्यक्तिगत विवरण
नाम: विष्णुबहादुर खड्का
जन्म: २०२४ साल कातिक ६ गते सुर्खेत
स्थायी ठेगाना: वीरेन्द्रनगर–७, इत्राम्मा, सुर्खेत
शिक्षा: एसएलसी
२०८२ साल - पहिलो पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार
२०३६ : बहुदल या निर्दल भन्ने जनमत संग्रहमा बहुदलको पक्षमा सक्रिय ।
२०४६ : जनआन्दोलनमा अग्रभागमा रहेर सुर्खेतको नेतृत्व
२०५७ : काँग्रेसको १० औ महधिवेनमा साविकको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर–८ को वडा सभापतिमा निर्वाचित
२०७८ : १४ औ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा निर्वाचित
विष्णु बहादुर खड्का को उम्मेदवारि कस्तो लागयो ?


