दोहोरिन खोज्दै दिक्पाल
२०१८ साल वैशाख ७ गते दैलेखको जम्भुकाधमा जन्मिएका दिक्पालकुमार शाही कांग्रेस दैलेखका पुराना नेता हुन् । उनी दैलेख निर्वाचन क्षेत्र नम्बर–२, बाट प्रतिनिधिसभा सदस्यमा दोहोरिन खोज्दैछन् ।
शाहीले २०७९ को निर्वाचनमा एमालेका लक्ष्मीप्रसाद पोखरेललाई झिनो मतान्तरले उछिन्दै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । यो निर्वाचन क्षेत्रमा २०४८ यताका संसदीय निर्वाचनहरूमा कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा रहँदै आएका छन् ।
यसपटक पनि दिक्पालका प्रतिस्पर्धी तिनै लक्ष्मीप्रसाद पोखरेल छन् । २०७९ को निर्वाचनमा तत्कालीन वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार बनेका शाही २० हजार १८३ मत ल्याएर विजयी बनेका थिए ।
उनका प्रतिस्पर्धी एमालेका लक्ष्मीप्रसाद पोखरेलले भने २० हजार ०३० मत ल्याए । अर्थात, जम्मा १५३ मतको अन्तरले दिक्पालले बाजी मारेका थिए ।
एसएलसीसम्मको अध्ययन गरेका दिक्पाल २०३६ सालदेखि राजनीतिमा सक्रिय छन् । विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय उनले २०४३ सालमा नेपाली कांग्रेसको सदस्यता प्राप्त गरेका थिए । २०४७ सालमा नेपाली कांग्रेसको जिल्ला कमिटी सदस्य बनेका थिए उनी एक वर्षपछि नै दैलेख कांग्रेसको उपसभापति बनेका थिए । २०४७ सालमै उनी शिक्षक संघ दैलेखको संस्थापक उपसभापति बनेका थिए ।
दिक्पाल २०४४ सालमा निर्वाचन उपयोग गर्ने नीति अनुरूप जम्बुकाँध गाउँ पञ्चायतको प्रधानका लागि उम्मेदवारी दिएका थिए । तर, पराजित भए । २०४६ को राजनीतिक परिवर्तनपछि शिक्षकको जागिरबाट राजीनामा दिएर पार्टीको पूर्णकालीन राजनीतिमा होमिए । उनीसँग २०४९ देखि २०५४ सम्म जिल्ला विकास समिति दैलेखको सदस्य (क्षेत्रपाल) भएर काम गरेको अनुभव छ ।
राजनीतिमा अघि बढिरहेका बेला २०५५ सालमा तत्कालीन नेकपा माओवादीको नेतृत्वमा चलेको सशस्त्र संघर्षको प्रत्यक्ष प्रभाव उनमा पर्यो । जसका कारण उनी नेपालगञ्ज विस्थापित भए ।
त्यसबेला उनले अनक जयदेवी जेभी नामको निर्माण कम्पनीको इजाजत लिए र निर्माण व्यवसायमा जोडिए । हाल उनको सो कम्पनी परिवारका अन्य सदस्यले सञ्चालन गर्दै आएका छन् ।
नेपाली कांग्रेसको १३ र १४ औं महाधिवेशनका प्रतिनिधि रहेका दिक्पाल पछिल्लो विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
२०७४ को प्रदेश सभा सदस्य निर्वाचनमा दैलेख २ (२) बाट कर्णाली प्रदेशसभा सदस्य पदमा उम्मेदवार बनेका उनी एमालेका राजबहादुर शाहीसँग पराजित भएका थिए ।
विगतका अन्य निर्वाचन परिणामले यो क्षेत्रमा कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा देखिन्छ । तर, पछिल्लो समय नयाँ पार्टीहरूको उदय र लोकप्रियताको कारण यसपटकको प्रतिस्पर्धा झन् रोचक बनेको छ ।
यस क्षेत्रमा दुल्लु नगरपालिका, भैरवी गाउँपालिका, चामुण्डा विन्द्रासैनी नगरपालिका, ठाँटीकाँध गाउँपालिका र आठबिस नगरपालिका पर्दछन् । यहाँ ८१ हजार ५०३ मतदाता छन् ।
२०७९ को निर्वाचनमा यस क्षेत्रमा एमालेले १७ हजार ३१७ मत ल्याएको थियो । कांग्रेसले १५ हजार ४०४, माओवादी केन्द्रले ६ हजार ३५४, नेमकिपाले ३ हजार ८९८, रास्वपाले ९०५ र राप्रपाले ५१८ मत ल्याएका थिए । त्यस्तै, २०७४ मा एमालेले १८ हजार ३४८, कांग्रेसले १५ हजार ३४७, माओवादी केन्द्रले ३ हजार ५४६, नेमकिपाले ३ हजार १७९ र राप्रपाले ३११ समानुपातिक मत प्राप्त गरेका थिए ।
यस क्षेत्रमा २०४८ मा कांग्रेसका रंगबहादुर शाही, २०५१ मा नेमकिपाका विनोदकुमार शाह, २०५६ मा कांग्रेसका शिवराज जोशी, २०६४ मा एमालेका राजबहादुर बुढा, २०७० मा एमालेका लक्ष्मीप्रसाद पोखरेल, २०७४ मा एमालेका राजबहादुर बुढा र २०७९ मा कांग्रेसका दिक्पालकुमार शाही विजयी भएका थिए ।
अनुकूलता :
स्थानीय तहदेखि प्रतिनिधिसभासम्म जनप्रतिनिधिको अनुभव, लामो राजनीतिक संघर्षमा जाडिएका, स्थानीय राजनीतिमा भिजेका नेता हुन् । लामो समय शिक्षण पेशामा संलग्न रहेकाले जनस्तरसम्म पहुँच ।
प्रतिकूलता :
निर्माण व्यवसायीका रूपमा क्रियाशील हुँदा उनको निर्माण कम्पनीले लिएका ठेक्कामाथि उठेका प्रश्नले उनलाई आज पनि लेखेटिरहेको छ ।
व्यक्तिगत विवरण
नाम: दिक्पालकुमार शाही
जन्म : २०१८ साल वैशाख ७ गते
स्थायी ठेगाना: दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका जम्बुकांध
शिक्षा: प्रविणता प्रमाण पत्र तह
राजनीतिक टाइमलाइन
२०३६ : विद्यार्थी राजनीतिमा आवद्ध
२०४३ : नेपाली कांग्रेस पार्टीमा आबद्ध
२०४७ : नेपाली कांग्रेसको जिल्ला कमिटी सदस्य
२०४७ : शिक्षक संघ दैलेखको संस्थापक उपसभापति
२०४८ : नेपाली कांग्रेस दैलेखको जिल्ला उपसभापति
२०४४ : जम्बुकाँध गाउँ पञ्चायतको प्रधान उम्मेदवार
२०४९ देखि २०५४ : जिविस दैलेखको सदस्य
२०७९ : प्रतिनिधिसभा सदस्य निर्वाचित
२०८२ : प्रतिनिधिसभा सदस्य उम्मेदवार
दिक्पालकुमार शाही को उम्मेदवारि कस्तो लागयो ?



