पुरानो आधार इलाकामा जितको खोजी
नेपाली राजनीतिका यस्ता खेलाडी, जो कहिल्यै एकै ठाउँमा स्थिर रहेनन्- न विचारमा, न सहकार्यमा, न त निर्वाचन क्षेत्रमै। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जीवन उनकै शब्दमा यस्तै ‘निरन्तरतामा क्रमभंग’ हरूले भरिएको छ ।
२०८२ सालको निर्वाचनसम्म आइपुग्दा उनी आफ्नो राजनीतिक जीवनको छैटौं निर्वाचन क्षेत्रको रूपमा रुकुम (पूर्वी भाग) पुगेका छन्।
रोल्पाबाट सुरु भएको उनको चुनावी यात्रा काठमाडौं, रोल्पा, सिरहा, चितवन, गोरखा हुँदै अहिले रुकुमको पहाडी कन्दरामा आइपुगेको छ। विरोधीहरू यसलाई ‘अस्थिरता’ भन्छन्, तर प्रचण्ड यसलाई आफ्नो ‘गतिशीलता’ र ‘जनतासँगको सामीप्यता’ को रूपमा व्याख्या गर्छन्।
ढिकुरपोखरीदेखि बालुवाटारसम्म
२०११ सालमा कास्कीको ढिकुरपोखरीमा जन्मिएका प्रचण्डको राजनीतिक यात्रा २०२८ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएसँगै सुरु भएको थियो। कृषिमा स्नातक गरेपछि उनी गोरखाको आरुघाटस्थित भीमोदय माविमा विज्ञान, गणित र अंग्रेजी पढाउने शिक्षक थिए।
शिक्षक हुँदा उनले स्थानीयलाई कम्पोष्ट मल बनाउन र चर्पी प्रयोग गर्न सिकाउने गर्थे। तर, उनको भित्री लक्ष्य शिक्षक बन्नु थिएन, समाजलाई नै आमूल परिवर्तन गर्नु थियो।
२०४३ सालमा तत्कालीन नेकपा (मशाल) मा भएको ‘सेक्टर काण्ड’ पछि मोहन वैद्यको ठाउँमा नेतृत्व सम्हाल्ने अवसर पाएका प्रचण्डले त्यसयता ३६ वर्षदेखि निरन्तर पार्टीको साँचो आफ्नै हातमा राखेका छन्। जनयुद्धको नेतृत्व गर्दै २०६३ सालमा शान्ति प्रक्रियामा आएपछि उनी तीन पटक देशको प्रधानमन्त्री भइसकेका छन्।
घुम्दै-फिर्दै पुनः रुकुम पश्चिममा
यसपटक प्रचण्डका लागि निर्वाचन चुनौतीपूर्ण र रोचक दुवै छ। उनी जितको बलियो आधार खोज्दै रुकुम पश्चिम पुगेका छन् तर न उनीसँग युद्धकालीन आधारक्षेत्रसँग जोड्ने माओवादी ब्रान्ड छ न त पुरानै चुनाव चिन्ह । उनी एकीकृत समाजवादी र माओवादी केन्द्रको एकता पछिको नयाँ दल नेकपाबाट पाँचकुने तारा चिन्ह लिएर चुनाव लड्दैछन्।
रुकुम पूर्वमा उनीसँग प्रतिस्पर्धा गर्दैछन् डा. बाबुराम भट्टराई संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का सन्दिप पुन देखिएका छन्। गत चुनावमा गोरखामा सघाएका भट्टराई यसपटक प्रचण्डविरुद्ध उभिएका छन् ।
सन्दिप पुन माओवादी जनयुद्धका सहिद पुत्र हुन्। हिजो जनयुद्धमा प्रचण्डलाई काँध थाप्ने र रगत बगाउने परिवारका सदस्य नै आज प्रचण्डका विरुद्ध चुनावी मैदानमा उत्रिनुले माओवादी आन्दोलनभित्रको गहिरो विभाजन र असन्तुष्टिलाई दर्शाउँछ।
निर्वाचन क्षेत्र बदल्ने ‘प्रचण्ड शैली’
प्रचण्डले हरेक निर्वाचनमा क्षेत्र बदल्नुलाई आफ्नो रणनीतिको रूपमा लिने गरेका छन् । २०६४ सालमा उनी रोल्पा–२ र काठमाडौं–१० दुवैमा विजयी बने । २०७० सालमा काठमाडौं–१० पराजित हुँदा सिरहा–५ विजयी बने ।
२०७४ सालमा चितवन–३ विजयी बनेका उनी २०७९ सालमा गोरखा–२ पुगेर जितको खोजी गरे । यो निर्वाचनमा उनी रुकुम पश्चिम पुगेका हुन् ।
चितवनमा आफ्नै पुत्री रेणु दाहाल मेयर हुँदाहुँदै पनि असुरक्षित महसुस गरेर २०७९ सालमा गोरखा पुगेका प्रचण्ड यसपटक गोरखा पनि छाडेर रुकुम पुगेका हुन्। रुकुम र रोल्पालाई माओवादीको ‘रेड जोन’ वा आधार इलाका मानिन्छ। सुरक्षित हुनकै लागि उनी फेरि युद्धकै भूगोलमा फर्कनुले उनको राष्ट्रिय लोकप्रियतामा ह्रास आएको संकेत गर्छ।
पार्टी र नेतृत्वमाथिको प्रश्न
माओवादीभित्र ‘एक नेतृत्व, दुई कार्यकाल’ को बहस आठौं महाधिवेशनमा जोडतोडका साथ उठेको थियो। तर, त्यो आवाजलाई प्रचण्डले सफलतापूर्वक दबाए। अहिले उनले एकीकृत समाजवादीसँग पार्टी मिलाएर नयाँ दल त बनाएका छन्, तर नेतृत्व हस्तान्तरणको कुनै संकेत दिएका छैनन्। उनी अझै १० वर्ष नेतृत्वमै रहने दाबी गर्छन्।
डा. बाबुराम भट्टराई, मोहन वैद्य, सिपी गजुरेल, र विप्लव जस्ता हस्तीहरूले उनलाई छाडेर जाँदा पनि प्रचण्डले सत्ता समीकरण मिलाएरै आफूलाई शक्तिशाली बनाइराखे।
तर, यसपटक भट्टराईको साथ उनलाई छैन। उनले सन्दिप पुनलाई अघि सारेर प्रचण्डको ‘क्रान्तिकारी विरासत’ माथि नै प्रश्न उठाएका छन्।
अनुकूलता
रुकुम पूर्व माओवादीको सबैभन्दा बलियो पकड भएको जिल्ला हो। २०७९ सालको स्थानीय तहको नतिजा हेर्दा यहाँ माओवादीको मत अन्य दलको तुलनामा निकै माथि छ।
प्रधानमन्त्री हुँदा उनले रुकुम र रोल्पाका लागि विनियोजन गरेका बजेट र पूर्वाधारका योजनाहरू उनका लागि मत माग्ने आधार हुन्। युद्धको बेला सबैभन्दा बढी क्षति बेहोरेको जिल्ला भएकाले त्यहाँका जनतामा अझै पनि प्रचण्डप्रति एक खालको भावनात्मक लगाव छ।
प्रतिकूलता
सन्दिप पुनले ‘प्रचण्डले सहिदको सपना बेचेको’ आरोप लगाउँदै चुनाव प्रचार गरिरहेका छन्। सहिद परिवारकै मत विभाजन हुनु प्रचण्डका लागि नैतिक र प्राविधिक रूपमा ठूलो क्षति हो।
यस क्षेत्रमा एमालेका लिलामणी गौतम (सुर्य) र कांग्रेसकी कुसुम देवी थापा (रुख) पनि मैदानमा छन्। यदि एमाले र कांग्रेसले रणनीतिक रूपमा सन्दिप पुन वा एकअर्कालाई सघाए भने प्रचण्ड संकटमा पर्न सक्छन्।
बारम्बार निर्वाचन क्षेत्र फेर्ने बानीले मतदातामा ‘जितेर गएपछि फर्किएर आउँदैनन्’ भन्ने डर पैदा गरेको छ। रुकुमेली जनताले उनीमाथि यही प्रश्न उठाइरहेका छन्।
७१ वर्षको उमेरमा रुकुमको पहाड चढ्दै गर्दा प्रचण्ड केवल एउटा सिट जित्ने दाउमा मात्र छैनन्, उनी आफ्नो खिइँदै गएको ‘क्रान्तिकारी साख’ जोगाउने अन्तिम प्रयासमा छन्। ६ पटक आफ्नै नाम फेरेका र ७ पटक नै पार्टीको स्वरूप बदलेका प्रचण्ड रुकुम पश्चिमबाट जनअनुमोदनको प्रयासमा हुनेछन् ।
प्रचण्डले भन्ने गरेको ‘गतिशीलता’ लाई यसपटक रुकुम पश्चिमका मतदाताले कसरी ग्रहण गर्छन्, त्यो हेर्न बाँकी छ।
पुष्पकमल दाहाल प्रचण्ड को उम्मेदवारि कस्तो लागयो ?



