पुरानै मैदानमा नयाँ उम्मेदवारसँग प्रतिस्पर्धा
गत माघ ३ गते बसेको नेकपा (एमाले) सचिवालय बैठकले पाल्पा–२ मा उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई उठाउने निर्णय गर्यो। उनले २०५१ सालको मध्यावधि निर्वाचन पाल्पाबाटै जितेका थिए।
२०५६ सालदेखि रूपन्देहीबाट उठ्दै आएका पौडेल पाल्पाबाट उठ्ने विषयले निकै चर्चा पायो। तर माघ ६ गते मनोनयन दर्ता गर्ने दिनसम्म पौडेल रूपन्देही–२ बाटै उम्मेदवार बन्ने पक्का भयो।
२०१६ मंसिरमा स्याङ्जाको पुतलीबजारमा जन्मिएका पौडेल नेकपा (माले) हुँदै एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को महासचिवसम्म बनेका नेता हुन्। २०३५ असोजमा अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी को–अर्डिनेसन कमिटी (माले)को सदस्य रहेका उनी सोही वर्ष मंसिरदेखि पूर्णकालीन सदस्य बने।
२०४१ मा तत्कालीन मालेको जिल्ला समिति सदस्य बनेका उनले २०४७ मा एमालेको केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी पाए। २०५९ सालदेखि एमाले स्थायी कमिटी सदस्य बनेका उनी २०६५ सालमा एमालेको केन्द्रीय सचिव निर्वाचित भए। २०७१ मा सम्पन्न एमालेको नवौं महाधिवेशनबाट उपमहासचिव बने। २०७५ मा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको महासचिव र सचिवालय सदस्य बने। २०७८ को दशौं महाधिवेशनबाट उपाध्यक्ष चयन भएका उनी एघारौं महाधिवेशनमा पनि त्यही पदमा दोहोरिए।
२०५३ सालमा लोकेन्द्रबहादुर चन्दको मन्त्रिमण्डलमा युवा, खेलकुद तथा संस्कृति मन्त्री बनेका पौडेलले २०६५ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिमण्डलमा जलस्रोत मन्त्रालयको जिम्मेवारी सम्हाले। २०६७ मा झलनाथ खनालको नेतृत्वमा बनेको सरकारमा रक्षा मन्त्री बनेका उनी २०७२ सालमा केपी ओलीको सरकारमा अर्थमन्त्री बने। जेनजी आन्दोलनले विस्थापित गरेको सरकारमा उनी अर्थमन्त्री थिए।
राजनीतिमा आउनुअघि पौडेल शिक्षण पेशामा थिए। ११ वर्ष भूमिगत जीवन बिताएका उनले त्यस समयमा पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, रूपन्देही लगायत जिल्लामा बसेर पार्टीको काम गरे।
२०५१ को मध्यावधि चुनावमा पाल्पाबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका उनी २०५६ मा रूपन्देहीबाट चुनाव लडे। त्यतिबेला उनी नेपाली कांग्रेसका सूर्यप्रसाद प्रधानसँग पराजित भए।
२०६४ को संविधानसभा निर्वाचनयता भने उनी पछाडि फर्कनु परेको छैन। देशभरि माओवादीको पक्षमा चुनावी लहर आएको पहिलो संविधानसभा निर्वाचनमा पनि उनले पराजय भोग्नु परेन। उनले माओवादीका भक्तिप्रसाद पाण्डेलाई साढे दुई हजार मतले पराजित गरे। जबकि त्यो क्षेत्रमा समानुपातिकतर्फ माओवादीले १५ हजार ५९४ र एमालेले १५ हजार १२७ भोट ल्याएको थियो।
२०७० मा भएको दोस्रो संविधानसभामा रूपन्देही–४ बाट कांग्रेसका सूर्यप्रसाद प्रधान र माओवादी केन्द्रका डा. बाबुराम भट्टराईलाई फराकिलो मतान्तरले पराजित गरे। २०७४ र २०७९ मा रूपन्देही–२ बाट निर्वाचित भए।
गत निर्वाचनमा पौडेल २७ हजार १६५ मत ल्याएर निर्वाचित हुँदा रास्वपाका गणेश पौडेलले २५ हजार ७९५ मत ल्याएका थिए। रास्वपाले यसपटक सुलभ खरेललाई अघि सारेको छ।
कांग्रेसबाट चुन्नप्रसाद पौडेल र नेपाली कम्युनिष्ट पार्टीबाट सुभाष पाण्डेले उम्मेदवारी दिएका छन्। अघिल्लो निर्वाचनमा पौडेललाई सघाएको राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रत्यक्षतर्फको उम्मेदवारी खारेज भएको छ।
अनुकुलता
अनुभवी र स्थापित नेता
बलियो संगठनात्मक आधार
कठिन परिस्थितिमा पनि चुनाव जित्ने क्षमता
प्रतिअनुकुलता
कांग्रेस र वैकल्पिक शक्तिको संयुक्त दबाब
सत्ता–केन्द्रित राजनीतिज्ञको छवि
राष्ट्रिय राजनीतिमा विवादित निर्णयको बोझ
विष्णु प्रसाद पौडेल को उम्मेदवारि कस्तो लागयो ?


