Home Candidate गोमा तामाङ

सामाजिक उद्धारक, यौनिक अल्पसंख्यक समुदायकी प्रतिनिधि

सुनसरी - १ उम्मेदवार

गोमा तामाङ

राष्ट्रिय स्वतन्त्र पार्टी
महिला , ५२ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सुनसरी-१ बाट गोमा तामाङ, जसलाई धेरैले सरिन नामले चिन्छन् । उनी पुनः संसदीय चुनावी मैदानमा उत्रिएकी छlन्। यो उनको दोस्रो उम्मेदवारी हो। राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा उम्मेदवार सरिन यौनिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्ने व्यक्ति हुन्।

सर्लाही जिल्लाको मोतिहारमा २०३० मंसिर १ गते जन्मिएकी सरिनले एसएलसीसम्म अध्ययन गरेकी छिन् । उनी दुई सन्तानकी आमा हुन् । वैवाहिक जीवनमा आएको असमझदारीपछि श्रीमान्‌सँग सम्बन्धविच्छेद गरेकी उनले देविका कार्कीसँग समलिङ्गी विवाह गरेकी छिन् ।

उनका अनुसार पारिवारिक भूमिकामा उनी श्रीमान्‌को भूमिकामा छिन् । देविका कार्कीपट्टि एक सन्तान पनि छन्, जो अहिले वयस्क भइसकेका छन्। सरिनको हालको अस्थायी बसोबास धरान–११, ओमशान्ति चोकमा छ।

जीविकोपार्जनका लागि उनी वनस्पति तेल तथा घिउको व्यवसायमा संलग्न रहँदै आएकी छिन् भने सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय छिन्।

सर्लाहीको मधेशी गाउँमा जन्मेर हुर्किएकी सरिनले पनि सामान्य छोरी जस्तै घर भित्रको सीमित जीवन बिताइन्। आर्थिक उपार्जनको उद्देश्यले भाइको सहयोगमा सन् २००६ तिर इजरायल गएकी उनी त्यसबेला विवाहित थिइन् ।

इजरायलमा करिब सात वर्ष बिताएपछि सन् २०१३ मा उनले श्रीमान्‌सँग सम्बन्धविच्छेद गरिन्। त्यसपछि महिला हिंसाविरुद्ध सामाजिक सञ्जालमार्फत निर्भीक रूपमा आफ्ना विचार राख्न थालेपछि उनी सार्वजनिक रूपमा चिनिन थालिन् ।

इजरायलमा रहँदा उनले १४ वर्षसम्म ‘केयर गिभर’को रूपमा कष्टकर वैदेशिक जीवन बिताइन् । सन् २००६ देखि २०२० सम्मको त्यो अनुभवले मानव तस्करी, विशेषगरी नेपाली छोरी–चेलीहरू दलालमार्फत विदेशमा कसरी शोषित हुन्छन् भन्ने विषयमा गहिरो बुझाइ छ । यही अनुभवका आधारमा उनले पीडितहरूको उद्धारमा सक्रिय भूमिका निर्वाह गरिन् । यही क्रममा उनको सम्पर्क रवि लामिछानेसँग पनि भएको थियो।

इजरायलमै रहँदा उनले गुल्मीका एक दृष्टिविहीन दलित बालकलाई सहयोग गरेर सामाजिक सेवाको यात्रा सुरु गरेकी थिइन् । त्यसपछि इराक, कतार, साउदी अरब, अफगानिस्तान र कुवेतमा अलपत्र परेका नेपालीहरूको उद्धार तथा शव नेपाल ल्याउने अभियानमा समेत उनी सक्रिय रहिन्।

धरानमा आमा तथा परिवारका सदस्य बस्ने भएकाले उनी धरान आएका बेला कोरोना महामारी फैलिएको थियो। लकडाउनका कारण रोजगारी गुमाएर भोकभोकै बसेका परिवारहरूका लागि उनले राहत संकलन र वितरणमा अग्रसर भूमिका खेलेकी थिइन्।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाबाट उम्मेदवारी दिएकी सरिनले १६ हजार ६०६ मत प्राप्त गर्दै सम्मानजनक दोस्रो स्थान हासिल गरेकी थिइन् ।

यौनिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्ने व्यक्ति गोमा तामाङ (सरिन) जीविकोपार्जनका लागि वनस्पति तेल तथा घिउको व्यवसायमा संलग्न रहँदै आएकी छिन् । उनले वैदेशिक रोजगारीमा बेचिएका नेपाली चेलीहरूको उद्धारमा पनि काम गरेकी छिन् ।

उक्त निर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार अशोक राई १७ हजार ५९ मतसहित विजयी भएका थिए। विश्लेषकहरूका अनुसार एमालेको बलियो पकड मानिने क्षेत्रमा सरिनले कडा चुनौती प्रस्तुत गरेकी थिइन् र केही साना कमजोरी सच्याएको भए नतिजा फरक हुन सक्थ्यो ।

त्यसबेला धेरै मतदाताले उनलाई प्रत्यक्ष रूपमा नचिने पनि वैदेशिक रोजगारीमा बेचिएका नेपाली चेलीहरूको उद्धारकर्ता र सामाजिक अभियन्ताका रूपमा पहिचान गर्न थालेका थिए । अघिल्लो निर्वाचनका अनुभव र कमजोरीहरूलाई आत्मसात गर्दै उनी यसपटक जित्ने अभियानमा छिन् ।

५२ वर्षीया सरिन सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन्। उनी भन्छिन्, 'राजनीतिमा आइसकेपछि अब जनताको पक्षमा काम गर्नुपर्छ। शिक्षा र स्वास्थ्य जस्ता आधारभूत सेवाहरू निःशुल्क हुनुपर्छ भन्ने मेरो मान्यता हो ।'

यस पटकको निर्वाचनमा उनका प्रमुख प्रतिस्पर्धीहरूमा एमालेका टीका लिम्बु, कांग्रेसका सुजेन्द्र तामाङ र नेकपाका सूर्यबहादुर भट्टराई (मनोज) रहेका छन् । निर्वाचन अधिकृतको कार्यालयमा तामाङ टोपी र जुहारी कोटमा उपस्थित सरिन यसपटक विजयी भएमा सम्भवतः प्रतिनिधिसभामा पुग्ने नेपालकै पहिलो खुला महिला समलिङ्गी सांसद बन्ने छिन्।

अनुकूलता

  • वैदेशिक रोजगारी, मानव तस्करी पीडितको उद्धार, महिला हिंसा विरुद्धको आवाज र कोरोना महामारीका बेला गरेको राहत कार्यले सामाजिक अभियन्ताका रूपमा स्थापित ।
  • यौनिक अल्पसंख्यक समुदायको भएकाले समावेशी पहिचान र नयाँ पुस्ताका मतदातालाई आकर्षित गर्न सक्छ।
  • २०७९ को निर्वाचनमा सम्मानजनक दोस्रो स्थानमा रहेकाले सम्भावना बलियो ।

प्रतिकूलता

  • समलिङ्गी पहिचान र फरक जीवनशैलीका कारण केही रुढिवादी मतदाता वर्गबाट नकारात्मक धारणा आउन सक्ने जोखिम ।
  • एमाले, कांग्रेस र अन्य दलका अनुभवी तथा संगठनात्मक रूपमा बलिया उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था उनको लागि चुनौतीपूर्ण हुनसक्छ ।
Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

गोमा तामाङ को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित