दोस्रो पटक जित निकाल्ने दाउ
शिशिर खनाल २०७९ को निर्वाचनमा काठमाडौं–६ बाटै निर्वाचित भएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका सचिवालय सदस्य खनाललाई पुनः यही क्षेत्रबाट उम्मेदवार बनाएको छ ।
४७ वर्षीय खनालको स्थायी ठेगाना काठमाडौं, टोखा हो । उनी राजनीतिमा आउनुअघि सामाजिक सेवा, शिक्षा र नीति निर्माणका क्षेत्रमा काम गरेका थिए । सन् २००५ देखि २०१२ सम्म श्रीलंका, नेपाल र अमेरिकामा सञ्चालन भएको सर्वोदय श्रमदान अभियान मार्फत सामुदायिक विकास र स्वयंसेवी अभियानमा काम गरे ।
सन् २०१२ देखि २०१९ सम्म टिच फर नेपाल कार्यक्रममा आबद्ध भएर सामुदायिक शिक्षामा योगदान दिए । नीतिगत अभ्यासमा खनालले २०२३ देखि २०२५ सम्म दाङको तुलसीपुर उपमहानगरपालिकामा सञ्चालन गरिएको नीतिशाला कार्यक्रमसँग जोडिएर काम गरेका थिए ।
अमेरिकाको युनिभर्सिटी अफ विसकन्सिन म्याडिसनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर र वज्रपोर्ट विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्रमा स्नातक गरेका छन् ।
खनाल पुष्पकमल दाहाल नेतृत्वको सरकारमा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रीको जिम्मेवारीमा रहेर काम गरे ।
२०७९ को निर्वाचनमा खनालले १४ हजार २२१ मत प्राप्त गर्दै विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सर्वेन्द्र खनाल थिए । उनले ८ हजार ९१७ मत प्राप्त गरेका थिए । यसपटक एमालेले अमनकुमार मास्केलाई मैदानमा उतारेको छ । यो क्षेत्रमा कांग्रेसले कृष्ण बानियाँलाई उम्मेदवार बनाएको छ ।
प्रत्यक्षमा खनाल निर्वाचित भएको यो क्षेत्र अघिल्लो निर्वाचनको समानुपातिक मतको हिसाबले पनि रास्वपा ठूलो दल हो । उसले ११ हजार ९९६ मत पाउँदा एमालेले ८ हजार १९ र कांग्रेसले ७ हजार ५७७ मत ल्याएको थियो ।
प्रस्तुतीः दिनेश गौतम
शिशिर खनाल को उम्मेदवारि कस्तो लागयो ?



