Home Candidate जगदीश खरेल

प्रश्न सोध्ने 'हटसिट' छोडेर जवाफ दिने राजनीतिक मैदानमा

ललितपुर - २ उम्मेदवार

जगदीश खरेल

राष्ट्रिय स्वतन्त्र पार्टी
पुरुष , ४३ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

चार महिनाको कार्यकालले राज्य सञ्चालन, प्रशासनिक संयन्त्र र नीतिनिर्माणको जटिल संरचना भित्रबाट बुझ्ने अवसर दिएको उनी बताउँछन् ।

‍०००

दोलखाको कालिञ्चोक गाउँपालिका–सुनखानी भदौरेमा २०३९ साल साउन २२ गते जन्मिएका जगदीश खरेल नेपाली सञ्चार क्षेत्रको भरोसायोग्य, अध्ययनशील र प्रश्नमुखी अनुहार हुन्। सानो गाउँको सामान्य परिवेशबाट राष्ट्रिय सञ्चारमाध्यम हुँदै नीतिनिर्माण तहसम्म पुगेको उनको यात्रा निरन्तरता, संघर्ष र जिम्मेवारबोधले भरिएको छ ।

बाल्यकालदेखि नै स्पष्ट बोली, आत्मविश्वास र प्रभावशाली प्रस्तुतिका कारण उनी विद्यालय तहमा नै वक्तृत्व र व्यक्तित्व विकासमा अब्बल मानिन्थे। कालिनाग माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि काठमाडौं आएका खरेलले आरआर क्याम्पसबाट पत्रकारितामा आईएदेखि एमएसम्म अध्ययन पूरा गरे। औपचारिक अध्ययनमै सीमित नरही हाल उनी अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि अध्ययनरत छन्।

२५ वर्षको सञ्चार यात्रा : मैदानदेखि माइकसम्म

२०५६ सालमा केएटिएच एफएम र इमेज च्यानल टेलिभिजनबाट सुरु भएको खरेलको पत्रकारिता यात्रा २५ वर्षभन्दा लामो छ। २०५९ असार २९ गतेदेखि निरन्तर एउटै संस्थामा आबद्ध रहे ।

रेडियो कार्यक्रम सञ्चालकदेखि फिल्ड रिपोर्टर, कार्यक्रम निर्माता हुँदै समाचार प्रमुखसम्मको जिम्मेवारी सम्हालेका खरेल विशेषगरी ‘ती दिन’ र ‘हट सिट’ कार्यक्रममार्फत जनचासोका मुद्दा उठाउने पत्रकारका रूपमा चिनिए । घटनास्थलमै पुगेर गर्ने रिपोर्टिङ, नागरिकका सवाललाई सिधै सत्तासम्म पुर्‍याउने प्रश्न र दबाबपूर्ण प्रस्तुतिले उनलाई अलग पहिचान दिलायो।

उनको पत्रकारिता स्टुडियोभित्र सीमित रहेन—गाउँ, सडक, बस्ती र संकटका ठाउँसम्म पुग्यो। यही अनुभवले खरेललाई समाजका कुरा बुझ्ने सञ्चारकर्मी बनायो। सांसद र जनप्रतिनिधिलाई संसद्‍मा प्रश्न उठाउने शैली, प्रस्तुतीकरण कला र मिडियासँग संवाद गर्ने विषयमा उनले तालिमसमेत दिँदै आएका छन्।

सरकारी अनुभव

लामो पत्रकारिता अनुभवपछि खरेलले करिब चार महिना सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारी सम्हाले। जेन–जी आन्दोलनपछिको सरकारमा उनको भूमिका केवल पदमा सीमित थिएन, त्यो पुस्तागत आकांक्षाको प्रतिनिधित्व थियो ।

छोटो अवधिमा उनले डिजिटल अभिव्यक्ति, सूचना पहुँच र नागरिकको बोल्ने अधिकारलाई केन्द्रमा राख्दै राज्य र जनताको दूरी घटाउने प्रयास गरे । पत्रकार सुरेश रजकलाई सहिद घोषणा, पत्रकारिता क्षेत्रसँग सम्बन्धित नीतिगत पहल र फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको वातावरण निर्माणमा उनले राजनीतिक समन्वयको भूमिका पनि खेले ।

चार महिनाको कार्यकालले राज्य सञ्चालन, प्रशासनिक संयन्त्र र नीतिनिर्माणको जटिल संरचना भित्रबाट बुझ्ने अवसर दिएको उनी बताउँछन् ।

सामाजिक सरोकार र सार्वजनिक व्यक्तित्व

जगदीश खरेल पत्रकार मात्र होइनन्, सामाजिक सरोकारसँग गहिरो रूपमा जोडिएका व्यक्ति हुन्। सामाजिक सचेतना, सरसफाइ, विपद् व्यवस्थापनजस्ता विषयमा सञ्चारमार्फत निरन्तर काम गर्दै आएका छन्।

निर्णयअघि गहिरो अध्ययन गर्ने बानी, अनुशासन, पेशागत निष्ठा, सन्तुलित अभिव्यक्ति र संवादमार्फत समाधान खोज्ने स्वभाव खरेलका परिचायक गुण हुन्।

हिजोसम्म माइकबाट नागरिकका प्रश्न उठाएका खरेल अब ती प्रश्न संसदको मञ्चमा उठाउने तयारीसहित राजनीतिमा प्रवेश गरेका छन् । दोलखामा जन्मिए पनि विगत २५ वर्षदेखि ललितपुर क्षेत्र नम्बर–२ मा बसोबास गर्दै आएका उनी यही क्षेत्रको सामाजिक बनोट, नेवारी सभ्यता र स्थानीय मुद्दासँग नजिक छन्।

यसै अनुभव र समझदारीका साथ उनी अहिले ललितपुर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन्।

अनुकूलता

  • सार्वजनिक विश्वसनीयता र प्रश्नमुखी पहिचान
  • नीति,शासन र राज्य संयन्त्रको अनुभव
  • ललितपुर–२ सँगको सम्बन्ध र शहरी मतदातासँगको मेल

प्रतिकूलता

  • प्रत्यक्ष निर्वाचनको अनुभवको अभाव
  • रास्वपाको संगठनात्मक सीमितता
  • विगतमा अन्य दलहरूको पकड चिर्ने चुनौती
Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

जगदीश खरेल को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित