जित दोहोर्याउने चाहना, मत जोगाउने चुनौती
१ चैत २०३२ मा शुक्ला–८, तनहुँमा जन्मिएका प्रदीप पौडेलको बसोबास हाल काठमाडौंको बानियाँटारमा छ । सिद्धार्थ वनस्थली इन्ष्टिच्यूटबाट एसएलसी, अमृत साइन्स क्याम्पस (अस्कल)बाट स्नातक र त्रिविबाट स्नातकोत्तर तह पूरा गरेका उनी नेपालका अन्य धेरै नेताजस्तै विद्यार्थी आन्दोलनबाट राजनीतिमा आएका हुन् ।
पौडेल २०५३ सालमा अस्कल क्याम्पसको स्ववियू सभापति र २०६४ मा नेविसंघको केन्द्रीय अध्यक्ष निर्वाचित भए । २०५९ देखि २०६३ सालसम्म संयुक्त विद्यार्थी आन्दोलनको संयोजक रहेका उनले राजद्रोहको मुद्दा पनि खेपे ।
पौडेल लोकतन्त्र, शान्ति, सुशासन र मानवअधिकारको क्षेत्रमा क्रियाशील विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय संस्थाहरूमा पनि आबद्ध छन् । एक विद्यालय, एक पुस्तकालय; सार्वजनिक विद्यालय सुधार, हरेक विद्यालय इन्टरनेट एवं ई–लाइब्रेरी अभियानमा लागेर उल्लेख्य संख्यामा गरिब तथा जेहेन्दार विद्यार्थीको लागि छात्रवृत्ति र शैक्षिक सामग्री जुटाएको उनी बताउँछन् ।
संविधानलेखनमा भएको ढिलाइविरुद्ध भएको मेची–महाकाली अभियान, महाभूकम्पपछिको उद्धार तथा पुनर्स्थापना अभियान, युवा उद्यमशीलता अभियान, नेपाली कांग्रेसलाई प्रविधिमैत्री बनाउन डिजिटल एप र कोरोना संक्रमितका लागि प्लाज्मा एप बनाउनेमा नेतृत्वदायी भूमिका खेलेको पौडेलको दाबी छ ।
२०६७ बाट लगातार तेस्रो कार्यकाल केन्द्रीय सदस्य रहेका पौडेल कांग्रेसको चौधौं महाधिवेशनमा महासचिवको प्रत्यासी बनेर हारे । पार्टीभित्र प्रश्न गर्दै आएका पौडेल विशेष महाधिवेशनबाट महामन्त्रीमा विजयी भएका छन् । पार्टीभित्रको सफलतालाई मतदाताबाट अनुमोदन गर्न र जितलाई निरन्तरता दिन उनी यसपटक पनि काठमाडौं-५ बाट चुनावी मैदानमा छन् ।
२०७९ सालको निर्वाचनमा तत्कालीन सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका पौडेलले एमाले नेता ईश्वर पोखरेललाई झन्डै ५ हजारको मतान्तरले पराजित गरेका थिए । भैलै पोखरेलले राप्रपासँग चुनावी तालमेल गरेका थिए । यसपटक पौडेल र पोखरेल दुवैसँग कुनै गठबन्धनको मत छैन ।
उनी २०७० सालको निर्वाचनमा तनहुँबाट प्रदेश सभा सदस्यमा ६ मतले पराजित भएका थिए ।
राम्रो छवि बनाएका नेपालका युवा नेताहरूमध्येका एक प्रदीप पौडेललाई आसन्न चुनावमा आफूप्रतिको समर्थनलाई मतमा बदल्ने चुनौती छ । यसपटक पनि उनले एमालेका ईश्वर पोखरेललाई नै प्रतिस्पर्धी पाएका छन् । साथमा, रास्वपाका सस्मित पोखरेल, उज्यालो नेपालका श्री गुरुङ, राप्रपाका कमल थापा लगायतका प्रतिस्पर्धीहरू पनि मैदानमा छन् ।
प्रदीप पौडेल को उम्मेदवारि कस्तो लागयो ?


