Home Candidate आसिका तामाङ

सडकको बहसबाट संसद्‌ पुग्ने लक्ष्य

धादिङ - १ उम्मेदवार

आसिका तामाङ

राष्ट्रिय स्वतन्त्र पार्टी
महिला , ३७ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

भ्रष्टाचार निवारण, सरकारी सेवामा हुने ढिलासुस्ती र अनियमितताको अन्त्य, नयाँ पुस्ताको भावनालाई संसद्‍सम्म पुर्‍याउने अभियान लिएर उनी अहिले जनताको घरदैलोमा व्यस्त छिन् ।

०००

सामाजिक अभियन्ता आशिका तामाङ यतिबेला सडकको बहसबाट सदनको यात्राका लागि चुनावी मैदानमा होमिएकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ क्षेत्र नं. १ को उम्मेदवार बनेकी तामाङको जीवन र संघर्षका पाटाहरू निकै रोचक र उतार चढावले भरिएका छन् ।

आशिका तामाङको जन्म २०३७ सालमा धादिङको मलेखुमा भएको हो । ग्रामीण परिवेशमा हुर्किएकी उनले आम नेपालीले भोग्नुपरिरहेको आधारभूत समस्या र अभावलाई नजिकबाट नियालेकी छिन् ।

आशिकाको सार्वजनिक जीवन कलाकारिताबाट सुरु भएको हो । सन् २०१५ मा प्रदर्शनमा आएको नेपाली चलचित्र ‘सुश्री’ मा उनले अभिनेता आर्यन सिग्देलको जोडीका रूपमा मुख्य भूमिका निर्वाह गरेकी थिइन । उनी सो चलचित्रको निर्माता समेत थिइन् । यद्यपि, ग्ल्यामरको दुनियाँमा उनी धेरै समय रमाउन सकिनन् र विदेश पलायन भइन् ।

केही समय जर्मनी बसेर त्यहीँका नागरिक थोमससँग विवाह गरेकी तामाङको १  छोरा र १ छोरी छन् । नेपाल फर्किएपछि सामाजिक विसंगतीहरू विरुद्ध मोबाइल क्यामेरा लिएर सडकमा निस्किएपछि तामाङ चर्चित हुँदै गइन् । सुरुमा जनावर नकाट्न आग्रह गर्दा भाइरल भएकी उनलाई धेरैले ‘खसिनी दिदी’ भन्दै जिस्काए पनि उनले अभियान निरन्तर अघि बढाइन् ।

तामाङले ‘ग्रीन एन्ड क्लिन आशिका फाउन्डेसन’ स्थापना गरी सरसफाइ र सामाजिक न्यायको अभियान सुरु गरेपछि उनको चर्चा चुलिएको थियो । पानीको बोतल र खाद्यवस्तुमा हुने बढी मूल्य असुली विरुद्ध उनले गरेका अभियानहरू निकै चर्चित रहे । विमानस्थलको पार्किङ शुल्क, सार्वजनिक स्थलमा हुने फोहोर र अव्यवस्था विरुद्ध उनले निडर भएर आवाज उठाएकी थिइन् ।

उनको शैली र व्यवहारले उनलाई प्रहरी हिरासतमा समेत पुर्‍याएको थियो । गत वर्ष साँगाको झोलुङ्गे पुल तरेबापत २० रुपैयाँ लिने गरेको विरोध गर्दै आशिकाले नगरपालिकाको रसिद च्यातिदिएपछि सूर्यविनायक नगरपालिकाको उजुरीमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । पछि उनी धरौटीमा रिहा भएकी थिइन् ।

जेनजी आन्दोलनमा क्रममा घाइते भएकाहरूलाई अस्पताल पुगेर सहयोग गर्ने र उनीहरूको आवाजलाई बुलन्द पार्ने काममा उनी अग्रपंक्तिमा रहिन् । जसका कारण सामाजिक सञ्जालमा उनलाई धेरैले ’राष्ट्रिय दिदी’ को उपमा समेत दिएका थिए ।

सुरुमा स्वतन्त्र रूपमा काठमाडौँबाट चुनाव लड्ने तयारी गरेकी तामाङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ क्षेत्र नं १ मा टिकट दिएको छ । भ्रष्टाचार निवारण, सरकारी सेवामा हुने ढिलासुस्ती र अनियमितताको अन्त्य, राजनीति र प्रशासनिक निकायलाई जनताप्रति उत्तरदायी बनाउने, नयाँ पुस्ताको भावनालाई संसद्‍सम्म पुर्‍याउने अभियान लिएर उनी चुनावी घरदैलो गरिरहेकी छिन् ।

सामाजिक सञ्जालमा चर्चित आशिकाको प्रतिनिधिसभा सदस्यको उम्मेदवारीले कस्तो परिणाम ल्याउँछ, त्यो त मतदाताको हातमा छ । तर, एक निडर र जुझारु महिलाका रूपमा उनले नेपाली समाजमा आफ्नो बेग्लै पहिचान स्थापित गरिसकेकी छन् ।

२०७९ सालको निर्वाचनमा यो क्षेत्रमा रास्वपाबाट कमेडियन हिमेश पन्त उम्मेद्वार थिए । पन्तले १२ हजार २ सय ९४ मत ल्याएका थिए ।

अनुकूलता

  • सामाजिक अभियान र सक्रियता
  • नयाँ पुस्ता र जेनजी प्रतिनिधित्व
  • सञ्चार र सार्वजनिक छवि

प्रतिकूलता

  • प्रत्यक्ष निर्वाचन अनुभवको कमी
  • स्थापित दल र बलियो प्रतिद्वन्दीसँग प्रतिस्पर्धा
  • स्थानीय स्तरमा स्थायी सम्बन्धको अभाव
Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

आसिका तामाङ को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित