अपूरो संसदीय जिम्मेवारी पूरा गर्ने धोको
विद्यार्थी राजनीतिबाट उदाएका बर्तौलासँग पार्टी संगठन र संसदीय अभ्यासको अनुभव छ ।
०००
नेकपा एमालेबाट मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् महेश बर्तौला । एमाले केन्द्रीय सदस्य बर्तौला दोस्रो पटक उम्मेदवार बनेका हुन् ।
४३ वर्षीय बर्तौला मकवानपुरकै स्थायी बासिन्दा हुन् । विद्यार्थी राजनीतिबाट उदाएका उनी पार्टी संगठन र संसदीय अभ्यासको अनुभव उनीसँग छ ।
२०५३ सालमा कालिका माध्यमिक विद्यालय, नामटारमा कक्षा ७ मा अध्ययनरत रहँदै अनेरास्ववियुको प्रारम्भिक कमिटी अध्यक्ष बनेसँगै उनी सक्रिय राजनीतिमा प्रवेश गरे ।
बर्तौलाले अनेरास्ववियु मकवानपुर जिल्ला अध्यक्षका रूपमा दुई कार्यकाल जिम्मेवारी सम्हाले । मकवानपुर बहुमुखी क्याम्पसमा स्ववियु सदस्य हुँदै २०६२-२०६५ सालमा स्ववियु सभापतिको भूमिका निभाएका बर्तौला २०६५ सालमा अनेरास्ववियुको केन्द्रीय राजनीतिमा प्रवेश गरे ।
केन्द्रीय सदस्य, सचिव, उपाध्यक्ष हुँदै कार्यबाहक अध्यक्षसम्मको जिम्मेवारी निर्वाह गर्दै उनी राष्ट्रियस्तरको विद्यार्थी नेतृत्वमा स्थापित भए । स्वतन्त्र विद्यार्थी युनियन काउन्सिल नेपालका राष्ट्रिय अध्यक्षका रूपमा समेत उनले भूमिका निर्वाह गरे ।
विद्यार्थी राजनीतिसँगै बर्तौला २०६३ सालमै नेकपा एमाले मकवानपुर जिल्ला कमिटी सदस्य बने । २०७६/२०७७ मा बागमती प्रदेश कमिटी सदस्य हुँदै उपमहासचिवको जिम्मेवारी पाए ।
एमाले-माओवादी एकताको समयमा बनेको नेकपामा केन्द्रीय सदस्य बने । २०८० सालमा एमालेबाट मनोनीत केन्द्रीय सदस्य बनेका बर्तौला २०८२ सालमा सम्पन्न एमाले ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य बने ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर-२ बाट निर्वाचित बर्तौलाले संसद् भित्र महत्त्वपूर्ण जिम्मेवारी सम्हाले । एमाले सचेतक, मुख्य सचेतक हुँदै सरकारको प्रमुख सचेतकको भूमिकामा रहेर उनले संसदीय व्यवस्थापन र विधायकी प्रक्रियामा अनुभव हासिल गरे ।
कानुन, न्याय तथा मानव अधिकार समिति सदस्य तथा प्रतिनिधिसभा-राष्ट्रिय सभा संयुक्त समितिको सदस्यका रूपमा उनले कानुन निर्माण र संसदीय निगरानीमा सक्रिय भूमिका निर्वाह गरे ।
व्यवस्थापन र राजनीतिशास्त्रमा स्नातकोत्तर तथा विधिशास्त्र (एलएलबी) उत्तीर्ण बर्तौला नीति, कानुन र संसदीय प्रक्रियामा दख्खल राख्ने नेतामा पर्छन् ।
बर्तौलाले संयुक्त राष्ट्रसंघको महासभा (अमेरिका), अन्तर-संसदीय संघको सभा (जेनेभा), संसदीय अध्ययन भ्रमण (बेलायत) तथा चीन, भारतलगायत देशहरूमा विकास र राजनीतिक अध्ययन भ्रमण गरेका छन् ।
अनुकूलता
· दृढ राजनीतिक अनुभव
· शैक्षिक योग्यता र विधिक दख्खल
· अन्तर्राष्ट्रिय अनुभव
प्रतिकूलता
· स्थानीयसँगको साक्षात्कार कम
· अत्यधिक परम्परागत पार्टी पृष्ठभूमि
· प्रमुख नेतृत्व जिम्मेवारीमा केन्द्रित
महेशकुमार बर्तौला को उम्मेदवारि कस्तो लागयो ?


