Home Candidate इन्दिरा राना मगर

प्रत्यक्षमा पहिलो परीक्षा

झापा - २ उम्मेदवार

इन्दिरा राना मगर

राष्ट्रिय स्वतन्त्र पार्टी
महिला , ५५ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile Political Nature Election History Timeline

झापाको अर्जुनधारामा वि.सं. २०२७ मा स्व. प्रताप रानामगर र स्व. मनमाया रानामगरका कान्छी छोरीकी रुपमा जन्मिएकी उनी दोस्रोपटक संसद्को यात्रा गर्ने योजनामा लागेकी हुन् । उनको बाल्यकाल साधारण थियो।

अर्जुनधाराको महारानीगञ्ज प्राथमिक विद्यालयमा कक्षा ४ मा १२ वर्षको उमेरमा औपचारिक शिक्षा आरम्भ गरेकी थिइन् । समाजशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरेर उनले मानवीय सेवाको क्षेत्र रोजिन् । प्रसिद्ध साहित्यकार पारिजातसँगको भेटले उनको जीवन दिशा निर्धारण गरेको थियो ।

 घर छाडेर काठमाडौं पढ्न जाँदा पारिजातले नै संरक्षण दिइन् । पारिजातको मानवअधिकारवादी संस्थामा स्वयंसेवक बनेकी इन्दिराले कारागार भ्रमणका क्रममा कैदीबन्दीका सन्तानहरूको अलपत्र अवस्थाको प्रत्यक्ष चित्रण देखिन्।

यो दृश्यले उनलाई गहिरो प्रभाव पार्‍यो। त्यसैले उनले राजनीतिमा प्रवेश गर्नुअघि इन्दिरा राना गैरसरकारी संस्था 'बन्दी सहायता नेपाल' (पीए नेपाल) बनाइन् । र उक्त संस्थाको अध्यक्ष बनेर उनले जेल सजाय भोगिरहेका महिलाका कलिला सन्तानहरूलाई शिक्षा, अधिकार र सुरक्षित बाल्यकाल प्रदान गर्ने अभियान थालिन् । ३ दशकदेखि यो क्षेत्रमा सक्रिय उनले सयौं बालबालिकाको उद्धार गरेकी छिन् ।

२२ वर्षअघि दुई कोठा भाडामा लिएर काठमाडौंमा कैदीबन्दीका असहाय छोराछोरीलाई आफ्नै संरक्षणमा लालनपालन गर्न थालेकी थिइन् । झापा, पाल्पा, काठमाडौंलगायत स्थानमा बाल संरक्षणगृह सञ्चालन गरिन्। तिनलाई पढाउन दुई प्राथमिक विद्यालयसमेत चलाएकी थिइन् ।

२०७९ सालको प्रतिनिधिसभा राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फबाट सांसद बने लगत्तै इन्दिरा रानामगरलाई उपसभामुख बन्ने अवसर आयो । समाजसेवाका क्षेत्रमा काम गर्दै आएकी उनी यसपटक प्रत्यक्षतर्फ उम्मेदवार बनेर झापा क्षेत्र नं-२ मा चुनावी अभियान चलाइरहेकी छन् ।


कोभिड महामारीका बेला उनले आम्दानीको अभावमा भोका परेका सयौं मानिसहरूलाई खाना वितरण गरिन् ।

इन्दिराको प्रयासले अन्तर्राष्ट्रिय मान्यता पनि पायो । सन् २००५ मा 'अशोका फेलो' पुरस्कार प्राप्त गरिन्। सन् २००९ मा 'एसिया जनसेवा अवार्ड' र सन् २००१४ मा नोबेल विजेता मलाला युसुफजाई तथा अमेरिकी जोन उडसँगै 'वल्र्ड चिल्ड्रेन अनररी अवार्ड' पाइन् । सन् २०१७ मा बीबीसीले 'बीबीसी १०० विमिन' सूचीमा समेटेर विश्वका प्रेरणादायी महिलामध्ये एक बनायो ।

