डलर अर्बपतिको ‘सेकेण्ड इनिङ्स’ तयारी
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य चयन भए, उद्यगोपति विनोद चौधरी । नेपालका एक मात्रै डलर अर्बपति चौधरीको कांग्रेस केन्द्रीय समितिमा यो दोस्रो ‘इनिङ्स’ हो ।
चौधरीको प्रत्यक्षतर्फको निर्वाचन प्रतिस्पर्धा पनि यो दोस्रो हो । २०६४ मा नेकपा (एमाले)को तर्फबाट समानुपातिक सभासद बनेका उनी २०७९ मा कांग्रेसबाट टिकट लिएर नवलपरासी–१ बाट विजयी भएका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग परिसंघको नेतृत्व गरिसकेका ७० वर्षीय चौधरीसँग दुई खर्ब (१.५ बिलियन डलर) रुपैयाँ सम्पत्ति रहेको विश्वका अर्बपतिहरूको सूची सार्वजनिक गर्ने फोर्ब्स म्यागजिनले उल्लेख गरेको थियो ।
चौधरी ग्रुप र सीजी कर्प ग्लोबलका अध्यक्ष चौधरी मातहत १६० कम्पनी छन् । १२३ वटा ब्रान्ड चौधरीको व्यवसायमा जोडिएका छन् । पाँच वटै महाद्वीपका २७ देशमा चौधरी ग्रुपको उपस्थिति छ । चाउचाउको विश्व बजारमा चौधरीको वाइ–वाइ ब्रान्डको २.६ प्रतिशत हिस्सा रहेको सीजी कर्प ग्लोबलको दाबी छ ।
उद्योग, व्यापार, पर्यटन, शिक्षा, मनोरञ्जन, वित्त, सञ्चार र निर्माण क्षेत्रमा लगानी गरेका चौधरीले नवलपुर (नवलपरासी पूर्व)मा शाश्वत धाम बनाएका छन् । उनको आत्मकथाः विनोद चौधरी विभिन्न भाषामा अनुवादित भएको छ ।
पञ्चायतकालमा रानी ऐश्वर्य, अधिराजकुमार धीरेन्द्र शाह र सूर्यबहादुर थापासँग निकट सम्बन्ध बनाएका चौधरी २०४६ पछि एमालेसँग नजिकिएका थिए । तर, २०७४ को प्रतिनिधिसभा निर्वाचनअघि कांग्रेसमा प्रवेश गरे । त्योसँगै उनी मधेशीको कोटामा समानुपातिक सांसद र कांग्रेसको चौधौं महाधिवेशनबाट मधेशी कोटाबाटै केन्द्रीय सदस्य चुनिए ।
२०७९ मा चौधरी २९ हजार ५१५ मत ल्याएर निर्वाचित भएका थिए । त्यतिबेला उनका निकटतम प्रतिद्वन्द्वी हृदयेश त्रिपाठीले २२ हजार ३२८ मत पाए । चौधरीले माओवादी, एकीकृत समाजवादी, जनमोर्चाको साथ पाएका थिए भने त्रिपाठीलाई एमालेले समर्थन गरेको थियो ।
गत निर्वाचनमा समानुपातिकतर्फ कांग्रेसले सबैभन्दा बढी २३ हजार ५१५ मत पाएको थियो । तर २०७९ मा जस्तो चौधरीलाई समर्थन गर्ने गठबन्धन छैन । त्यतिबेलाका माओवादी केन्द्र, एकीकृत समाजवादी मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेको छ । यो पार्टीले सिन्धु जलेसा बुढाथोकीलाई अघि सारेको छ ।
त्यसो त चौधरीलाई असहयोग गरेका विक्रम खनालले कांग्रेस छाडेर रास्वपाबाट उम्मेदवारी दिएका छन् । त्रिपाठीले जसपा नेपालबाट उम्मेदवारी दिएका छन् । एमालेबाट रामप्रसाद पाण्डे चुनावी मैदानमा छन् ।
विनोद कुमार चौधरी को उम्मेदवारि कस्तो लागयो ?


