Home Candidate जनार्दन शर्मा

प्रतिकूल अंकगणितबीच पाँचौं जितको खोजीमा जनार्दन

रूकुम पश्चिम - १ उम्मेदवार

जनार्दन शर्मा

प्रगतिशील लोकतान्त्रिक पार्टी
पुरुष , ६२ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile Political Nature Election History Timeline

२०१९ वैशाखमा रुकुमको सेरीगाउँमा जन्मिएका जनार्दन शर्मा राजनीतिमा पूर्णकालीन हुनुअघि सरकारी जेटीए थिए । २०५२ सालमा नेकपा (माओवादी)ले सत्ताविरुद्ध सशस्त्र संघर्ष थालेपछि उनी पनि त्यसमा सामेल भए, जहाँ उनलाई ‘प्रभाकर’ नामले बढी चिनियो ।

शर्मा २०५२ पछि १० वर्ष माओवादीको डेपुटी कमाण्डर भएर लडे, पार्टी शान्ति प्रक्रियामा आएपछि ऊर्जामन्त्री बनेका उनले १८ घण्टे लोडसेडिङ अन्त्य गर्न महत्वपूर्ण भूमिका खेले । उनले अर्थमन्त्री र गृहमन्त्रीको जिम्मेवारी पनि पाए । अर्थमन्त्री हुँदा भने गभर्नर हटाउनेदेखि बजेट निर्माणको क्रममा बाहिरियालाई बोलाएर करका दर र बजेटका केही बुँदा हेरफेर गरेको आरोप लाग्यो । प्रतिपक्षी दलले संसदीय छानबिन समितिको माग गर्दै राजीनामा मागेपछि उनले बाटो फुकाइदिए । संसदीय छानबिनमा अनधिकृत व्यक्ति संलग्न भएको कुनै प्रमाण फेला नपारेपछि उनी पुन: अर्थ मन्त्रालय फर्किए ।

२०७९ सालको चुनावमा नेपाली कांग्रेस र तत्कालीन एकीकृत समाजवादी समेतको सहयोगमा उनले माओवादी केन्द्रबाट संसदीय निर्वाचनमा ह्याट्रिक गरेका थिए । उनले ३९ हजार ५४९ मत ल्याउँदा निकटतम् प्रतिस्पर्धी एमालेका नन्दराम देवकोटा १२ हजार ९६१ मतमा खुम्चिएका थिए ।

जेनजी आन्दोलनपछि फेरिएको परिस्थितिमा आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य तर्फको प्रत्यक्ष निर्वाचनमा पनि उनी उम्मेदवार छन् । तर, दल बदलिएको छ ।

माओवादी केन्द्रमा नेतृत्व परिवर्तनको बहस चलाइरहेका शर्मा जेनजी आन्दोलनपछि माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका १२ दलबीच भएको एकता प्रक्रियामा सहभागी भएनन् । बरु, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) नामको अर्को दल गठनमा सक्रिय भए । उनी सो दलको शीर्ष तहमा भने छैनन । उम्मेदवार भने त्यही दलबाट भएका हुन् ।

माओवादीको केन्द्रीय आधार इलाका मानिने रुकुमपश्चिम जनार्दनले चुनाव लड्दै आएको निर्वाचन क्षेत्र हो । तर, यसपटक उनलाई सहज भने छैन । २०७४ मा उनी नेकपा एमालेसँग तालमेलमा वाम गठबन्धनका उम्मेदवार थिए । त्यसैले सहज जित भयो । २०७९ मा माओवादी, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादीलगायत पाँच दलीय गठबन्धनका उनी साझा उम्मेदवार थिए । यसबेला पनि उनले सहजै जित निकाले ।

नयाँ पार्टी र कमजोर संगठन त छँदैछ, हिजो चुनाव जिताउन मरिमेटेर लाग्नेहरू अहिले शर्माका प्रतिस्पर्धी बनेका छन् ।

यही परिस्थिति बुझेर उनले आफ्नो निर्वाचन क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीमार्फत् एमालेसँग तालमेलको सम्झौता गरेका छन् । तर, यो सम्झौतामा एमालेको स्थानीय कमिटीले असन्तुष्टि मात्र जनाएको छैन, अस्वीकार पनि गरेको छ ।

यो क्षेत्रमा तत्कालीन माओवादी, एकीकृत समाजवादीलगायतका दल मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले गोपाल शर्मालाई उम्मेदवार बनाएको छ । गोपाल जनार्दनकै पारिवारिक निकटता भएको व्यक्ति हुन् ।

२०६४ को संविधानसभा निर्वाचनमा रुकुमको क्षेत्र नं. २ बाट जितेपछि शर्मा पहिलोपटक मन्त्री बनेका थिए ।

राजनीतिक पृष्ठभूमि

पञ्चायतविरोधी जनआन्दोलन उत्कर्षमा पुगेका बेला २४ चैत २०४६ मा केही युवक दरबारमार्गमा रहेको राजा महेन्द्रको सालिकमाथि चढे । तीमध्ये एक थिए– जनार्दन शर्मा । त्यसबेला प्रहरीको गोलीबाट जोगिनेमध्ये पनि उनी परे ।

त्यस घटनापछि रुकुम फर्केका उनले जेटीएको जागिर सुरु गरेका थिए । तर, पहिल्यैबाट कम्युनिस्ट राजनीतिमा तानिएका उनी २०५२ मा माओवादीको सशस्त्र संघर्षमा लागेर भूमिगत भए । त्यसक्रममा उनले धेरै वटा साना–ठूला युद्धको नेतृत्व गरे । केहीमा सफल र केहीमा असफल भए ।

माओवादीको गण्डक क्षेत्रको सैन्य नेतृत्व गरेका शर्मा पार्टीको सेती–महाकाली इञ्चार्जको जिम्मेवारीमा पनि रहे । उनले ‘सैन्य दर्शन’ नामक पुस्तक समेत लेखेका छन् ।

उनका पिता स्कन्द शर्मा रुकुममा कम्युनिस्ट फैलाउने नेतामध्ये एक थिए । स्कन्द शर्माका ६ सन्तानमध्ये सबै माओवादीको युद्धमा सामेल भए । तीमध्येका जेठा जनार्दन शर्माले सहज, नरमसँगै खरो नेताको परिचय बनाएका छन् ।

उनले गृहजिल्लामा गरेका काममध्ये ‘उज्यालो रुकुम’ अभियान उल्लेख्य छ । यो अभियान अन्तर्गत सौर्य ऊर्जा र साना जलविद्युत् आयोजनामार्फत घर–घरमा बिजुली पुगेको छ ।

अनुकूलता :

रुकुम उनको गृहजिल्ला मात्र होइन, सशस्त्र संघर्षको केन्द्रीय आधार इलाका हो, जुन संघर्षमा प्रभाकरको उल्लेख्य भूमिका रह्यो । राजनीतिमा पारिवारिक योगदान, विभिन्न समयमा मन्त्री हुँदा गरेका विकास निर्माणका काम, उज्यालो रुकुम अभियानले जनार्दनलाई बलियो उम्मेदवार बनाएको छ ।

प्रतिकूलता :

निर्वाचनको मुखैमा पार्टी परित्याग गर्दा लामो समय आफूनिकट रहेर काम गरेकाहरू नै पनि असन्तुष्ट छन् ।

Expand Reading..
शिक्षा
स्नातक
संसदीय अनुभव
२०६४ देखि २०७९ सम्म ४ चुनावमा लगातार विजयी ।
२०७९ को मतान्तर
३९५४९
हालको दल
प्रगतिशील लोकतान्त्रिक पार्टी
सरकारको अनुभव
शान्ति मन्त्री (२०६५), ऊर्जा मन्त्री (२०७३ - लोडसेडिङ अन्त्य), गृहमन्त्री (२०७४), अर्थमन्त्री (२०७८)।

राजनीतिक स्वभाव र शैली

निर्णायक र आँटिलो

उनी जोखिम लिन नडराउने नेता मानिन्छन्। १८ घण्टे लोडसेडिङ अन्त्य गर्न कुलमान घिसिङलाई प्राधिकरणमा ल्याएर राजनीतिक संरक्षण दिनु होस् वा माओवादी जनयुद्धमा डेपुटी कमान्डरको भूमिका, उनी सधैं फ्रन्टलाइनमा रहेर नेतृत्व गर्न रुचाउँछन् ।

गतिशील

संगठन परिचालनमा उनको विशेष दख्खल छ। युद्धकालमा सैन्य कमान्डरको भूमिका होस् वा शान्ति प्रक्रियापछि मन्त्रालय सम्हाल्दा, उनी नतिजा निकाल्ने गरी काम गर्न खोज्छन् ।

विवादास्पद तर प्रभावशाली

अर्थमन्त्री हुँदा करका दर हेरफेरको आरोप र सीसीटीभी काण्डजस्ता विवादमा परे पनि उनी आफ्नो अडान र प्रभाव कायम राख्न सफल भए । पछि उनीमाथिको आरोप प्रमाणित हुन सकेन ।

विकासप्रेमी छवि (रुकुम मोडेल)

उज्यालो रुकुम अभियान मार्फत जनस्तरमा बिजुली पुर्याएको जस उनलाई जान्छ। रुकुममा उनको व्यक्तिगत जनाधार बलियो हुनुमा विकास निर्माणमा उनको प्रत्यक्ष संलग्नता मुख्य कारण हो।

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
२०६४ साल रुकुम-२ प्रेमप्रकाश ओली ९२५० ३०२७० २१०२० विजयी
२०७० रुकुम-२ गोपालजी जंग शाह १२५०२ ३०२७० १७७६८ विजयी
२०७४ साल रुकुम पश्चिम गोपालजी जंग शाह १५६०३ ३४४०२ १८७९९ विजयी
२०७९ साल रुकुम पश्चिम नन्दराजम देवकोटा १२९६१ ३९५४९ २६५८८ विजयी

राजनीतिक टाइमलाइन

२०३४ साल

राजनीतिमा प्रवेश

शर्माले २०३४ सालबाट राजनीतिक गतिविधि सुरु गरेका थिए ।

२०४६ साल

पञ्चायतविरोधी आन्दोलनमा सक्रिय

पञ्चायतविरोधी आन्दोलनमा सक्रिय (दरबारमार्गको सालिक काण्डमा गोलीबाट जोगिएका)।

२०५२ साल

भूमिगत जीवन सुरु

जनयुद्ध सुरु भएपछि भूमिगत। जनमुक्ति सेनाको डेपुटी कमान्डर सम्मको जिम्मेवारी। गण्डक र सेती-महाकाली इञ्चार्ज।

२०६५ साल

राजनकीय भूमिका

२०६५: शान्ति तथा पुनर्निर्माण मन्त्री। २०७३: ऊर्जा मन्त्री (लोडसेडिङ अन्त्यको जस)। २०७४: गृहमन्त्री। २०७८: अर्थमन्त्री (विवादास्पद बहिर्गमन र पुनरागमन)।

२०८२ साल

नयाँ राजनीतिक यात्रा

माओवादी केन्द्र परित्याग गरी प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार।

जनार्दन शर्मा को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित