पूर्वसभामुखको साख जोगाउने आस
झापामा नेकपा एमालेलाई स्थापित गर्न लामो समय काम गरेका नेतामध्ये पर्छन्, देवराज घिमिरे । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नं. २ मा दिएको पार्टीले दिएको अवसरलाई उनले विजयमा बदले ।
यो क्षेत्रबाट सांसद बन्न अग्नि खरेलले महान्यायाधिवक्ता पद छाडेर लामै तयारी गरेका थिए । तर, अन्तिम समयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनलाई नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासँग प्रतिस्पर्धा गर्न झापा–१ पठाएर २ मा घिमिरेलाई टिकट दिए ।
काठमाडौंको त्रिचन्द्र क्याम्पसमा स्नातक तहसम्म अध्ययन गरेका उनको राजनीति २०३२ सालमा को–अर्डिनेशन केन्द्रको विद्यार्थी संगठनबाट सुरु भएको थियो । उनले पाएको जनअनुमोदित हुने मौका भने यो पहिलो हो ।
२०४८ सालमा तत्कालीन पार्टी महासचिव मदन भण्डारीले घिमिरेलाई इलामको एक क्षेत्रबाट संसदमा पठाउने प्रस्ताव गरेका थिए, तर जातीय सन्तुलन नमिलाए परिणाम असहज हुने देखेपछि उनलाई उम्मेदवार बनाइएन । २०५४ सालमा उनलाई राष्ट्रिय सभामा लगियो ।
घिमिरे विद्यार्थी संगठनको जिम्मेवारीमा रहँदा २०३३ मा बुर्जुवा शिक्षा बहिष्कार अभियानमा सक्रिय भए । त्यसपछि तेह्रथुम र पाँचथरमा पार्टी संगठन विस्तारमा खटिए । इलाममा रत्नकुमार बान्तवाको हत्यापछि पूर्वमा कम्युनिस्ट आन्दोलन अघि बढाउन भूमिका खेलेको उनी बताउँछन् ।
प्रदीप नेपाल र झलनाथ खनाल केन्द्रीय राजनीतिका लागि काठमाडौं गएपछि २०३९ सालदेखि इलाममा तत्कालीन नेकपा (माले)को जिम्मेवारी घिमिरेको काँधमा आएको थियो ।
२०४७ सालमा माले र नेकपा (मार्क्सवादी)को एकीकरणबाट नेकपा (एमाले) बनेपछि २०४९ मा भएको महाधिवेशनबाट घिमिरे केन्द्रीय सदस्य बनेका थिए । राजनीति गरेको करिब ५० वर्षपछि पहिलो पटक उनी जनताबाट गत निर्वाचनमा जनअनुमोदित भएका उनी पुनः अनुमोदन हुन मैदानमा छन् ।
चुनावी अंकगणित
२०७९ सालको निर्वाचनमा घिमिरेले आफ्नो पहिलो प्रत्यक्ष चुनावी परीक्षामा सफलता हात पारेका थिए । २८ हजार ७१६ मत ल्याएका उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत नेपाल) २ हजार २६१ मतले पछाडि परे ।
यसपटक घिमिरेका अगाडि पुराना प्रतिस्पर्धी भन्दा नयाँ शक्ति र स्वतन्त्र उम्मेदवारहरूको चुनौती बलियो देखिएको छ। गत निर्वाचनमा निकटतम् प्रतिद्वन्द्वी नेपाल यसपटक पनि राप्रपाबाट उम्मेदवार छन् । रास्वपाबाट निवर्तमान उपभामुख इन्दिरा रानामगर पनि प्रतिस्पर्धामा छन् भने नेकपाबाट छापामार हुँदै स्वास्थ्य राज्यमन्त्रीसम्म बनेकी धर्मशीला चापागाईंसँगै कांग्रेसबाट सरिता प्रसाईं प्रतिस्पर्धामा छन् ।
अनुकूलता
सभामुखको रूपमा निर्वाह गरेको भूमिका र राजकीय मर्यादाका कारण उनको देशव्यापी पहिचान बनेको छ । यसले गर्दा पार्टी भन्दा बाहिरका तटस्थ मतदाताहरूको मत पनि उनले तान्न सक्ने सम्भावना छ।
झापा–२ एमालेको संगठनात्मक रूपमा बलियो क्षेत्र मानिन्छ। स्थानीय तहको मत हेर्दा एमाले यहाँ अन्य दल भन्दा अगाडि छ। अर्जुनधारा नगरपालिका र बिर्तामोडको केही हिस्सामा एमालेको बलियो पकड घिमिरेका लागि प्रमुख आधार हो।
सभामुख र प्रभावशाली नेताको हैसियतले यस क्षेत्रमा भौतिक पूर्वाधार र विकासका योजनाहरू ल्याउन उनले खेलेको भूमिकालाई मतदाताले सकारात्मक रूपमा लिएका छन्।
प्रतिकूलता
रास्वपाबाट उम्मेदवार बनेकी घिमिरे कार्यकालकै उपसभामुख रानामगर उनका लागि सबैभन्दा ठूलो चुनौती हुन्। बिर्तामोड र अर्जुनधारा जस्ता सहरी क्षेत्रका युवा मतदाताहरूमा जेनजी आन्दोलनपछि बदलिएको मनस्थितिले एमालेको भोट बैंकमा राम्रै धक्का लाग्न सक्छ।
नयाँ उम्मेदवारहरूले 'पुराना अनुहार' विरुद्ध अभियान चलाइरहेका छन्। यसले परम्परागत पार्टीहरूप्रति असन्तुष्ट रहेको मत घिमिरेलाई जानबाट रोक्नेछ। सँगै, टिकटमा दाबेदारीका कारण एमालेको एउटा पंक्ति असन्तुष्ट रहेको सन्दर्भमा उनलाई पार्टीभित्रैको मत जोगाउन पनि चुनौती हुनेछ ।
देवराज घिमिरेका लागि यो निर्वाचन 'साख जोगाउने' लडाइँ हो। सभामुख भइसकेको व्यक्तिका लागि यो जितले उनको राजनीतिक उचाई अझ थप्नेछ भने हारले पार्टीभित्रको भविष्यमा प्रश्न उठ्न सक्छ। एमालेको 'क्याडर भोट' जोगाउनु र रास्वपातिर मोडिन खोजेको 'युवा मत' लाई आफ्नै पक्षमा राख्नु नै घिमिरेको जितको मुख्य साँचो हुनेछ।
Battleground Analysis
अनुकूलता
- सभामुखको उचाइ: राज्यको चौथो वरियतामा पुगेको 'हाइ प्रोफाइल' व्यक्तित्व।
- संगठन: एमालेको गढ (अर्जुनधारा र बिर्तामोड) मा बलियो पकड।
- विकास: सभामुख हुँदा ल्याएका योजना र बजेटको प्रभाव।
प्रतिकूलता
- इन्दिरा फ्याक्टर: रास्वपाकी इन्दिरा रानामगरले सहरी र नयाँ मतदाताको भोट तान्ने उच्च जोखिम।
- स्वागत नेपालको पुनरागमन: अघिल्लो पटक २२ सय मतले मात्र हारेका स्वागत नेपाल यसपटक राप्रपा (लिङ्देनको प्रभाव क्षेत्र) बाट उठ्दा एमालेको हिन्दुवादी भोट काट्न सक्ने।
- एन्टी-इन्कम्बेन्सी: पुराना दल र नेताप्रतिको वितृष्णा।
राजनीतिक स्वभाव र शैली
संगठनका मियो
भूमिगत कालदेखि नै संगठन निर्माणमा खटेका नेता। झापा विद्रोहपछि को-अर्डिनेसन केन्द्र (कोके) र माले निर्माणमा पूर्वमा रत्नकुमार बान्तवा, सीपी मैनाली र झलनाथ खनालसँगै काम गरेको इतिहास।
लो प्रोफाइल
५० वर्ष लामो राजनीतिमा सधैं नेतृत्वको छायाँमा वा संगठनको काममा रमाउने। २०७९ मा सभामुख भएपछि मात्र उनी राष्ट्रिय चर्चामा आए।
ओलीका विश्वासपात्र
केपी शर्मा ओलीसँग लामो सहकार्य र विश्वासको सम्बन्ध। यही कारण अग्नि खरेल जस्ता 'हेभीवेट' लाई पन्छाएर उनले टिकट र सभामुखको अवसर पाए।
शालीन तर दृढ
सभामुखको भूमिकामा रहँदा प्रतिपक्षीको कडा आलोचना खेपे पनि संसद चलाउन देखाएको धैर्यता र अडान।
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| २०५६ साल | राष्ट्रियसभा |
|
||||
| २०७९ साल | झापा-२ | भद्रप्रसाद नेपाल (स्वागत) | २६४३६ | २८,६९७ | २२६१ |
|
राजनीतिक टाइमलाइन
विद्यार्थी राजनीति
२०३२: को-अर्डिनेसन केन्द्र (कोके) को विद्यार्थी संगठनबाट राजनीति सुरु। २०३३: बुर्जुवा शिक्षा बहिष्कार अभियानमा सक्रिय।
भूमिगत राजनीति
भूमिगत राजनीति। तेह्रथुम, पाँचथर र इलाममा पार्टी संगठन विस्तार। रत्नकुमार बान्तवाको हत्यापछि इलामको कमान्ड सम्हालेको।
केन्द्रीय सदस्य निर्वाचित
नेकपा (एमाले) को पाँचौं महाधिवेशनबाट केन्द्रीय सदस्य।
पहिलो संसदीय इनिङ
राष्ट्रिय सभा सदस्य (पहिलो संसदीय इनिङ)।
प्रदेशको नेतृत्व
एमाले प्रदेश १ (कोशी) को इन्चार्ज।
पहिलो प्रत्यक्ष चुनाव
झापा–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित (पहिलो प्रत्यक्ष चुनाव)।
सभामुख निर्वाचित
प्रतिनिधिसभाको सभामुख निर्वाचित।
फेरि जनताकोमा
साख जोगाउने चुनौती सहित झापा–२ मा पुनः उम्मेदवार।
देवराज घिमिरे को उम्मेदवारि कस्तो लागयो ?

