विगतको बोनस मतबिनै अन्तिम परीक्षामा ओली
विगतको ‘बोनस’ भोट गुमाएको अवस्थामा बालेन्द्रको ‘क्रेज’ लाई रोक्नु नै ओलीको मुख्य चुनौती हुनेछ।
०००
३१ असार २०७१ मा पार्टीको नेतृत्वमा उदाएदेखि राष्ट्रिय राजनीतिको केन्द्रमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा–५ बाट छैटौं पटक (२०४८, २०५१, २०५६, २०७०, २०७४, २०७९ पछि) जनअनुमोदन खोज्दैछन्। नाकाबन्दीको डटेर सामना, चुच्चे नक्सा प्रकाशन र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नाराका कारण विकासप्रेमी र राष्ट्रवादी नेताको छवि बनाएका ओली यसपटक आफ्नो राजनीतिक जीवनकै सबैभन्दा कठिन र पेचिलो प्रतिस्पर्धामा छन्।
चुनावी गणितमा ओली
झापा–५ ओलीको ‘लालकिल्ला’ मानिन्छ। तर, अघिल्ला दुई जितमा उनलाई बलियो गठबन्धनको साथ थियो। २०७४ को निर्वाचनमा वाम गठबन्धनको बलमा कांग्रेसका खगेन्द्र अधिकारीलाई २८ हजार ८४२ मतान्तरले पराजित गरेका ओलीले २०७९ मा राप्रपाको समर्थनमा २८ हजार ५७६ मतान्तरले उनै अधिकारीलाई हराए ।
यसपटकको चुनाव ओलीका लागि फलामको चिउरा साबित हुन सक्छ। जेनजी आन्दोलनपछि तथ्याङ्क र माहोलले केही यस्तै देखाउँछ ।
काठमाडौँ महानगरको मेयर भएर ‘क्रेज’ बनाएका बालेन्द्र शाह यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को घण्टी चुनाव चिन्ह लिएर ओलीलाई टक्कर दिन झापा–५ मै उत्रिएका छन्।
कांग्रेसले यसपटक ओलीका पुराना प्रतिस्पर्धी खगेन्द्र अधिकारीको सट्टा महिला उम्मेदवार मन्धरा चिमरियालाई मैदानमा उतारेको छ। २०७९ मा ओलीलाई सघाएको राप्रपाले यसपटक लक्ष्मी प्रसाद संग्रौलालाई उम्मेदवार बनाएको छ। राप्रपाको भोट यसपटक ओलीलाई जाने छैन।
अनुकूलता
झापा–५ मा ओलीले भित्र्याएको अर्बौंको बजेट, सडक सञ्जाल र पूर्वाधार विकास नै उनको सबैभन्दा बलियो पक्ष हो। स्थानीय मतदातामाझ ‘झापाको विकास भनेकै केपी ओली’ भन्ने भाष्य स्थापित छ। उनी एमालेको ‘कोर भोट’ का साथै विकासप्रेमी तटस्थ मतका पनि हकदार हुन्।
एमालेको ग्रासरुट संगठन झापामा अन्य दलभन्दा सुदृढ छ। विपक्षीको मत बालेन्द्र र कांग्रेसबीच बाँडिदा एमालेको ‘ब्लक भोट’ ले ओलीलाई जितको नजिक पुर्याउन सक्छ।
रास्वपाका बालेन्द्र शाह र कांग्रेसकी मन्धरा चिमरिया दुवैले ‘परिवर्तन’ र ‘एन्टि-इन्कम्बेन्सी’ को मत माग्नेछन्। सत्ता विरोधी मत यी दुई उम्मेदवार र राप्रपाबीच बाँडिँदा त्यसको प्रत्यक्ष लाभ ओलीलाई पुग्न सक्छ।
प्रतिकूलता
भर्खरै भएको जेनजी विद्रोह र ‘नयाँको लहर’ ओलीका लागि सबैभन्दा ठूलो चुनौती हो। नयाँ मतदाता र युवा पुस्तामा ओलीप्रति भन्दा बालेनप्रति आकर्षण देखिन्छ। बालेनले रास्वपाको संगठन र आफ्नो व्यक्तिगत क्रेज मिसाउँदा एमालेको परम्परागत मतमा ठूलो क्षति पुग्न सक्छ।
२०७४ सालमा माओवादीको करिब १०-१२ हजार मत ओलीलाई थियो। ०७९ सालमा राप्रपाको करिब १५-१८ हजार मत ओलीलाई थियो।
२०८२ मा नेकपाका रञ्जित तामाङ र राप्रपा लक्ष्मी प्रसाद संग्रौला दुवैका आफ्नै उम्मेदवार छन्। अर्थात्, विगतमा ओलीले पाएको करिब १५ देखि २० हजार ‘प्लस’ भोट यसपटक उनले गुमाउँदैछन्। यो मतलाई ‘कभर’ गर्न उनले निकै संघर्ष गर्नुपर्नेछ।
पटक-पटक प्रधानमन्त्री हुँदा पनि जनताको अपेक्षा पूरा नभएको, संसद् विघटनको दाग र स्थिर सरकार दिन नसकेको आरोप उनीमाथि छ। कांग्रेसले महिला उम्मेदवार (मन्धरा चिमरिया) उठाएर महिला भोटरलाई आकर्षित गर्ने रणनीति लिएको छ, जुन ओलीका लागि अर्को चुनौती बन्न सक्छ।
ओलीका प्रतिस्पर्धी शाहले जेनजी आन्दोलनको पहिलो दिन २३ भदौमा ओलीले दमन गरेको आरोप लगाएका छन् । एमालेले जेनजी आन्दोलनलाई षड्यन्त्र र प्रतिगमन भनेको छ । यही एजेन्डाको पक्ष र विपक्षमा मतदाता ध्रुवीकरण हुने संकेत देखिएको छ । यसले ओलीमाथि प्रतिकूलता थपिनेछ ।
अन्तिम परीक्षा
केपी ओलीको २०८२ सालको चुनाव केवल जित वा हारको होइन, यो उनको राजनीतिक विरासतको अग्निपरीक्षा हो। एकातिर विगतका सहयोगी (राप्रपा/माओवादी) प्रतिस्पर्धी बनेका छन् भने अर्कोतिर ‘मिसन ८४’ को नारासहित उदाएको रास्वपाका बालेन्द्र शाह मुख्य तगारो बनेका छन्।
विगतको ‘बोनस’ भोट गुमाएर पनि बालेन्द्रको ‘क्रेज’ लाई रोक्नु नै ओलीको मुख्य चुनौती हुनेछ।
Battleground Analysis
अनुकूलता
- मतदातामाझ ‘झापाको विकास भनेकै केपी ओली’ भन्ने भाष्य स्थापित
- एमालेको ग्रासरुट संगठन झापामा अन्य दलभन्दा सुदृढ
- सत्ता विरोधी मत यी दुई उम्मेदवार र राप्रपाबीच बाँडिँदा त्यसको प्रत्यक्ष लाभ ओलीलाई पुग्न सक्छ
प्रतिकूलता
- सबैभन्दा ठूलो चुनौती: जेनजी विद्रोह र ‘नयाँको लहर’
- बलिया प्रतिस्पर्धी
- गठबन्धनको अभाव
राजनीतिक स्वभाव र शैली
वाकपटुता र व्यङ्ग्य चेत
ओली आफ्नो तार्किक क्षमता, उखान-टुक्काको प्रयोग र विपक्षीमाथि प्रहार गर्ने विशिष्ट व्यङ्ग्य शैलीका लागि चिनिन्छन्। उनको भाषण शैलीले आम कार्यकर्तालाई आकर्षित गर्ने शक्ति राख्छ।
राष्ट्रवादी छवि
विशेष गरी २०७२ को भारतीय नाकाबन्दीको समयमा लिएको अडान र नेपालको नयाँ नक्सा (चुच्चे नक्सा) जारी गर्ने निर्णयले उनलाई एक 'अडान लिने' राष्ट्रवादी नेताको रूपमा स्थापित गरेको छ।
निर्णयात्मक र दृढता
उनी आफ्नो निर्णयमा अडिग रहने र पार्टीभित्र वा बाहिरको चुनौतीलाई कडा रूपमा सामना गर्ने स्वभावका छन् । कहिलेकाहीँ यसलाई 'स्वविवेकी शैली' को रूपमा पनि आलोचना हुने गर्छ।
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| २०४८ | झापा-६ | केशवकुमार बुढाथोकी | १६,४६२ | २१,०४९ | ४,५८७ |
|
| २०५१ | झापा-६ | केशवकुमार बुढाथोकी | १४,४०२ | १८,८६१ | ४,४५९ |
|
| २०५६ | झापा-६ | काशीलाल ताजपुरिया | १८,३५६ | २३,७४९ | ५,३९३ |
|
| २०६४ | झापा-७ | विश्वदीप लिङ्देन | १६,१२७ | १४,९५९ | १,१६ | पराजित |
| २०७० | झापा-७ | सुरेशकुमार योङ्या | १२,३२८ | १९,२८७ | ६,९५९ |
|
| २०७४ | झापा-५ | खगेन्द्र अधिकारी | २८,२९७ | ५७,१३९ | २८,८४२ |
|
| २०७९ | झापा-५ | खगेन्द्र अधिकारी | २३,७४३ | ५२,३१९ | २८,५७६ |
|
राजनीतिक टाइमलाइन
राजनीतिमा प्रवेश
मार्क्सवादी अध्ययन दलमार्फत राजनीतिक जीवनमा प्रवेश
झापा आन्दोलनमा सहभागी
सशस्त्र झापा बिद्रोहको मुख्य सदस्यका रूपमा सहभागी
१४ वर्ष जेल जीवन
राज्यद्रोहको अभियोगमा पञ्चायतकालमा लगातार १४ वर्ष जेल जीवन, ४५ सालमा रिहा ।
एमाले केन्द्रीय सदस्य
नेकपा माले र नेकपा (मार्क्सवादी) एकतापछि नेकपा (एमाले) को केन्द्रीय सदस्य
एमाले अध्यक्ष
नेकपा (एमाले) को नवौँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित
नेकपाको अध्यक्ष
एमाले र माओवादी केन्द्रको एकता भई बनेको नेकपाको संयुक्त अध्यक्ष
दोस्रोपटक अध्यक्ष
एमालेको १०औँ महाधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित
तेस्रोपटक अध्यक्ष
एमालेको ११औँ महाधिवेशनबाट तेस्रोपटक अध्यक्षमा निर्वाचित
गृहमन्त्री
२०५१ सालको मनमोहन अधिकारी नेतृत्वको सरकारमा
परराष्ट्रमन्त्री
२०६३ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा (उपप्रधानमन्त्रीसहित) ।
केपी शर्मा ओली को उम्मेदवारि कस्तो लागयो ?

