प्रत्यक्ष निर्वाचित सांसद बन्ने धाेकाे
दुई पटक चितवनको भरतपुर महानगरपालिका प्रमुख बनेकी रेनु दाहालले चितवन–३ बाट उम्मेदवारी दिएकी छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट उठेकी उनी महानगरमा गरेको कामको जस मतमार्फत अनुमोदन गराउने प्रयासमा देखिन्छ ।
२०३३ सालमा जन्मिएकी दाहाल भरतपुर–१४ मा बस्दै आएकी छन् । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरीसमेत रहेकी दाहाल माओवादी सशस्त्र विद्रोहका बेला राजनीतिमा लागेकी थिइन् ।
भूमिगत समयमै अखिल भारत नेपाली महिला समाजको अध्यक्ष भएकी दाहाल २०६१ देखि २०६३ सालसम्म तत्कालीन नेकपा माओवादी रोल्पा जिल्ला सहइन्चार्ज बनिन् ।
२०६४ सालको पहिलो संविधानसभामा सदस्य बनेकी दाहाल सोही वर्ष पार्टीको पोलिटब्युरो सदस्य भइन् । २०७० सालको निर्वाचनमा काठमाडौं–१ मा पराजित बनेकी उनी २०७४ सालमा भएको स्थानीय तहको पहिलो निर्वाचनमा भरतपुरको नगरप्रमुख विजयी बनिन् । तर गणना अन्तिम चरणमा पुग्दा मतपत्र च्यातिएको विषय निकै विवादमा आएको थियो ।
पाँच वर्षे कार्यकाल पूरा गरेकी दाहाल २०७९ सालमा पुनः भरतपुर महानगरकै नगर प्रमुख पदमा जित निकाल्न सफल भइन् । अनेमसंघ (क्रान्तिकारी) को केन्द्रीय सदस्य, महासचिव रहेकी दाहाल हाल उपाध्यक्ष तथा नेकपा केन्द्रीय सदस्य छन् ।
मेयर बनेर गरेको विकासले दाहालको राजनीतिक उचाइ बढायो । संघीय, प्रदेश र स्थानीय सरकारको समन्वयमा उनले भरतपुरका नगर प्रमुख हुँदा धेरै कामहरू गरेर जनताको मन पनि जितेकी छन् । जितेको मनलाई मतमा बदल्ने चुनौती उनका सामु छ ।
नारायणी नदी कटानको दीगो समाधानबाट हजारौं घर र सयौं बस्ती बचाएको, निकुञ्ज तथा मध्यवर्ती क्षेत्रबाट आऊने जंगली जनावरबाट हुने क्षति रोक्न क्रंक्रिटसहितको मेस जाली लगाएको, सिँचाइ सुविधा, सडक पूर्वाधार, विद्यालय, स्वास्थ्य चौकी आधारभूत सेवाहरू गाउँगाउँसम्म पुर्याएको जस्ता विषयलाई रेनुले चुनावका क्रममा उठाएकी छिन् ।
दुईपटकसम्म नगर प्रमुखको निर्वाचनमा आफूलाई सघाएको कांग्रेस यसपटक दाहालको साथमा छैन । रास्वपाकी प्रभावशाली नेतृ सोविता गौतम दाहालका चुनौती हुन् ।
२०७९ मा जितेका राप्रपाका विक्रम पाण्डेका ‘स्विङ’ मत कता जान्छ त्यसले चुनावी परिणामलाई प्रभावित गराउन सक्छ । माडी बाहेक अन्य क्षेत्रमा नेकपाको संगठन कमजोर मान्छिन् ।
प्रस्तुतिः सुवास पण्डित
रेणु दाहाल को उम्मेदवारि कस्तो लागयो ?


