Home Candidate बालेन्द्र शाह

अर्को छलाङका लागि बालेनले उठाएको जोखिम  

झापा - ५ उम्मेदवार

बालेन्द्र शाह

राष्ट्रिय स्वतन्त्र पार्टी
पुरुष , ३६ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

३५ वर्षीय बालेन्द्र शाह (बालेन) पेशाले इन्जिनियर हुन् । ४ वर्ष अगाडिसम्म र्‍यापरका रूपमा नयाँ पुस्ताबीच मात्र चर्चित रहेका उनी काठमाडौं महानगरको मेयरमा विजयी भएसँगै चर्चाको चुचुरोमै पुगे ।  

२०७९ सालमा सम्पन्न स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौंको मेयरमा उम्मेदवारी दिँदा राजनीतिक विश्लेषकदेखि सञ्चार माध्यमसम्मले यसलाई उल्लेख्य रूपमा नोटिसमा लिएका थिएनन् । तर चुनावको नतिजाले नेपाली समाजभित्र मतदाताको मनोविज्ञान कसरी बदलिइरहेको छ भनेर संकेत राम्रैसँग देखायो । 

मेयरमा विजयी भएसँगै बालेनले भर्चुअल संसारमा आफ्नो परिचय भूगोलतिर व्यापक बनाउन सफल भए ।  

काठमाडौंको गौरीगाउँमा जन्मिएका शाह आयुर्वेदिक चिकित्सक डा. राम नारायण शाह र ध्रुवदेवी शाहका छोरा हुन् । ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर उनी पेशाको क्रममा देशका ६५ जिल्ला पुगेको बताउँछन् ।

२०७२ सालको महाभूकम्पपछि उनले उद्धार र राहतको काममा सक्रिय भएर समाजसेवीको छवि पनि बनाए ।

नयाँ पुस्ताले रुचाएका पेशाकर्मी, र्‍यापर तथा कवि-लेखक शाहको राजनीतिक अवतारको चर्चा भने भूगोलभन्दा भर्चुअल माध्यम अर्थात् सामाजिक सञ्जालमा बढी छ ।

स्थानीयत चुनावताका विशेषतः फिल्म, संगीत र फेसन क्षेत्रका सेलिब्रिटीहरु शाहको पक्षमा देखिएका थिए । अभिनेत्रीहरु प्रियंका कार्की, स्वस्तिमा खड्का, निर्माताहरु माधव वाग्ले, सन्तोष सेन, हास्य कलाकार निर्मल शर्मा खुलेरै उनको पक्षमा लागे । निर्देशक निश्चल बस्नेत र गायिका इन्दिरा जोशी शाहको घोषणापत्र प्रस्तुत गर्ने कार्यक्रममै उपस्थित थिए । 

विकासको ‘भिजन’

चुनाव जित्न मनसँगै मत पनि जित्नुपर्छ भन्ने बुझेका शाहले चुनावी घोषणा पत्रमा डिजिटल सरकारदेखि आइडिया बैंकसम्मका योजना अघि सारेका थिए । 

मेयरको उम्मेदवार बन्दा शाह डिग्रीले भन्दा सिपले रोजगारी पाउने वातावरण बनाउने बताउँथे । उनी अहिले पनि राजनीतिभन्दा धेरै विकासका भिजनका कुरा गरिरहेका छन् । रास्वपा प्रवेशपछि जनकपुरको उद्घोष सभामा उनले भने, ‘म काम गर्ने मान्छे हुँ, म काम गरेर देखाउँछु । मलाई काम गर्न अवसर दिनुहुन्छ ? काठमाडौं नगरवासीले अवसर दिए, काम गरेर देखाएँ । तपाईँहरू दिनुहुन्छ ?’

संवादात्मक शैलीमा थोरै मात्रै बोल्ने शाहले मिथिलालाई वेडिङ डेस्टिनेसन बनाउनेदेखि काठमाडौं महानगरले २० हजार विद्यार्थीलाई निजी विद्यालयमा निःशुल्क पढाइरहेको विषयलाई देशव्यापी बनाउन चाहेको सुनाए । 

राजनीतिक मुद्दालाई नागरिकसँग जोड्न माहिर शाहले संघीयताप्रतिको प्रतिबद्धता राख्दै भने, ‘जनकपुरका प्रशासकीय अधिकृत फेर्न काठमाडौं जानुपर्ने अवस्था छ, हो कि होइन ? जनकपुर प्रदेशको राजधानी होइन ? हो भने काठमाडौं किन जानुपर्‍यो ? यहीँबाट किन हुँदैन ?’

उनले थपे, ‘पहिला प्रदेशलाई बलियो बनाउनुपर्छ । काठमाडौं जाने व्यवस्था बदल्नुपर्छ । अधिकार माग्न होइन, पशुपति घुम्न जाने काठमाडौं । पशुपतिनाथ, स्वयम्भूनाथ दर्शन गर्न जाने हो, अधिकार माग्न जाने होइन ।’ 

अनुकूलता–प्रतिकूलता

जेनजी आन्दोलनलगत्तै प्रधानमन्त्री बन्ने प्रस्ताव शाहले स्वीकारेनन् र सन्देश दिए- मेरो उद्देश्य प्रधानमन्त्री हुनुमात्र होइन । अझ उनले सबैभन्दा बढी मतान्तरसहित विजयी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धा गर्न चाहे । यो जोखिम मोल्ने आत्मविश्वास उनलाई जेनजी आन्दोलन र नयाँ पुस्ताका मतदातासँगै मतदाताको बदलिएको मनोविज्ञानले दिएको हुनसक्छ । 

वैकल्पिक राजनीति कमजोर भएको बेला पुरानालाई प्रतिस्थापन गर्न चाहने युवा मतदाताको रोजाइ बालेनको बल बन्न सक्छ । व्यक्ति र पार्टीको पक्षमा देखिएको यही चुनावी लहर उनको मुख्य अनुकूलता बन्न सक्छ ।  

तर, आफूले भोट दिँदै आएको पुराना दलहरूप्रति ‘बफादार’ मतदाता बाक्लो रहेको नेपाली समाजमा विना संगठन केवल चुनावी लहरको भरमा विजय हासिल गर्नु उम्मेदवारलाई फलामको च्यूरा चपाएजस्तै हुन पनि सक्छ ।

यसमाथि शाहले उठाएको जोखिम चानचुने छैन । गत निर्वाचनमा राप्रपाको समेत सहयोगमा २८ हजार ५७६ मतान्तरसहित विजयी एमाले अध्यक्ष ओलीलाई पराजित गर्ने रहरमा चुनावी अंकगणित तगारो बन्ने जोखिम उत्तिकै छ ।

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • व्यक्ति र पार्टीको पक्षमा देखिएको चुनावी लहर
  • एमालेसँग अन्य दलकाे गठबन्धन नहुनु
  • भदाै २३ र २४ पछि स्थापीत दल रक्षात्मक अवस्थामा पुग्नु

प्रतिकूलता

  • विना संगठन केवल चुनावी लहरको भरमा विजय हासिल गर्नु फलामको च्यूरा चपाएजस्तै हुन सक्ने
  • गत निर्वाचनकाे फराकिलो मतान्तर
  • बलिया प्रतिस्पर्धी
शिक्षा
स्नातकोत्तर
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
राष्ट्रिय स्वतन्त्र पार्टी
सरकारको अनुभव
काठमाडौं महानगरका मेयर

बालेन्द्र शाह को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित