लामो राजनीतिक अनुभवसँगै नयाँ दलबाट कडा परीक्षा
रावलले आसन्न निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट अछाम–१ मा प्रत्यक्षतर्फ उम्मेदवार छन् ।
०००
४ साउन २०१३ सालमा अछामको साँफेबगर नगरपालिका–६ कालाआम गाउँमा जन्मिएका भीम रावल नेपाली राजनीतिमा परिचित नाम हो । २०३० सालदेखि प्रगतिशील विद्यार्थी राजनीतिमा संलग्न उनले राजनीतिक शास्त्रमा विद्यावारिधि र कानुनमा स्नातकसम्मको अध्ययन गरेका छन् ।
हाल नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य र वरिष्ठ नेता रहेका रावल विगतमा नेकपा एमाले केन्द्रीय कमिटी उपाध्यक्ष हुनुका साथै ५० वर्ष एमालेमार्फत देश र जनताका लागि योगदान गरिसकेका छन् ।
उनी २०३२ सालको विद्यार्थी आन्दोलनमा सुरक्षा कानुनअन्तर्गत केन्द्रीय कारागारमा बन्दी भए । त्यहीं झापाली राजबन्दीहरूसँग रावलको भेट भयो । २०३२ सलमा केन्द्रीय कारागारमा रहँदा उनले पार्टी सदस्यता प्राप्त गरे ।
रावल २०३३ सालमा राजकाज मुद्दाअन्तर्गत कारागार परे । २०३५ सालदेखि पार्टीको विद्यार्थी क्षेत्रमा पार्टीको नेतृत्ववादी केन्द्रीय न्युक्लियसको सदस्य भए ।अनेरास्ववियु (एकताको पाँचौं) को संस्थापक मध्येका एक रावल २०३६ सालमा संगठनको केन्द्रीय सचिवालय सदस्य र विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हाले ।
विद्यार्थी आवाज र स्टुडेन्ट्स भ्वाइसको सम्पादक रहिसकेका रावल २०३८ सालमा अनेरास्ववियु एकताको पाँचौं राष्ट्रिय सम्मेलनका सिलसिलामा गिरफ्तारी परे । उनी डिल्लीबजार खोरमा विद्रोह र भैरहवा कारागारमा नौ दिन आमरण अनशन बसे ।
२०३९ सालपछि नेकपा (माले) को काठमाडौं बुद्धिजीवी कमिटीको सचिव भएका रावलले पार्टीका तर्फबाट साप्ताहिक पत्रिकाको सम्पादनको जिम्मेवारी सम्हाले । उनी २०४८ सालपछि लगत्तै प्रचार विभागको सदस्य बने ।
२०५० सालदेखि विदेश विभागको सदस्य र सचिवका रूपमा लामो समय काम गरेको अनुभव रावलसँग छ ।
नेता रावल २०५४ सालमा छैठौं र २०५९ सालमा सातौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भए । उनी २०६५ सालमा आठौं राष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष पदमा पराजित हुन पुगे ।
तर, केन्द्रीय कमिटीको सदस्यमा निर्वाचित भएका रावल २०७१ सालमा नवौं राष्ट्रिय महाधिवेशनबाट सर्वाधिक मत प्राप्त गरी केन्द्रीय कमिटीको उपाध्यक्षमा निर्वाचित भए ।
१० वर्ष एमालेको सेती अञ्चल इन्चार्ज रहिसकेका रावलले झन्डै १५ वर्ष प्रवास क्षेत्रको पार्टी कामको जिम्मेवारी बहन गरे । विभिन्न समयमा केन्द्रीय संगठन विभागको सदस्यको रूपमा पनि उनले जिम्मेवारी सम्हाले ।
संघीय व्यवस्था आइसकेपछि रावल सुदूरपश्चिम प्रदेश कमिटीको संयोजक र त्यसको संस्थापक हुन् । २०७५ सालमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच एकीकरण भएपछि उनी स्थायी कमिटीको सदस्य र सुदूरपश्चिम प्रदेश कमिटीको इन्चार्ज भए ।
नेता रावलले सरकार र संसदीय क्षेत्रको जिम्मेवारी पनि सम्हाली सकेका छन् । रावल २०४७ सालमा नेकपा (माले) का तर्फबाट मन्त्री बनेका झलनाथ खनालको राजनीतिक सल्लाहकार थिए । २०४८ सालमा नेकपा एमालेका तर्फबाट अछाम निर्वाचन क्षेत्र नम्बर १ मा उनी उम्मेदवार थिए । तर, उनको संसदीय यात्रामा निर्वाचनबाट ब्रेक लाग्यो, उनी पराजित भए ।
२०५१ सालमा सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा विजयी रावल एमालेको अल्पमतको सरकारमा पर्यटन, संस्कृति तथा नागरिक उड्डयन र वाणिज्य राज्यमन्त्री बने । पछि उनले उद्योग मन्त्रालयको समेत जिम्मेवारी सम्हाले ।
उनी २०५५ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री रहेको चुनावी सरकारमा पर्यटन, संस्कृति तथा नागरिक उड्डयन, विज्ञान तथा प्रविधिमन्त्री थिए ।
रावल २०५६ सालको आम निर्वाचनमा निर्वाचन क्षेत्र नम्बर १ अछामबाट प्रतिनिधिसभा सदस्यमा पराजित भए । रावल २०६२/६३ सालको जनआन्दोलनमा ३५ दिन सशस्त्र प्रहरीको ब्यारेकमा बन्दी बने ।
