सुर्खेत-१ : पार्टीकै परीक्षामा जितबहादुर
२०२८ साल माघ २० गते सुर्खेतमा जन्मिएका जीतबहादुर राना २०४६ देखि राजनीतिमा छन् । सालमा एमालेको सदस्यता लिएर राजनीतिमा जोडिएका जितबहादुरले २०५३ सालदेखि २०५६ सालसम्म शिक्षण पनि गरे ।
२०५६ मा स्थायी शिक्षकको जागीर छोडेर राजनीतिमै केन्द्रीत भए । त्यसबेला देशमा तत्कालीन नेकपा माओवादीको सशस्त्र युद्ध चलिरहेको थियो । तत्कालीन माओवादीले उठाएका एजेण्डाहरूले उनलाई तानिरहेको थियो । २०५८ मा एमाले छोडेर माओवादीमा लागे र भूमिगत भए ।
२०५८ मै माओवादीको स्थानीय जनसरकार प्रमुख भए । सुर्खेत जिल्लाको पुर्वी कमाण्डको प्रमुख भएर काम गरे । पार्टीका इलाका सदस्य, सचिव हुँदै २०६८ सालमा पार्टीको कर्णाली जिल्लाकै अध्यक्ष भए । हाल नेपाली कम्युनिस्ट पार्टीको केन्दीय सदस्य छन् ।
अब संसदीय यात्रा तय गर्न खोज्दैछन् जीतबहादुर । पहिलो पटक सुर्खेत १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार भएका छन् । यसअघि २०७४ र २०७९ मा सुर्खेत १ मा प्रत्यक्षतर्फ उनको पार्टीका उम्मेदवार नै थिएनन् ।
२०७४ मा एमालेसँग गठबन्धन भयो र एमालेका उम्मेदवार ध्रुव शाहीलाई समर्थन गरे । यसपटक फेरि शाही उम्मेदवार छन् । २०७९ मा कांग्रेससँग गठबन्धन भयो र कांग्रेसका उम्मेदवार पूर्णबहादुर खड्कालाई समर्थन गरे । यसपटक पूर्णबहादुर खड्काकै भाई विष्णुबहादुर उम्मेदवार छन् ।
जीतबहादुरले विगतमा जसलाई भोट मागेका थिए तिनलाई छाडेर यसपटक आफूलाई भोट देऊ भन्दैछन् । उनले अनलाइनखबरसँग भने, ‘कांग्रेस र एमालेका उम्मेदवारलाई पालैपालो पछिल्ला दुई चुनावमा भोट मागेर हिँडियो । यो पटक आफैँ उम्मेदवार छु । जनताको परीक्षामा त म छँदैछु, पार्टी पनि परीक्षामा छ कि हामी यो क्षेत्रमा जित निकाल्न सक्छौं ।’
बहुदलयताका सात वटा चुनाव नियाल्दा यो क्षेत्रबाट पाँच पटक कांग्रेस र दुई पटक एमालेले चुनाव जितेको छ । जीतबहादुरले जितेको खण्डमा उनको पार्टीले जित निकालेको पहिलो चुनाव हुनेछ । कांग्रेसका पूर्णबहादुर खड्का २०४८ सालमै यो क्षेत्रबाट चुनाव जितेका नेता हुन् । २०५१ र २०५६ को संसदीय निर्वाचनमा पनि खड्का विजयी भएका थिए ।
२०६४ को संविधानसभा निर्वाचनमा २०६४ मा एमालेकी कमला शर्मा निर्वाचित भएकी थिइन् । त्यसपछिका २०७० को चुनावमा कांग्रेसका पूर्णबहादुरले नै चुनाव जिते । २०७४ मा जीतबहादुरको पार्टीको समेत समर्थनमा एमालेका ध्रुवशाहीले बाजी मारे । २०७९ मा जितबहादुरको पार्टीले कांग्रेसका पूर्णबहादुरलाई नै समर्थन गर्यो र चुनाव पनि जिते ।
यसपटक दलहरू एक्ला एक्लै चुनावी मैदानमा छन् । यसकारण पनि जीतबहादुरको जीत वा हार उनी संलग्न पार्टीको पनि परीक्षा हो । जीतबहादुरको सकारात्मक पक्ष भनेको उनी स्थानीय स्तरमा बौद्धिक नेताको रुपमा चिनिन्छन् । २०६४ सालदेखि २०६८ सालसम्म पार्टीको बुद्धिजिवी संगठनको जिल्ला अध्यक्ष भएका उनी पार्टीको बुद्धिजिवी संगठनको केन्द्रीय उपाध्यक्षसम्म भए । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका दल मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेपछि पुर्ववत जिम्मेवारी स्वतः खारेज भएको छ ।
२०६५ सालमा सुर्खेतकै भैरव मावी व्यवस्थापन समितिको अध्यक्ष भएर काम गरेको अनुभव उनीसँग छ । सुर्खेन नगर विकास समितिको अध्यक्ष भएर पनि काम गरे । २०६८ सालमा मध्यपश्चिामाञ्चल क्षेत्रीय अस्पताल विकास समितिको अध्यक्ष भएर तीन वर्ष काम गरे ।
त्रिभुवन विश्वविद्यालयबाट अन्तराष्ट्रिय सम्बन्धमा स्नातक गरेका जीतबहादुरले मध्यपश्चिम विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका छन् । जितबहादुरको मुख्य आय स्रोत भने खेती किसान नै हो । सुर्खेतमै उनको कृषि फाम पनि छ । पुर्खौली खेतीपातीलाई निरन्तरता दिइरहेका छन् ।
जीतबहादुर प्रतिनिधिसभा सदस्य नै किन हुन चाहन्छन् ? जवाफमा उनी नेपालमा अझै पनि विभेदको संस्कार कायमै रहेको, जति विकासमा मुलुकअगाडि बढ्नुपर्ने हो त्यति बढ्न नसकेको र जति विकास भएको छ त्यसमा समानता हुन नसकेको बताउँछन् । ‘सुर्खेत प्रदेशको राजधानी हो । अहिले पनि सुर्खेतको कतिपय ठाउँमा पुग्न अर्को जिल्ला भएर जानुपर्छ’ उनी भन्छन्, ‘मेरो नारा छ, ‘हाम्रो क्षेत्र हामी बनाउँछौं । हाम्रो देश हामी बनाऔंछौं ।’
विभेद्को अन्त्य गर्ने उनको ध्यय हो । ‘नेपालको विकासको जुन मोडेल छ त्यसमा ब्यापक सुधार आवश्यक छ’ उनी भन्छन्, ‘उद्यमशीलतामा ध्यान दिनुपर्छ । ९० प्रतिशत शिक्षा जागिर नपाउने खालको छ । किसानको पक्षमा कानुन छैन । खेतीपातीमा पुर्वाधारमा काम गर्नुछ । उत्पादनमै राज्यको नीति सहयोगी हुनुपर्ने छ । बजारको सुनिश्चितताका लागि ठोस नीति नै आवश्यक छ ।’
‘जसले जे गर्दा पनि हुने प्रवृति अन्त्य गर्ने र समग्रतामा आर्थिक विकासको मोडेल भूगोलअनुसार तय गर्ने’ उनको उदेश्य छ । यी सबै कार्यका लागि चुनाव जित्नुपर्ने छ । विगतको चुनावको तथ्यांकका दृष्टिमा उनी कमजोर छन् । यसलाई स्वीकार गर्दै उनी भन्छन्, ‘परम्परागत आखाँबाट हर्दा चुनौती देखिन्छ । तर, जनताले परिवर्तन चाहेका छन् । जनतामा आक्रोश छ । त्यो आक्रोशलाई एकत्रित गरेर उज्वल भविष्यको सपना देखाउन सक्छु ।’
सुर्खेत–१ मा ध्रुव र विष्णुबाहेक पनि जीतबहादुरका प्रतिस्पर्धी छन् । रास्वपाबाट टेकबहादुर सिंह र राप्रपाबाट रविकिरण हमाल उम्मेदवार छन् । एमालेका शाहीबाहेक अन्य सबै उम्मेदवार पहिलोपटक चुनाव लड्दैछन् ।
अनुकूलता
स्थानीय स्तरमा बौद्धिक नेताको रुपमा परिचित
जिल्लामै रहेर निरन्तर राजनीति गर्दै आएका ।
किसानको पक्षमा निरन्तर वकालत गर्दै आएका ।
प्रतिकूलता
पहिलो पटक चुनाव लड्दै
व्यक्तिगत विवरण
नामः जीतबहादुर राना
जन्मः २०२८ साल माघ २०, सुर्खेत
स्थायी ठेगानाः सुर्खेत
शिक्षाः स्नातकोत्तरसम्म अध्ययन
२०८२ साल – पहिलो पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार
२०६५ : भैरव मावी सुर्खेतको विद्यालय यवस्थापन समितिको अध्यक्ष
२०६८ : मध्यपश्चिामाञ्चल क्षेत्रीय अस्पताल विकास समितिको अध्यक्ष
२०४६ : एमालेमा आवद्ध भएर राजनीतिक जीवन सुरु
२०५८ : माओवादीमा प्रवेश गरेर भूमिगत
२०५८ : माओवादीको स्थानीय जनसरकार प्रमुख
२०५९ : माओवादीको सुर्खेत जिल्लाको पुर्वी कमाण्डको प्रमुख
२०६८ : पार्टीको कर्णाली जिल्ला, अध्यक्ष
हाल : नेपाली कम्युनिस्ट पार्टीको केन्दीय सदस्य
जीतबहादुर राना को उम्मेदवारि कस्तो लागयो ?