रास्वपाको गठन हुँदासम्म कुनै पार्टीमा नरहे पनि अध्यक्ष रवि लामिछानेको आग्रहमा राजनीतिमा लागेकी थिइन् । छोटो समयमै प्रतिनिधिसभाले उनलाई उपसभामुख पदमा निर्वाचित गर्‍यो ।

उनी उपसभामुख भएपछि चाहिँ केही विवादमा पनि परिन् । अमेरिका जानका लागि उनले केही युवाहरूलाई भिसाको समय मिलाइदिन भन्दै अनधिकृतमा अमेरिकी दूतावासमा चिठ्ठी लेखेकी थिइन् ।

उनले आफ्नो पदीय मर्यादाविपरीत कूटनीतिक नियोगमा पत्र पठाएको विषयप्रति सबैले आपत्ति जनाए । कतै यो अमेरिका लगेर युवाहरूलाई त्यहीँ राख्ने योजना अन्तर्गतको कर्म त थिएन भन्ने प्रश्न पनि उठ्यो । त्यही कारण प्रतिनिधिसभाको कार्यकालभर उनलाई पदीय आचरण अनुकूलको गतिविधि नगरेको भन्दै प्रस्ताव ल्याउनुपर्ने माग पनि चलिरह्यो । तर कुनै दलले त्यस्तो प्रस्ताव चाहिँ ल्याएनन् ।

उपसभामुख पद भए पनि उनी आफूलाई लागेको विषयमा छिटो प्रतिक्रिया दिन्छिन् । त्यसैले उनीमाथि पद अनूकूलको मर्यादा कायम गर्न नसक्ने व्यक्तिको रुपमा पनि कतिपयले टिप्पणी गर्छन् । जीवनका पचास बसन्त पार गरेकी इन्दिराको यात्रा संघर्षपूर्ण छ। उनको जीवनको दर्शन छ- सेवा नै धर्म हो ।

यसपटक झापा-२ उनको अघिल्लो प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेसँग नै चुनावी प्रतिस्पर्धा छ । अघिल्लो संसद्मा उनीहरुले मिलेर सभा चलाए ।

तर अहिले चुनावी प्रतिस्पर्धामा छन् । यो क्षेत्रमा नेकपाकी धर्मशीला चापागाईं पनि उम्मेदवार छन् । उनी यसअघि दुई पटक सांसद भइसकेकी व्यक्ति हुन् । गत चुनावमा स्वतन्त्र हैसियतमा निकै टक्टर दिएका भद्रप्रसाद नेपाल (स्वागत नेपाल) पनि अहिले राप्रपा प्रवेश गरेर उक्त दलबाट चुनावमा उठेका छन् ।

 

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • कैदीबन्दीका बालबालिकाको उद्धार र शिक्षामा समर्पित
  • अन्तर्राष्ट्रिय अवार्डहरू प्राप्त
  •  संसदको उपसभामुखको हैसियतमा काम गरेको राजनीतिक अनुभव

प्रतिकूलता

  • बलिया प्रतिस्पर्धी
  • अमेरिका भिसा सम्बन्धी चिठ्ठी लेख्दा पदको मर्यादा उल्लङ्घन गरेको आरोप
  • छिटो प्रतिक्रिया दिने स्वभावले कतिपयले आलोचित
शिक्षा
प्रविणता प्रमाणपत्र तह
संसदीय अनुभव
प्रतिनिधिसभाको उपसभामुख, समानुपातिक सांसद २०७९
२०७९ को मतान्तर
हालको दल
राष्ट्रिय स्वतन्त्र पार्टी
सरकारको अनुभव

राजनीतिक स्वभाव र शैली

सेवाभाव र सरलता

३ दशक लामो समाजसेवा (कैदीबन्दीका छोराछोरीको संरक्षण) को पृष्ठभूमिले उनलाई 'ग्रास रुट' का समस्या बुझ्ने र सरल नेताको रूपमा चिनाउँछ। उनको मूल मन्त्र नै सेवा नै धर्म हो भन्ने रहेको छ।

राजनीतिको नयाँ खेलाडी

परम्परागत राजनीतिको दाउपेच नजान्ने र मनमा लागेको कुरा सिधै बोल्ने स्वभाव। यही स्वभावका कारण उपसभामुख हुँदा कूटनीतिक मर्यादा (अमेरिकी दूतावासलाई पत्र लेखेको प्रकरण) मा चुक्दा विवादमा परिन् ।

भावुक र प्रतिक्रियात्मक

छिटो भावुक हुने र तत्काल प्रतिक्रिया दिने स्वभाव। यसले कहिलेकाहीँ पदीय मर्यादामा प्रश्न उब्जाएको छ भने कहिलेकाहीँ जनतासँग सिधा कनेक्ट पनि गराएको छ।

अन्तर्राष्ट्रिय पहिचान

राजनीतिमा भन्दा समाजसेवामा उनको अन्तर्राष्ट्रिय छवि (बीबीसी १०० विमन, अशोका फेलो) बलियो छ, जसलाई उनले आफ्नो 'सफ्ट पावर' को रूपमा प्रयोग गर्छिन्।

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
२०७९ साल समानुपातिक

राजनीतिक टाइमलाइन

२०४७ साल

समाजसेवाको सुरुवात

प्रसिद्ध साहित्यकार पारिजात को संगतमा मानवअधिकारवादी संस्थामा स्वयंसेवक। कारागार भ्रमणका क्रममा कैदीका बालबालिकाको विजोग देखेपछि जीवनको मोड परिवर्तन।

२०५७ साल

पीए नेपाल स्थापना

बन्दी सहायता नेपाल (पीए नेपाल) स्थापना गरी कैदीबन्दीका छोराछोरीको लालनपालन र शिक्षाको जिम्मा लिने कामको औपचारिक थालनी।

२०६२ साल

अशोका फेलो

सामाजिक उद्यमशीलता र बाल अधिकारमा गरेको योगदानका लागि प्रतिष्ठित अन्तर्राष्ट्रिय अशोका फेलो सम्मान।

२०६९ साल

वर्ल्ड चिल्ड्रेन अनररी अवार्ड

नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईसँगै वर्ल्ड चिल्ड्रेन अनररी अवार्डद्वारा सम्मानित।

२०७२ साल

बीबीसी १०० विमिन

बीबीसीको विश्वका १०० प्रभावशाली र प्रेरणादायी महिलाहरूको सूचीमा समावेश।

२०७९ असार

राजनीतिमा प्रवेश

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गठन लगत्तै पार्टी प्रवेश। समाजसेवा छोडेर राजनीतिमा होमिएको घोषणा।

२०७९ मंसिर

सांसद निर्वाचित

रास्वपाको तर्फबाट आदिवासी जनजाति क्लस्टरबाट समानुपातिक सांसद निर्वाचित।

२०७९ माघ ७

उपसभामुख निर्वाचित

प्रतिनिधिसभाको उपसभामुख पदमा सत्ता गठबन्धनको समर्थनमा निर्वाचित (नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवलाई हराउँदै)।

२०८० (विवाद)

भिसा प्रकरण

अमेरिकी दूतावासलाई अनधिकृत रूपमा अन्तर्वार्ताको मिति मिलाइदिन पत्र लेखेको विषय सार्वजनिक। पदीय आचरणमा प्रश्न उठ्यो, तर महाभियोग वा कारबाही भएन।

२०८२ साल

प्रत्यक्ष उम्मेदवार

पहिलो पटक प्रत्यक्ष निर्वाचन लड्दै। झापा–२ मा एमालेका हेभीवेट (सभामुख देवराज घिमिरे) विरुद्ध उम्मेदवारी।

इन्दिरा राना मगर को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित