कर्णाली प्रदेशको रणनीतिक योजनाकार योगेन्द्रबहादुर शाही
२३ र २४ भदौको जेनजी आन्दोलनले आँधीहुरी ल्याइदिएपछि राजनीतिक पार्टीहरूमा कतै टुटफुट त कतै एकता देखियो । यही क्रममा जेनजी आन्दोलनको भावनालाई समेटने दावी गर्दै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले अरु १० दल र घटक मिलाए र नयाँ पार्टीको घोषणा गरे– नेपाली कम्युनिष्ट पार्टी ।
नेकपामा अहिले २३ दल र घटक एकीकृत भएका छन् । यसरी बनेको नेपाली कम्युनिष्ट पार्टीबाट आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दैलेख–२ का उम्मेदवार छन्, योगेन्द्रबहादुर शाही ।
यसअघि यसअघि ०७९ को प्रदेशसभा निर्वाचनमा दैलेख–२ अन्तर्गतको प्रदेश सभा निर्वाचन क्षेत्र (१) बाट उम्मेदवार बनेका योगेन्द्र झोनो मतले जितविहीन भए ।
तर, ९ चैत २०७९ मा उनी कर्णाली प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त भए । त्यहाँ रहँदा उनले प्रदेशको आर्थिक विकाससम्बन्धी रणनीतिक योजनामा योगदान गरे ।
वैद्धिक विमर्शमा रमाउन चाहने योगेन्द्रले राजनीति भने नेपाल मजदुर किसान पार्टीबाट गरेका थिए । पछि एमाले प्रवेश गरे र लामो समय क्रियाशील रहे २०७९ को निर्वाचनअघि भने उनी एमाले छाडेर माओवादी केन्द्र प्रवेश गरे ।
एमालेमै रहँदा भने उनी माधवकुमार नेपाल समूहसँग निकट थिए । एमालेमा घनश्याम भुसाल नेतृत्वको अर्थ तथा योजना विभागमा शाही सचिव थिए । विभागका प्रमुख भुसालले पार्टी परित्यागको घोषणा गरेकै दिन २३ असोज ०७९ मा सचिव शाहीले पनि पार्टी छोड्ने घोषणा गरेका थिए ।
शाही विश्व प्रजातान्त्रिक युवा संघका उपाध्यक्ष तथा नेपाल सरकारको युवा नीति २०१५ तथा युवा विकासका लागि १० वर्षे रणनीतिक कार्ययोजना यूथ भिजन २०२५ को संयोजक पनि रहेका थिए । नेपाल मजदुर किसान पार्टीको भगिनी सङ्गठन नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका उनले २०५० देखि २०५३ सम्म सुर्खेत क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति भएर काम गरे ।
२०५२ नेमकिपा एमालेमा समाहित भएपछि शाही पनि एमालेमा लागेका थिए । २०५५ देखि २०६१ सम्म एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियूको केन्द्रीय सचिवालय समिति, एमाले माध्यमबाट सन् २००७ देखि २०११ सम्म प्रजातान्त्रिक युवा संघको अन्तर्राष्ट्रिय उपाध्यक्षसमेत भए ।
माले र माओवादी एकीकरणको बेला बनेको नेकपाको कर्णाली प्रदेश कमिटी सदस्य भएका शाही सोही समयमा कर्णाली प्रदेश योजना आयोगको सदस्य भएका थिए । २०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि शाही प्रचण्ड र माधव नेपाल पक्षमा लागेका थिए ।
२०७८ मा एमालेबाट विभाजित हुन लागेको बेला नेकपा एकीकृत समाजवादीको पक्षमा देखिए पनि पछि दल दर्ता हुनै लाग्दा शाही मूल पार्टी एमालेमै रोकिए । २०७९ मंसिरमा भएको संसदीय निर्वाचनमा एमालेले टिकट नदिएपछि उम्मेदवारी दर्ता गर्ने अन्तिम समयमा उनी नेकपा माओवादी केन्द्रमा लागे र कर्णाली प्रदेश सभा सदस्यका लागि दैलेख क्षेत्र २ को निर्वाचन क्षेत्र ‘२’बाट उम्मेदवार बनेका थिए ।
जवाहरलाल नेहरु विश्वविद्यालयबाट क्षेत्रीय विकासमा एमफिल गरेका उनी अहिले पनि विद्यावारिधि गर्दै छन् । कर्णाली योजना आयोगको सदस्य हुँदै उपाध्यक्ष भएर प्रदेशको रणनीतिक योजना निर्माण गरेको अनुभव उनीसँग छ ।
उनले रोजा लक्जम्वर्ग फाउन्डेसन जर्मनीसँगको सहकार्यमा नेपाल अध्ययन केन्द्रका तर्फबाट नेपालको समसामयिक नीतिगत बहसका लागि संयोजक रही कार्य पनि गरेका छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय दर्जनौं संघसंस्थाका सेमिनार र गोष्ठीका लागि युवा विकास, अन्तर्राष्ट्रिय सम्बन्ध, क्षेत्रीय तथा वातावरणीय दिगो विकाससम्बन्धी लेखन र प्रस्तुति दिएको शाहीसँग अनुभव छ ।
शाहीका अंग्रेजी र नेपाली दुवै भाषामा सम्पादित, एकल लेखन र सहलेखन गरी अनुसन्धानमूलक र विचार प्रधान पुस्तकहरू प्रकाशित छन् । उनी हिमालयन सिल्क रोड कन्सल्ट्यान्सीका संस्थापक तथा कार्यकारी अध्यक्ष पनि छन् ।
२०३१ साल वैशाख ६ गते दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ बुडेलीमा जन्मिएका योगेन्द्रसँग अन्तर्राष्ट्रिय राजनीतिक सम्मेलनका लागि नेपालको तर्फबाट पूर्वप्रधानमन्त्रीको प्रतिनिधिका रूपमा विभिन्न देशमा सहभागिता जनाएको अनुभवसमेत छ ।
अनुकूलता :
संघीयता र अर्थराजनीतिबारे जानकारी राख्ने उनी प्रदेश रणनीतिक योजनाकारको रूपमा परिचित छन् । स्थानीयस्तरमा बौद्धिक नेताको रूपमा चिनिन्छन् ।
प्रतिकूलता :
नेमकिपा, एमाले, माओवादी हुँदै नेपाली कम्युनिस्ट पार्टीमा रहेका उनलाई पार्टी अदलबदल गरिरहन नेताको आरोप लाग्ने गरेको छ । टिकटकै निम्ति पार्टी परित्याग गरेको इतिहासले उनलाई पछ्याइरहेको छ । तल्लो तहका कार्यकर्ता र जनस्तरसम्म पहुँच कम रहेको नेताका रूपमा पनि उनको आलोचना हुने गरेको छ ।
व्यक्तिगत विवरण
नाम: योगेन्द्रबहादुर शाही
जन्म : २०३१ साल वैशाख ६ गते
जन्मस्थान : दैलेख
स्थायी ठेगाना: चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ बुडेली, दैलेख
शिक्षा: एमफिल
राजनीतिक टाइमलाइन
२०५२ : नेमकिपा एमालेमा समाहित भएपछि शाही एमालेमा सक्रिय
२०५५–२०६१ : अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य
२०७८ : एकीकृत समाजवादीमा प्रवेश
२०७९ : एमाले त्यागेर माओवादी केन्द्र प्रवेश
२०७९ : कर्णाली प्रदेश सभा सदस्य उम्मेदवार
२०८२ : जेनजी आन्दोलनपछि एकीकृत नेपाली कम्युनिष्ट पार्टीमा आवद्ध
२०८२ : नेकपाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार
योगेन्द्रबहादुर शाही को उम्मेदवारि कस्तो लागयो ?


