पञ्चायतदेखि गणतन्त्रसम्मको अनुभव बोकेर चुनावी मैदानमा
पञ्चायतदेखि गणतन्त्रसम्मको यात्रामा उनले देखाएको नेतृत्व क्षमताले उनलाई साँच्चै नै संसदीय राजनीतिका चतुर खेलाडीको रूपमा लिइन्छ ।
०००
पञ्चायती व्यवस्थादेखि संघीय गणतन्त्रसम्मको राजनीतिक यात्रालाई नजिकबाट मात्र नभई नेतृत्वदायी रूपमा अगाडि बढाएका नेता हुन् राजेन्द्रप्रसाद पाण्डे । हाल नेपाली कम्युनिस्ट पार्टीमा वरिष्ठ नेता रहेका पाण्डे २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ बाट सातौं पटक उम्मेदवारका रूपमा चुनावी मैदानमा छन् ।
धादिङको गजुरी गाउँपालिका–२, छेवाङमा जन्मिएका पाण्डेले ग्रामीण विकासमा स्नातकोत्तर (एमए) अध्ययन पूरा गरेका छन् । उनी बौद्धिक, विचारशील र अनुभवले खारिएका नेताका रूपमा परिचित छन् ।
पाण्डेको राजनीतिक यात्रा २०३१ सालको विद्यार्थी आन्दोलनबाट सुरु भएको हो । पञ्चायत विरोधी आन्दोलनका क्रममा उनले जेल जीवन, भूमिगत संघर्ष र राजनीतिक दमनको सामना गरे । यही संघर्षले उनलाई जनआधार भएको नेताको रूपमा स्थापित गर्यो ।
२०४४ सालमा सम्पन्न जिल्ला पञ्चायत निर्वाचनमा पाण्डे धादिङ जिल्ला पञ्चायतको सभापतिमा निर्वाचित भए । सो निर्वाचनमा उनी देशभर ‘जनपक्षीय’ उम्मेदवारका रूपमा निर्वाचित हुने एकमात्र सभापति बनेका थिए । यो विजयलाई पञ्चायती व्यवस्थाभित्रै लोकतान्त्रिक चेतनाको बलियो संकेतका रूपमा लिइन्छ ।
पाण्डेको चुनावी इतिहास नेपाली राजनीतिमा विरलै देखिने खालको छ । उनी धादिङको साविक क्षेत्र नम्बर ३ (हालको क्षेत्र नम्बर १) बाट पटक–पटक निर्वाचित हुँदै आएका छन् ।
२०४८, २०५१ र २०५६ मा संसदीय निर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका पाण्डे २०६४ सालको पहिलो संविधान सभामा पराजित भएका थिए भने २०७० सालको दोस्रो संविधान सभा सदस्य निर्वाचनमा भने विजयी भएका थिए ।
देश संघीय संरचनामा गएपछि २०७४ सालमा भएको पहिलो आम निर्वाचनमा धादिङ–१ को प्रदेश सभा १ बाट प्रदेश सभा सदस्य निर्वाचित भएका पाण्डे २०७९ सालको निर्वाचनमा फेरि क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य चुनिएका थिए ।
२०७९ सालको निर्वाचनमा पाण्डे तत्कालीन नेकपा एकीकृत समाजवादीबाट उम्मेद्वार रही नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको समर्थन लिएर विजयी भएका थिए । उनले ३६ हजार १८ मत प्राप्त गरी एमालेका उम्मेद्वार भूमिप्रसाद त्रिपाठीलाई ८ हजार २१ मतको अन्तरले पराजित गर्दै विजयी भएका थिए ।
पाण्डेसँग संघीय र प्रदेश दुवै तहमा कार्यकारी जिम्मेवारी सम्हालिसकेको अनुभव छ । २०६२/६३ सालको आन्दोलनबाट संसद् पुनर्स्थापना भएपछि १० महिना केन्द्रीय सरकारको स्थानीय विकासमन्त्री भएका पाण्डे २०७८ साल कात्तिकदेखि २०७९ साल पुससम्म बागमती प्रदेशको मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्रीका रूपमा उनले प्रदेश सरकार सञ्चालन, नीति निर्माण, विकास योजना र प्रशासनिक सुधारमा महत्त्वपूर्ण भूमिका खेले ।
तत्कालीन नेकपा एमालेमा अञ्चल सचिव र पोलिटब्युरो सदस्यको जिम्मेवारी सम्हालेका पाण्डे एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादी निर्माणमा निर्णायक भूमिका खेलेका थिए । हाल उनी नेपाली कम्युनिस्ट पार्टीको वरिष्ठ नेता छन् ।
पाण्डेले यसपालीको निर्वाचनमा “अनुभव, विकास र सुशासन” लाई मुख्य चुनावी एजेन्डा बनाएका छन् । छ दशक लामो राजनीतिक अनुभव, पटक–पटकको चुनावी सफलता र सरकार सञ्चालनको दक्षताका कारण उनलाई धादिङ–१ मा बलियो र अनुभवी प्रतिस्पर्धी का रूपमा हेरिएको छ । पञ्चायतदेखि गणतन्त्रसम्मको यात्रामा उनले देखाएको नेतृत्व क्षमताले उनलाई साँच्चै नै संसदीय राजनीतिका चतुर खेलाडीको रूपमा लिइन्छ ।
अनुकूलता
- लामो राजनीतिक अनुभव र चुनावी सफलता
- संगठनात्मक र कार्यकारी नेतृत्व क्षमता
- स्थायी छवि र क्षेत्रीय पकड
प्रतिकूलता
- उमेर र राजनीतिक लामो यात्रा
- कडा प्रतिस्पर्धा
- उच्च अपेक्षा र परिणामको दबाब
राजेन्द्र प्रसाद पाण्डे को उम्मेदवारि कस्तो लागयो ?


