अधिकारकर्मीबाट राजनीतिमा
रास्वपाले बाँके–३ मा अभियन्ता खगेन्द्र सुनारलाई उम्मेदवार बनाएको छ । उनी २०४७ सालमा दैलेखको नारायण नगरपालिका छातीकोटमा जन्मिएका हुन् ।
दैलेख घर भएका खगेन्द्रले कक्षा ८ देखि १२ सम्म सुर्खेतको वीरेन्द्रनगरमा बसेर पढे । २०६६ सालबाट कलाकारितामा लागेका उनले रेडियो पञ्चकोशीबाट पत्रकारिता शुरू गरेका थिए । राजनीतिशास्त्र र इतिहासमा स्नातक उनले काठमाडौंमा पनि पत्रकारिता गरे ।
पत्रकारितासँगै ‘दलितका लागि दलित अभियान’को संयोजक बने । उनी अन्तरजातीय विवाह गर्दा सामाजिक बहिष्करणमा परेका थिए । उनको दैलेखकै जनजाति समुदायकी सीतासँग प्रेमविवाह भयो । बिहेपछि अहिलेसम्म सीताले माइतीको दैलो टेक्न पाएकी छैनन् ।
२०७७ जेठमा रुकुमपश्चिमका नवराज विक सहित ६ युवाको हत्या भएपछि खगेन्द्र दलित आन्दोलनमा प्रखर र आक्रामक अभियन्ताका रूपमा आए । खगेन्द्रले २०७८ जेठदेखि ‘दलितका लागि खै ?’ भन्ने अभियान चलाए । २०८१ साउन २३ देखि काठमाडौंको माइतीघरमा शरीरमा नेल लगाएर र विभिन्न सांकेतिक विरोध प्रदर्शन गरेपछि उनी चर्चामा आए ।
खगेन्द्रले राज्यको हरेक तहमा दलितको प्रतिनिधित्वको माग गर्दै निरन्तर दबाबमूलक अभियान सञ्चालन गर्दै आएका छन् । कर्णाली प्रदेशमा दलित समुदायको जनसंख्या झण्डै २९ प्रतिशत छ । तर प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा दलित समुदायलाई पूर्णरूपमा उपेक्षा गरेको भन्दै खगेन्द्रको नेतृत्वमा आन्दोलन भयो । आन्दोलनको क्रममा पक्राउ परेका खगेन्द्रले हिरासतमा पानी नपिई आमरण अनशन शुरु गरे । त्यसपछि सरकार र खगेन्द्र पक्ष बीच आगामी वर्षको बजेटमा न्यायोचित सम्बोधन गर्ने सहमति भयो ।
विवादास्पद अभिव्यक्ति र प्रदर्शनका क्रममा खगेन्द्र पक्राउ फर्ने र छुट्नेक्रम चल्दै आएको छ । आन्दोलनका त्रममा दिएको उनको एउटा अभिव्यक्ति ट्रोल भएको छ । गत कात्तिकमा खगेन्द्र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने चर्चा थियो । विभिन्न विवादका कारण अन्तिम समयमा उनको नियुक्ति रोकियो । उनी विरुद्धका अदालतको अपहेलना, विद्युतीय कारोबार ऐन (साइबर अपराध), स्वास्थ्य संस्था तोडफोड र हातपात लगायत मुद्दाहरू विचाराधीन छन् ।
जेनजी आन्दोलनपछि खगेन्द्रले आफ्नै नेतृत्वमा ‘हाम्रो पार्टी नेपाल’ नामक दल दर्ता गरे । उज्यालो नेपाल पार्टीसँग उनको पार्टीले गरेको एकल चिह्नबाट चुनाव लड्ने सहमति धेरै टिकेन । त्यसपछि गत पुसमा खगेन्द्रको पार्टी र रास्वपा बीच एकता भयो । एकतापछि खगेन्द्र रास्वपाको केन्द्रीय सदस्य बने ।
२०७९ मा बाँके–३ बाट नेपाली कांग्रेसका तत्कालीन सहमहामन्त्री किशोरसिंह राठौर २९ हजार ९७ मत ल्याएर निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका किस्मतकुमार कक्षपतिले २४ हजार ३०५ मत ल्याएका थिए । रास्वापाका देवेन्द्रनाथ शुक्ला ७ हजार ४६७ मतका साथ तेस्रो स्थानमा आएका थिए ।
यो क्षेत्रमा १ लाख १७ हजार ३५४ जना मतदाता छन् । समानुपातिकमा रास्वपाले ६ हजार ४७३ मत पाएको थियो ।
काठमाडौं बसेर ‘दलितका लागि दलित’ अभियान सञ्चालन गर्दै आएका दैलेखका खगेन्द्र बाँके–३ को मतदाताका लागि नयाँ अनुहार हो । यो दलित समुदायको बाक्लो बस्ती रहेको क्षेत्र हो । खगेन्द्रले दलित लगायत समुदायका मतदाताको विश्वास जित्ने प्रयत्न गरिरहेका छन् ।
–कृष्ण अधिकारी
खगेन्द्र सुनार को उम्मेदवारि कस्तो लागयो ?

