Home Candidate हर्क राज राई

'हर्कवाद' बोकेर संसदीय राजनीतिमा

सुनसरी - १ उम्मेदवार

हर्क राज राई

श्रम संस्कृति पार्टी
पुरुष , ४३ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

हर्कराज राई साम्पाङ नेपाली राजनीतिमा परम्परागत ढाँचाभन्दा विल्कुल फरक शैली र भाषाका कारण चिनिएका पात्र हुन् । राजनीतिक दल र तिनका नेतृत्वमाथि सामाजिक सञ्जालमार्फत कडा प्रहार गर्दै आएका उनी विद्रोही अभियन्ताका रूपमा चर्चित हुँदै २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा धरान उपमहानगरपालिकाको मेयर निर्वाचित भए ।

दलीय राजनीति, नीति र नेतृत्वप्रति असहमति जनाउँदै आएका साम्पाङले श्रम संस्कृति पार्टी दर्ता गरेर  अध्यक्षको जिम्मेवारी सम्हालेका छन्। उनी अहिले सुनसरी-१ मा श्रम संस्कृति पार्टीको तर्फबाट उम्मेदवार छन् ।

२०३९ साल फागुन १५ गते खोटाङको खार्ताम्छामा जन्मिएका साम्पाङ धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट राजनीतिशास्त्रमा स्नातक हुन् ।

पूर्वब्रिटिस गोर्खा सैनिक परिवारका कान्छा सन्तानका रूपमा हुर्किएका उनले खोटाङकै शुक्रबारे माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि २०५७ सालतिर उच्च शिक्षाका लागि धरान झरेर संघर्षपूर्ण जीवन बिताए ।

जीवनमा केही फरक गर्नुपर्छ भन्ने हुटहुटीले उनलाई भाषा प्रशिक्षण केन्द्रमा जागिर खान, अनि अफगानिस्तान र इराकसम्म पुगेर अमेरिकी तथा ब्रिटिस कम्पनीअन्तर्गत काम गर्न प्रेरित गर्‍यो।

सानैदेखि जिद्दी र विद्रोही स्वभावका साम्पाङले आफूलाई ‘क्रान्ति’ भन्ने उपनामसमेत दिएका थिए। वैदेशिक रोजगारबाट फर्किएपछि उनले जीविकोपार्जनका लागि एकता टेम्पो यातायात संघ दर्ता गरी त्यसको अध्यक्षको भूमिका सम्हाले ।

राष्ट्रिय एकता सञ्जाल, आदिवासी मूलवासी एकता सञ्जाल र आम एकता अभियानमार्फत उनले भ्रष्टाचारविरुद्ध चर्का नारासहित सडक र सामाजिक सञ्जालमा आवाज उठाए ।

दाजुको नाममा रहेको धरानको बुद्धचोक नजिक धनकुटे मार्गस्थित घरजग्गा उनको स्थायी आधार बन्यो।

कला क्षेत्रमा रुचि राख्ने साम्पाङले २०६४ सालमा आफ्नै शब्द रहेको ‘मिसिङ हर्ट’ नामक लोक–आधुनिक एल्बम सार्वजनिक गरे। तर संगीत क्षेत्रमा अपेक्षित सफलता नपाएपछि उनले त्यो सपना त्यागे। अभियन्ताका रूपमा भने उनी झन् आक्रामक बने ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बढेको बेथितिविरुद्ध आवाज उठाए, नदी–खोलाका ढुंगा, गिटी, बालुवा ठेक्कामा हुने मिलेमतोको विरोध गरे र धरानको खानेपानी समस्यालाई केन्द्रमा राखेर श्रम अभियान नै चलाए।

खानेपानीलाई एकसूत्रीय एजेन्डा बनाएर २०७९ सालको स्थानीय निर्वाचनमा लौरो चिह्न लिएर मेयर पदमा उम्मेदवारी दिएका साम्पाङले एमाले, कांग्रेस र माओवादी जस्ता ठूला दललाई पछि पार्दै जित हात पारे।

बेलायत, सिंगापुर र भारतका पूर्वगोर्खा सैनिकको आर्थिक सहयोग र व्यापक श्रमदानमा उनले करिब ४२ किलोमिटर टाढाको कोकाहा खोलाबाट धरानमा पानी ल्याउने प्रयास गरे, जसमा करिब ८ करोड रुपैयाँ खर्च भएको बताइन्छ ।

धरान खानेपानी व्यवस्थापन बोर्डमार्फत थप करिब २ करोड रुपैयाँ खर्च भए पनि धरानको पानी समस्या पूर्ण रूपमा समाधान गर्न भने उनी सफल हुन सकेनन्। चन्दाकै भरमा सर्दु खोलाको किनारमा श्रम संस्कृति पार्क निर्माण गर्नु उनको अर्को चर्चित पहल बन्यो।

धरान उपमहानगरमा स्वतन्त्र मेयर बनेको करिब साढे तीन वर्ष नपुग्दै उन पदबाट राजीनामा दिँदै सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा होमिएका छन् ।

सामाजिक सञ्जालमा अत्यन्त सक्रिय साम्पाङले एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेता शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मात्र होइन, बालेन शाह र रवि लामिछाने महावीर पुनदेखि कुलमान घिसिङसम्म पनि तिखो टिप्पणी गर्ने छोडेनन् ।

२०७६ सालको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा मेयर पदमा उठ्दा ४२२ मत मात्र पाएका साम्पाङ २०७९ सालको निर्वाचनमा भने कूल १ लाख ३ हजार मतदाता रहेको धरानमा २० हजार ८२१ मत प्राप्त गर्दै विजयी भए। उनका निकटतम प्रतिस्पर्धी किशोर राईले १६ हजार ५९ मत र एमालेकी मञ्जु भण्डारीले १२ हजार ८२५ मत मात्र प्राप्त गरे। एमालेको गढ मानिएको धरान भत्काउँदै साम्पाङले परम्परागत दल राजनीतिलाई गम्भीर झट्का दिए।

मेयर बनेको करिब साढे तीन वर्ष नपुग्दै उनले पदबाट राजीनामा दिँदै सुनसरी-१ बाट प्रतिनिधिसभा निर्वाचनमा होमिएका छन् ।

प्रधानमन्त्रीको कुर्सी ताकेको उद्घोषसँगै उनी संसदीय राजनीतिमा फड्को मार्ने प्रयासमा छन्। हाल उनको परिवारमा श्रीमती र एक छोरा छन् भने पूर्वपत्नी तर्फबाट एक छोरी छिन् । पछिल्लो समय श्रम संस्कृति पार्टीको मूल सिद्धान्त ‘हर्कवाद’ र त्यसका एक मात्र सिद्धान्तकार आफू नै भएको दाबी गर्दै आएका साम्पाङ सुनसरी–१ मा पुनः चर्चाको केन्द्रमा छन् ।

अनुकूलता

  • विद्रोही छवि र जनभावनालाई छुने सरल, रैथाने बोल्ने शैली
  • धरानमा खानेपानी जस्तो जटिल विषयमा प्रत्यक्ष श्रम अभियानको अनुभव
  • दलीय विकल्प खोजिरहेका मतदातामाझ बलियो पहिचान

प्रतिकूलता

  • आक्रामक अभिव्यक्ति र निरन्तर विवादले मध्यम मतदातामा नकारात्मक प्रभाव
  • ठूला राष्ट्रिय मुद्दामा स्पष्ट नीतिगत खाका अभावको आलोचना
  • स्थानीय तहमा अधुरा नतिजा र मेयर पद छाडेको निर्णयप्रति प्रश्न
Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

हर्क राज राई को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित