विरासत फर्काउने अवसर
संविधानसभा सदस्य र व्यवस्थापिका संसद्को सदस्यका रूपमा उनले झन्डै १० वर्ष नीति निर्माणको तहमा काम गरेकी छिन् ।
०००
नेपाली कांग्रेसले संविधानसभा र व्यवस्थापिका संसद्को अनुभव भएकी नेतृ किरण यादवलाई महोत्तरी-२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ ।
५ जेठ २०२४ सालमा महोत्तरीमा जन्मिएकी यादव महोत्तरीको बलवा नगरपालिका, पुर्वारीकी स्थायी बासिन्दा हुन् । नेपाली कांग्रेसको राजनीतिमा सक्रिय यादवले काठमाडौं पद्मकन्या क्याम्पसबाट स्नातक (बीए) तहसम्मको अध्ययन पूरा गरेकी छिन् ।
नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवकी भतिजी हुनुका नाताले उनलाई राजनीतिमा पारिवारिक विरासतको साथ रहे पनि उनी आफ्नै संघर्ष र सक्रियताका कारण कांग्रेसको केन्द्रीय तहसम्म पुग्न सफल नेतृ हुन् । उनी हाल नेपाली कांग्रेसको केन्द्रीय सदस्यको जिम्मेवारीमा छिन् ।
यादवको संसदीय यात्रा २०६४ सालको पहिलो संविधानसभाबाट सुरु भएको हो । त्यसपछि २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उनी महोत्तरी-२ बाट निर्वाचित भइन् । २०७० देखि २०७४ को कार्यकालमा उनले सांसदका रूपमा नयाँ संविधान जारी गर्न र आफ्नो क्षेत्रको विकास निर्माणमा अहं भूमिका निभाएकी थिइन् ।
संविधानसभा सदस्य र व्यवस्थापिका संसद्को सदस्यका रूपमा उनले झन्डै १० वर्ष नीति निर्माणको तहमा काम गरेकी छिन् ।
२०७४ को आम निर्वाचनमा भने उनी महोत्तरी–२ बाटै उम्मेदवार बने पनि लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीसँग पराजित हुन पुगिन् । पराजयका बाबजुद पनि उनी आफ्नो क्षेत्रका जनतासँगको सम्पर्क र पार्टीको सांगठनिक काममा निरन्तर सक्रिय रहिन् ।
मधेशको राजनीतिमा महिलाको उपस्थिति न्यून भइरहेका बेला किरण यादवले आफूलाई एक बलियो महिला अनुहारका रूपमा प्रस्तुत गर्दै आएकी छिन् । उनले आफ्नो कार्यकालमा महोत्तरीका ग्रामीण क्षेत्रमा शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारका क्षेत्रमा पुर्याएको योगदानलाई आफ्नो मुख्य उपलब्धिका रूपमा लिने गरेकी छिन् ।
यस पटक उनी पुनः महोत्तरी-२ बाटै चुनावी प्रतिस्पर्धामा छिन् । उनलाई यस क्षेत्रमा आफ्नो पुरानो विरासत फर्काउने चुनौती र अवसर दुवै छ । उनीसँगको मुख्य प्रतिस्पर्धामा पुरानै प्रतिद्वन्द्वी र अन्य क्षेत्रीय दलका उम्मेदवारहरू रहेका छन् ।
स्थानीय तहको निर्वाचनको मत परिणाम अनुसार महोत्तरी–२ मा कांग्रेसको संगठन बलियो मानिन्छ, जसले गर्दा यसपटक किरण यादव थप आत्मविश्वासका साथ चुनावी मैदानमा उत्रिएकी छिन् ।
पार्टी भित्र ‘लो प्रोफाइल’ तर प्रभावशाली पकड राख्ने उनी यस पटक चुनाव जितेर पुनः संसद् प्रवेश गरी मधेश र महिलाका मुद्दाहरूलाई प्रखर रूपमा उठाउने बताउँछिन् ।
अनुकूलता
- अनुभव र पहिचान
- पार्टी संगठन र विरासत
- महिला नेतृत्वको बलियो छवि
प्रतिकूलता
- अघिल्लो निर्वाचनको पराजयको प्रभाव
- कडा प्रतिस्पर्धा
- लो–प्रोफाइल राजनीतिक शैली
किरण यादव को उम्मेदवारि कस्तो लागयो ?