उनी २०६४ सालको संविधानसभामा एमालेका तर्फबाट संविधानसभामा समानुपातिकतर्फ सदस्य बने । रावल २०६६ सालदेखि २०६८ सालसम्म गृहमन्त्री तथा २०७२ साल कात्तिकदेखि २०७३ साल साउनसम्म उपप्रधान तथा रक्षामन्त्रीको जिम्मेवारीमा थिए ।
२०७० सालमा अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्यमा उनी निर्वाचित भए । उनी संविधानसभाको संवैधानिक समिति तथा संविधान मस्यौदा समितिको सदस्य थिए ।
माओवादी सेनाका लडाकुहरूको समायोजन तथा पुनर्स्थापनासम्बन्धी विशेष समितिको सदस्य भएर रावलले विभिन्न वार्तामा संलग्न रही शान्ति प्रक्रियामा सक्रिय र महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।
२०७४ सालको आम निर्वाचनमा अछाम– १ बाट प्रतिनिधिसभाको सदस्य निर्वाचित रावल संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको लामो समयसम्म सदस्य रहे ।
२०७९ सालको आम निर्वाचनमा अछाम– १ बाट सर्वसम्मत एकल उम्मेदवारको सिफारिसमा परे पनि अध्यक्ष केपी शर्मा ओलीले रावललाई उम्मेदवारीबाट बञ्चित गरे ।
देशको स्वाधीनता, हित तथा पार्टीको विधि, पद्दति र स्वच्छ किसिमले चलाउने माग गर्दा अन्ययापूर्ण किसिमले उनी पार्टी सदस्यबाट निष्कासनमा परे ।
पार्टीबाट निष्कासनमा परेपछि रावलले २०८१ साल पुस १७ देखि देश र जनताको पक्षमा आवाज घन्काइ रहन र सिद्धान्त, विधि र पद्दतिका लागि मातृभूमि जागरण अभियान सञ्चालन गरे ।
नेपालको वामपन्थी र देशभक्तको सशक्त संगठन र मूल प्रवाह निर्माणका लागि २०८२ साल असोज २६ गते उनी नेपाली कम्युनिस्ट पार्टीमा समाहित भए ।
मानव अधिकार संरक्षण मञ्चको केन्द्रीय सदस्य तथा निर्देशक रहिसकेका रावल, नेपाल बार एसोसिएसनद्वारा सञ्चालित कानुनी सहायता परियोजनाको निर्देशक तथा कानुनको सम्पादक बने ।
अधिवक्तासमेत रहेका रावलले मानवाधिकार र विकाससम्बन्धी नेदरल्यान्डको इन्स्टिच्युट अफ सोसल स्टडिजमा तीन महिने विशेष अध्ययन गरेका छन् । जलस्रोतको उपयोगबारे अमेरिकाको हार्वर्ड विश्व विद्यालयमा १० दिने विशेष कार्यशालामा सहभागी रहेका उनी २०५० साल फागुनदेखि १० महिना संयुक्त राष्ट्रसंघअन्तर्गत कम्बोडियामा निर्वाचन गराउने काममा संलग्न भए ।
रावलले ‘नेपालमा साम्यवादी आन्दोलन, उद्भव र विकास’ (पुस्तक), ‘राजनीति र मानव अधिकार’ (पुस्तक), ‘लिम्पियाधुरा’ (कविता संग्रह) लेखका छन् । विद्यावारिधिका लागि पोलिटिकल भ्वाइलेन्स एन्ड माओइस्ट इमसर्जेन्सी इन नेपाल (राजनीतिक हिंसा तथा माओवादी विद्रोह) नामक शोधपत्र तयार गरेका रावलका दर्जनौं अनुसन्धानात्मक शोधपत्र, लेख तथा सयौं समसामयिक विषयका लेखहरू प्रकाशित छन् ।
रावलले आसन्न निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट अछाम–१ मा प्रत्यक्षतर्फ उम्मेदवार छन् । यो क्षेत्रमा एमालेले दीपकबहादुर साउद र नेपाली कांग्रेसले भरतकुमार स्वाँरलाई उम्मेदवार बनाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट यहाँ ओमप्रकाश रावल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट लोकेन्द्रबहादुर शाह उम्मेदवार छन् ।
प्रतिनिधिसभा निर्वाचन–२०७९ मा रावल उम्मेदवार रहेको अछाम–१ मा तत्कालीन नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवर १९ हजार ५३४ मतसहित विजयी भएका थिए ।
रावलको टिकट रोकेर एमालेले उम्मेदवार बनाएका झपटबहादुर बोहरा १५ हजार ४५ मत ल्याएर दोस्रो हुँदा कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका राजन कुँवरको पक्षमा ४ हजार ३९२ मत खसेको थियो ।
अनुकूलता
- पाँच दशकभन्दा बढी राजनीतिक अनुभव
- शान्ति प्रक्रिया, संविधान निर्माण र राष्ट्रिय मुद्दामा सक्रिय सहभागिताले विश्वसनीयता निर्माण
- अछाम क्षेत्रमा लामो समयदेखिको राजनीतिक आधार र व्यक्तिगत प्रभाव
प्रतिकूलता
- नयाँ दलबाट चुनाव लड्नुपरेकाले संगठनात्मक संरचना कमजोर हुने सम्भावना
- बहुकोणीय कडा प्रतिस्पर्धा
- मतदाताको समीकरण अनिश्चित
प्रस्तुति : केशव सावद
भीम बहादुर रावल को उम्मेदवारि कस्तो लागयो ?

