Home Candidate सुलभ खरेल

वकालतबाट राजनीतिमा

रूपन्देही - २ उम्मेदवार

सुलभ खरेल

राष्ट्रिय स्वतन्त्र पार्टी
पुरुष , २८ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

नेपाल ल क्याम्पस, काठमाडौंमा पढ्दा दुई वर्ष जति नेकपा (एमाले) निकट अनेरास्ववियूमा आवद्ध थिए, सुलभ खरेल। २०५४ साल भदौमा जन्मेका उनी बुटवल उपमहानगरपालिका–१६ का स्थायी बासिन्दा हुन्।

रूपन्देहीबाटै एसएलसी उत्तीर्ण खरेलले प्लस टुमा विज्ञान पढे। नेपाल ल क्याम्पसबाट पाँचवर्षे बीए–एलएलबी सकेपछि चार वर्ष वकालत गरे। प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याएर पूर्ण छात्रवृत्तिमा एलएमएल पढ्ने अवसर पाए।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन विरुद्ध रिट दायर गरे। त्यतिबेला उनी सबैभन्दा कान्छो रिट निवेदक भनेर चिनिएका थिए। निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका एक दर्जनभन्दा बढी संघीय सांसदहरूलाई जरिवाना तिराउने निर्णय गर्दा खरेलले त्यस विरुद्ध रिट निवेदन दिए।

त्यसपछि संवैधानिक कानूनमा एकवर्षे स्नातकोत्तर गर्न उनी अमेरिका गए। नेपाल फर्किएपछि राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिए। रास्वपा सभापति रवि लामिछानेमाथि लागेको सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा जस्ता विषयमा कानूनी परामर्श दिए।

गत कात्तिकका लागि रूपन्देही–३ मा उपनिर्वाचनको मिति घोषणा भएपछि रास्वपाले उम्मेदवारको नाम आह्वान गर्‍यो। खरेल सहित नौ जना प्रारम्भिक निर्वाचनमा परे।

गत भदौ २३ र २४ को जेनजी विद्रोहका बेला खरेल विवाद र चर्चामा आए। न्यायाधीशमाथि आक्रमण गर्नुपर्ने र सर्वोच्च अदालत जलाउनुपर्ने भनेर ह्वाट्स एप मार्फत एसएमएस आदानप्रदान गरेको आरोप लाग्यो। खरेल आफूविरुद्ध झुटो प्रचार भएको दावी गर्छन्।

गत मंसिर १७ गते भ्रष्टाचार मुद्दा लागेको मान्छेले पनि चुनाव लड्न पाउनुपर्ने माग गर्दै गेहेन्द्र मल्लले प्रधानमन्त्री कार्यालय विरुद्ध रिट दायर गरेका थिए। रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ हुँदा बहस गर्न पुगेका खरेललाई प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले ‘न्यायाधीशको घर जलाउन जानुपर्छ भन्दै भीड उराल्ने मान्छे, इजलास जल्दा हर्षबढाइँ गर्ने मान्छे यही इजलासमा कसरी बहस गर्न आउन सक्नुहुन्छ ?’ भन्दै बहस गर्न नपाइने तर्क गरे। त्यसपछि खरेल इजलासमै ढले। यो घटनाले खरेल थप चर्चामा आए। यसबारे अनलाइनखबरको जिज्ञासामा उनले भने, ‘त्यो मेसेजको कुरा फेक हो, सत्य भएको भए त म यतिबेला जेलमा हुन्थें नि!’

रूपन्देही–२ मा शुरुमा रास्वपाका वरिष्ठ नेता बालेन शाहको कोटाबाट आशिष सुवेदीलाई टिकट दिइएको थियो। उम्मेदवार दर्ताको अघिल्लो राति खरेलले टिकट पाएपछि सुवेदीलाई ‘ब्याक’ गराइयो।

सुवेदीले टिकट पाउँदा पार्टीभित्र असन्तुष्टि थियो। खरेलले पाउँदा पनि एकथरी सन्तुष्ट छैनन्। पार्टीका लागि आफ्नो क्षेत्रमा पार्टी संगठन बनाउन योगदान नगरेका तर सभापतिसँग निकट भएकै आधारमा टिकट पाएको असन्तुष्टहरूको दाबी छ।

खरेलले रूपन्देही–२ बाट जित्दै आएका एमाले उपाध्यक्ष विष्णु पौडेल, कांग्रेसका चुन्नप्रसाद पौडेल, नेपाली कम्युनिष्ट पार्टीका विश्वदीप पाण्डे लगायत उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैछन्। प्रत्यक्षमा एमालेका पौडेल निर्वाचित भएको यो क्षेत्रमा समानुपातिकमा रास्वपाले २५ हजार ६७३ भोट ल्याएको थियो। एमालेले २१ हजार १८३ र कांग्रेसले १३ हजार ४५० मत पाएको थियो।  

–टोपराज शर्मा

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

सुलभ खरेल को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित