Home Candidate राजुनाथ पाण्डे

महानगर प्रहरीको अनुभव, सांसद बन्ने आकांक्षा

काठमाडौं - ३ उम्मेदवार

राजुनाथ पाण्डे

राष्ट्रिय स्वतन्त्र पार्टी
पुरुष , ५५ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

उनी बालेन शाहका विश्वास पात्र मानिन्छन् । काठमाडौं महानगर प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि उनले फुटपाथ व्यवस्थापन, शहरी सुव्यवस्था, ट्राफिक अनुशासन, अव्यवस्थित संरचना हटाउने अभियान चलाएका थिए ।

०००

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट काठमाडौं-३ का उम्मेदवार हुन्, राजुनाथ पाण्डे । उनी काठमाडौं महानगरपालिकाका निवर्तमान प्रहरी प्रमुख हुन् । पाण्डे महानगर प्रहरी प्रमुखबाट राजीनामा दिएर निर्वाचनमा होमिएका हुन् ।

जनप्रतिनिधिका रूपमा नीति निर्माणमा प्रत्यक्ष भूमिका खेल्ने उद्देश्यसहित आफू राजनीतिमा प्रवेश गरेको पाण्डे बताउँछन् । सुशासनलाई प्राथमिकतामा राखेर उम्मेदवारी दिएको उनले बताए ।

‘सुशासन पहिलो प्राथमिकता हो । न्यायोचित प्रणाली स्थापित गर्नुपर्ने छ । पहुँचको आधारमा होइन, प्राथमिकताको आधारमा बजेट विनियोजन हुनुपर्छ । त्यसपछि मात्र विकास सम्भव छ,’ उनले भने, ‘रास्वपाको घोषणापत्रबमोजिम काम गर्ने मेरो उम्मेदवारी हो ।’

पाण्डेको जन्म २६ माघ २०२७ मा नुवाकोटमा भएको हो । हाल उनी काठमाडौं महानगरपालिका सामाखुसीमा बसोबास गर्दै आएका छन् ।

उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहको अध्ययन पूरा गरेका छन् । पाण्डे २०५० सालमा काठमाडौं महानगरपालिकाको नगर प्रहरी सेवामा प्रवेश गरेका थिए । उनले विभिन्न जिम्मेवारी सम्हालेका छन् ।

भदौ २०७९ मा तत्कालीन महानगर प्रमुख बालेन्द्र शाहले पाण्डेलाई नगर प्रहरी बलको प्रमुखमा नियुक्त गरेका थिए । बालेन शाहका विश्वास पात्र मानिने पाण्डेले नगर प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि फुटपाथ व्यवस्थापन, शहरी सुव्यवस्था, ट्राफिक अनुशासन र अव्यवस्थित संरचना हटाउने अभियान चलाएका थिए ।

यद्यपि, उनको कार्यकाल विवादरहित भने रहेन । काठमाडौं महानगरमा ठेलागाडा हटाउने, संरचना भत्काउने, पार्किङ लगायतका विषयमा उनको आलोचना हुने गरेको थियो । २०८२ जेठमा प्रमुख प्रशासकीय अधिकृतसँगको विवादका कारण उनलाई ६ महिनाका लागि निलम्बन गरिएको थियो ।

तर, अदालतको आदेशपछि उनी पुनः आफ्नो पदमा फर्किएका थिए । पाण्डे माघ ४ गते नगर प्रहरी प्रमुख पदबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरी काठमाडौं-३ मा उम्मेदवारी दिएका हुन् । उनको उम्मेदवारीकJ प्रस्तावक उज्ज्वल सापकोटा र समर्थक विश्वराज रिजाल बसेका छन् ।

नगर प्रहरीमा रहँदा देखेका शहरी समस्या, प्रशासनिक कमजोरी र नीतिगत अभावलाई संसद्‌बाट सम्बोधन गर्न राजनीतिमा आएको उनी बताउँछन् ।

क्षेत्र नम्बर ३ मा एमालेका रामेश्वर फुँयाल, कांग्रेसका रमेश अर्याल, नेकपाका निरज लामा, उज्यालो नेपालका कुलमान घिसिङ लगायतका २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

यसअघि २०७९ को चुनावमा काठमाडौं–३ मा कांग्रेसका सन्तोष चालिसेले जित हात पारेका थिए । त्यसबेला चालिसेले १५ हजार १५८ मत ल्याएका थिए ।

त्यसैगरी, एमालेका तत्कालीन उम्मेदवार कृष्णबहादुर राईले ११ हजार १९६ र रास्वपाका दुर्गाविक्रम थापाले ५ हजार ८६५ मत ल्याएका थिए भने राप्रपाका गणेश गिरीले २ हजार ५११ मत ल्याएका थिए । क्षेत्र नम्बर ३ मा ४८ हजार ४८९ जना मतदाता छन् ।

अनुकूलता

  • महानगरपालिका प्रहरी प्रमुखको अनुभव
  • रास्वपाको ब्रान्ड
  • बालेन शाह मेयर हुँदा बनाएको विश्वास पात्रको छवि

प्रतिकूलता

  • ठेलागाडा हटाउने, संरचना भत्काउने र पार्किङ व्यवस्थापन जस्ता कदमका कारण महानगरमा आलोचना
  • प्रत्यक्ष राजनीतिक र चुनावी अनुभवको कमी
  • कडा प्रतिस्पर्धा र मत विभाजन भइरहने क्षेत्र

 

को हुन् राजुनाथ पाण्डे

जन्ममिति : २०२७-०५-२६

जन्मस्थान : नुवाकोट

हाल काठमाडौं महानगर पालिका सामाखुसी

अध्ययन : स्नातकोत्तर, त्रिभुवन विश्वविद्यालय

नगर प्रहरी सेवामा प्रवेश : २०५० साल

राजीनामा : २०८२-१०-०४

राजीनामापछि राजनीतिमा प्रवेश

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

राजुनाथ पाण्डे को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित