Home Candidate फरमुल्लाह मन्सुर

अल्पसंख्यकका आवाज, पार्टी रुपान्तरणका अगुवा

बारा - ३ उम्मेदवार

फरमुल्लाह मन्सुर

नेपाली कांग्रेस
पुरुष , ७१ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

राजनीति र जीवनयापन सँगसँगै अघि बढाएका मन्सुर पञ्चायतकालमा दुई वर्ष भारत प्रवास बस्न बाध्य भए भने नेपाल फर्किएपछि पटक–पटक पक्राउसमेत परे ।

०००

२० मंसिर २०११ मा बारा जिल्लाको कलैयामा जन्मिएका फरमुल्लाह मन्सुर नेपाली कांग्रेसको राजनीतिमा लामो समयदेखि परिचित र प्रभावशाली नाम हो ।

औपचारिक शैक्षिक योग्यता एसएलसीसम्म सीमित भए पनि उनको राजनीतिक यात्रा अध्ययनभन्दा बढी संघर्ष, संगठन र मैदानको अनुभवले बनेको देखिन्छ ।

बारा र मधेशको राजनीतिमा जरा गाडेका मन्सुर कांग्रेस भित्र अल्पसंख्यक मुस्लिम समुदायको प्रतिनिधित्व गर्ने अग्रणी नेतामध्ये एक मानिन्छन् ।

उनको राजनीतिक जीवन २०२८ सालमा भारतको पटना पुगेर नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाबाट पार्टी सदस्यता लिएपछि औपचारिक रूपमा सुरु भयो ।

त्यसपछि २०३४ सालमा बारा जिल्ला कांग्रेसको उपसचिव र २०३६ सालमा सचिवको जिम्मेवारी पाउँदै उनले संगठन निर्माणमा सक्रिय भूमिका खेले । संगठन विस्तारकै क्रममा जीविकोपार्जनका लागि उनले कलैया बजारमा जुत्ता पसल र अखबार पसल सञ्चालन गरे ।

राजनीति र जीवनयापन सँगसँगै अघि बढाएका मन्सुर पञ्चायतकालमा दुई वर्ष भारत प्रवास बस्न बाध्य भए भने नेपाल फर्किएपछि पटक–पटक पक्राउसमेत परे ।

बहुदलीय व्यवस्था पुनर्स्थापनापछि मन्सुर २०४८ देखि २०५७ सालसम्म बारा जिल्ला कांग्रेस सभापति रहे । २०५६ सालमा उनी नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए, जससँगै उनको राष्ट्रिय राजनीतिमा औपचारिक प्रवेश भयो ।

त्यसयता उनी निरन्तर पार्टीको केन्द्रीय राजनीतिमा सक्रिय रहँदै आएका छन् । उनी दोस्रो संविधानसभाका सदस्यसमेत बने र संविधान निर्माण प्रक्रियामा सहभागी हुँदै अल्पसंख्यक मुस्लिम समुदायको आवाज संसद्‌मा उठाए ।

२०७४ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि मन्सुर श्रम तथा रोजगार मन्त्री नियुक्त भए । मन्त्रीका रूपमा उनले श्रमिक र वैदेशिक रोजगारीसँग जोडिएका विषयमा काम गरे । तर उनको राजनीतिक यात्रामा विवाद पनि सँगसँगै रह्यो ।

२०७३ सालमा संसद् बैठकमै संविधान संशोधन नभए देश टुक्रिन सक्ने अभिव्यक्तिका कारण उनी चर्को आलोचनामा परे । पाकिस्तानबाट बंगलादेश अलग भए जस्तै नेपालबाट मधेश अलग हुन सक्ने भनाइले उनलाई विवादको केन्द्रमा ल्यायो ।

पार्टी भित्र पनि मन्सुर सधैं एकनासको धारमा रहेनन् । कहिले कोइराला समूहका विश्वासपात्र त कहिले देउवा समूह निकट मानिएका उनी दोस्रो विशेष महाधिवेशनमा गगन थापा र विश्वप्रकाश शर्माको समूहमा खुलेर लागे । यसअघि १४औँ महाधिवेशनबाट मुस्लिमतर्फ सहमहामन्त्री निर्वाचित भएका उनी दोस्रो विशेष महाधिवेशनबाट पनि सहमहामन्त्री चयन भए ।

मन्सुरले गगन थापालाई पार्टी सभापति तथा प्रधानमन्त्री उम्मेदवारका रूपमा अघि सार्ने प्रस्ताव राख्दै पार्टी भित्र नेतृत्व परिवर्तन, विधानको पालना र नयाँ रणनीतिक दिशाको आवश्यकताबारे निरन्तर आवाज उठाउँदै आएका छन् ।

विवाद, कारबाही र आलोचनाबीच पनि कांग्रेस भित्र समावेशी प्रतिनिधित्व र परिवर्तनको पक्षमा उभिने नेताका रूपमा उनको उपस्थिति अझै अर्थपूर्ण मानिन्छ ।

अनुकूलता

  • पञ्चायतकालदेखि बहुदलीय व्यवस्था, संविधानसभा र संघीय संसद्‌सम्मको लामो राजनीतिक अनुभव
  • अल्पसंख्यक मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै राष्ट्रिय राजनीतिमा निरन्तर आवाज उठाएको विशेष राजनीतिक शक्ति
  • पार्टी भित्र नेतृत्व परिवर्तन, समावेशिता र नयाँ राजनीतिक दिशाको पक्षमा स्पष्ट धारणा

प्रतिकूलता

  • विवादास्पद अभिव्यक्तिको प्रभाव
  • पार्टी भित्र पटक–पटक समूह परिवर्तन गरेको असर
Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

फरमुल्लाह मन्सुर को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित