Home Candidate मीनेन्द्रप्रसाद रिजाल

नेतृत्व फेरिएर पाएको अवसरलाई नतिजामा बदल्नुपर्ने चुनौती

मोरङ - २ उम्मेदवार

मीनेन्द्रप्रसाद रिजाल

नेपाली कांग्रेस
पुरुष , ६८ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile Political Nature Election History Timeline

नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजाल गत पुस अन्तिम साता सम्पन्न विशेष महाधिवेशनको विपक्षमा थिए। तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्व गरेको विशेष महाधिवेशनको कार्यसूचीलाई उनले 'समस्या' भनेका थिए।

तर उनको बुझाइ उल्टो भयो। विशेष महाधिवेशनले गगनलाई सभापति चुन्यो। निर्वाचन आयोगले पनि गगन नेतृत्वको कांग्रेसलाई नै मान्यता दियो। उनै गगन थापाले हस्ताक्षर गरेर दिएको कांग्रेसको टिकट लिएर अहिले रिजाल मोरङ–२ मा मत मागिरहेका छन्। यसरी पार्टी राजनीतिमा नयाँ परिस्थितिको अनुभूति गर्नुपरेका रिजालका निम्ति चुनाव लड्दै गरेको क्षेत्र भने पुरानै हो।

२०७४ सालमा रिजाल यही क्षेत्रबाट निर्वाचित भएका थिए। वाम गठबन्धन हुँदा पनि रिजालले एमालेका ऋषिकेश पोखरेललाई १ हजार ८ सय ५ मतको अन्तरले पराजित गरेका थिए। त्यसबेला रिजालले ३५ हजार ८ सय १९ मत ल्याएर जितेका थिए।

यही अवधिमा रिजाल रक्षामन्त्री बने। तर कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित भएसँगै उनले रक्षामन्त्रीबाट राजीनामा दिए। मन्त्री पदबाट राजीनामा गरेका रिजाललाई तत्कालीन सभापति शेरबहादुर देउवाले २०७९ को चुनावमा टिकट नै दिएनन्। रिजालको टिकट खोसेर सुजाता कोइरालालाई दिइयो, तर एमालेका ऋषिकेशले चुनाव जिते।

माओवादीसहित पाँच दलीय गठबन्धन हुँदा पनि जित्न नसकेकी सुजाताले यसपटक चुनाव नलड्ने निर्णय लिएपछि रिजालले उम्मेदवार बन्ने अवसर पाएका हुन्। कांग्रेसभित्र उनलाई आफूलाई लागेको कुरा प्रस्ट राख्न सक्ने नेताका रूपमा चिनिन्छ। माओवादी लडाकु समायोजनमा उनको भूमिका राष्ट्रिय राजनीतिमै सम्झनायोग्य छ। सेना समायोजन विशेष समितिमा रिजाल सदस्य थिए।

मोरङ–२ को राजनीतिक पृष्ठभूमि भने कांग्रेसका निम्ति ऐतिहासिक छ। यही क्षेत्रबाट गिरिजाप्रसाद कोइरालाले २०४८, २०५१ र २०५६ सालको निर्वाचन गरी तीन पटक जितेका थिए। गिरिजाले छोडेपछि पनि यो क्षेत्रमा कांग्रेसको राम्रै प्रभाव छ। २०६४ को पहिलो संविधानसभा निर्वाचनमा देशभर माओवादीको लहर चल्दा पनि यो क्षेत्रबाट कांग्रेसका आमोदप्रसाद उपाध्यायले जितेका थिए। त्यसबेला मोरङबाट जित्ने उनी कांग्रेसका एक मात्र नेता थिए।

तर २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसको किल्ला एमालेले तोड्यो। उपाध्यायलाई नै पराजित गर्दै एमालेका ऋषिकेशले जिते। २०७४ सालको चुनाव हारे पनि ऋषिकेशले २०७९ को निर्वाचनमा फेरि जिते। ३३ हजार १४८ मतसहित पोखरेलले जित्दा कांग्रेसकी सुजाता कोइरालाले ३१ हजार ९४० मत पाएकी थिइन्। अर्थात्, यो क्षेत्र विगतमा जस्तो कांग्रेसको पकड भन्न मिल्ने अवस्थामा छैन।

नयाँ शक्तितर्फ पनि राम्रै आकर्षण देखिन्छ। २०७९ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका ठगेन्द्र न्यौपानेले ४ हजार ९८७ मत पाएका थिए।

अनुकूलता

  • २०७४ सालमा वाम गठबन्धन हुँदा समेत मीनेन्द्र रिजालले मोरङ–२ बाट जितेका थिए। तसर्थ, उनका निम्ति यो क्षेत्र परिचित छ।
  • राष्ट्रिय राजनीतिमा परिचित व्यक्तित्व र केही सम्झनायोग्य भूमिका उनका निम्ति थप सहयोगी पक्ष हुन्।
  • कांग्रेसको ऐतिहासिक आधार क्षेत्र हो, जहाँबाट गिरिजाप्रसाद कोइरालाले तीन पटक प्रतिनिधित्व गरेका थिए।

प्रतिकूलता

  • पार्टीभित्रको अन्तरसङ्घर्ष र विगतमा रिजालले लिएका केही अडानहरू।
  • कांग्रेसको बलियो पकड क्षेत्रमा प्रतिपक्षी प्रतिस्पर्धी बन्दै जानु।
  • मतदातामा नयाँ राजनीतिक दलहरूप्रति आकर्षण बढ्दै जानु।
Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
३५८१९
हालको दल
सरकारको अनुभव

राजनीतिक स्वभाव र शैली

बौद्धिक र नीतिगत नेता

रिजाललाई कांग्रेसभित्रका 'थिंक ट्यांक' मानिन्छ। व्यवस्थापनमा विद्यावारिधि गरेका रिजाल नीति निर्माण, दस्तावेज लेखन र अन्तर्राष्ट्रिय सम्बन्धमा दख्खल राख्छन्।

अडान र स्पष्टता

लागेको कुरा स्पष्ट राख्ने स्वभाव। १४औं महाधिवेशनमा महामन्त्री हार्दा नैतिकताको आधारमा तत्काल रक्षामन्त्रीबाट राजीनामा दिएर उनले उच्च राजनीतिक संस्कार देखाएका थिए ।

संकट मोचक

माओवादी लडाकु समायोजन प्रक्रियामा 'विशेष समिति' को सदस्य रहेर उनले खेलेको भूमिकालाई राष्ट्रिय राजनीतिमा 'माइलस्टोन' मानिन्छ।

अन्तरविरोध र यथार्थ

विशेष महाधिवेशनमा गगन थापाको एजेन्डाको विरोध गरे पनि अन्ततः संस्थापन (गगन नेतृत्व) को निर्णय स्वीकारेर टिकट लिई चुनावमा होमिनुले उनको राजनीतिक यथार्थवादी चरित्र झल्किन्छ ।

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
२०६४ साल समानुपातिक
२०७० साल समानुपातिक
२०७४ साल मोरङ-२ ऋषिकेश पोखरेल ३४०१४ ३५८१९ १८०५ विजयी

राजनीतिक टाइमलाइन

२०२७ साल

राजनीतिमा प्रवेश

भोजपुरबाट विद्यालय पढ्दादेखि नै नेपाल विद्यार्थी संघ (नेविसंघ) मार्फत राजनीतिमा चासो। पछि अमृत साइन्स क्याम्पस (अस्कल) काठमाडौंमा नेविसंघको राजनीतिमा सक्रिय।

२०४६ साल

आन्दोलनमा सक्रिय

पञ्चायत विरोधी आन्दोलनमा बौद्धिक र रणनीतिक तवरले सक्रिय। प्रजातन्त्र पुनर्स्थापनापछि नेपाली कांग्रेसको नीति निर्माण र अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा रहेर काम।

२०५१ - २०६१ साल

सल्लाहकार/योजनाविद्

विभिन्न प्रधानमन्त्री (शेरबहादुर देउवा लगायत) को सल्लाहकार र राष्ट्रिय योजना आयोगको सदस्य भएर काम गरेको अनुभव। यसबीचमा अमेरिकाबाट व्यवस्थापनमा विद्यावारिधि र प्राध्यापन।

२०६२/६३ साल

जनआन्दोलन-२

दोस्रो जनआन्दोलनमा कांग्रेसको तर्फबाट वार्ता र सहमतिको मस्यौदा तयार पार्ने 'बौद्धिक समूह' मा सक्रिय।

२०६३ साल

अन्तरिम संसद सदस्य

माओवादी शान्ति प्रक्रियामा आएपछि पुन:स्थापित संसद र अन्तरिम व्यवस्थापिकामा सांसद मनोनित।

२०६४ साल

संविधानसभा सदस्य (पहिलो)

नेपाली कांग्रेसको तर्फबाट समानुपातिक प्रणालीमार्फत संविधानसभा सदस्य निर्वाचित। संविधान लेखनको मस्यौदा समितिमा सक्रिय।

२०६६ साल

संस्कृति तथा संघीय मामिला मन्त्री

माधव कुमार नेपाल नेतृत्वको सरकारमा 'संस्कृति, संघीय मामिला तथा संविधानसभा व्यवस्था मन्त्री'। यो समयमा संविधान निर्माणका विवादित विषय मिलाउन सक्रिय।

२०६५ - २०६९ साल

सदस्य, सेना समायोजन विशेष समिति

माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्न बनेको विशेष समितिको सदस्य। लडाकुको संख्या र दर्जा निर्धारणमा की फ्याक्टरको भूमिका निर्वाह।

२०७० साल

संविधानसभा सदस्य (दोस्रो)

दोस्रो संविधानसभा निर्वाचनमा पनि समानुपातिक तर्फबाट सभासद्। संविधान मस्यौदा समितिमा कांग्रेसको तर्फबाट मुख्य योगदान।

२०७० - २०७२ साल

सञ्चार मन्त्री तथा सरकारको प्रवक्ता

सुशील कोइराला नेतृत्वको सरकारमा सूचना तथा सञ्चार मन्त्री। २०७२ असोज ३ मा संविधान जारी हुँदा सरकारको प्रवक्ता का रूपमा महत्त्वपूर्ण भूमिका।

२०७४ साल

प्रतिनिधिसभा सदस्य (निर्वाचित)

वाम गठबन्धनको लहरका बीच मोरङ–२ बाट एमालेका ऋषिकेश पोखरेललाई हराउँदै प्रत्यक्ष तर्फबाट पहिलो पटक सांसद निर्वाचित।

२०७८ साल

रक्षा मन्त्री

शेरबहादुर देउवा नेतृत्वको सरकारमा रक्षा मन्त्री। (कार्यकाल: करिब २ महिना)

२०७८ (पुस)

महामन्त्रीमा उम्मेदवारी र राजीनामा

कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पदमा डा. शेखर कोइराला प्यानलबाट उम्मेदवारी तर पराजित। पराजयको नैतिकता लिँदै तत्काल रक्षा मन्त्रीबाट राजीनामा।

२०७९ साल

टिकट वञ्चित

प्रतिनिधिसभा निर्वाचनमा मोरङ-२ बाट टिकट पाएनन् (सुजाता कोइरालालाई टिकट दिइयो, कांग्रेस पराजित भयो)।

मीनेन्द्रप्रसाद रिजाल को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित