४२ वर्षदेखिको पार्टी त्यागेर रास्वपाबाट उम्मेदवारी
लामो समयसम्म नेपाली कांग्रेसको राजनीति गर्दै आएका विक्रम खनाल परिचित र अनुभवी राजनीतिकर्मी हुन् । २०२७ सालमा जन्मिएका नवलपरासी बर्दघाट नगरपालिका–१०, ध्रुवटोलका खनालले स्नातकोत्तर गरेका छन् ।
खनालको राजनीतिक यात्रा २०४० सालमा दाउन्नेदेवी मावि, बर्दघाटको नेविसंघ इकाई समितिबाट शुरु भयो । २०४४ सालदेखि कांग्रेसमा सक्रिय उनी महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य हुँदै पछिल्लो समय लुम्बिनी प्रदेशको महामन्त्री थिए ।
२०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा खनाल साविक नवलपरासी–५ बाट निर्वाचित भएका थिए । त्यतिबेला उनले एमालेका दिपेन्द्रकुमार अधिकारीलाई १ हजार ७८१ मतले पराजित गरेका थिए ।
२०७४ सालमा प्रदेश सभातर्फ नवलपरासी–१ (१) मा उठ्दा खनाललाई एमालेका उनै अधिकारीले २ हजार ४ मतले पराजित गरे ।
२०७९ सालको निर्वाचनमा खनाल टिकटका दावेदार थिए । कांग्रेसले उद्योगपति विनोद चौधरीलाई उठायो । आफ्नै पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै कांग्रेसले कारबाही गरेको थियो । फागुन २१ को निर्वाचन घोषणा भएपछि बल्ल पार्टीले कारबाही फुकुवा गर्यो ।
खनाल जिल्लामा डा. शेखर कोइराला पक्षका प्रमुख नेताका रूपमा परिचित थिए । चार दशकभन्दा बढी समय कांग्रेस राजनीतिमा बिताएका खनालले अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टी रोजेका छन् ।
२०७९ मा समानुपातिकतर्फ कांग्रेसले २३ हजार ५१५, एमालेले १७ हजार १७२ ल्याउँदा रास्वपाले १० हजार ७१८ मत पाएको थियो ।
विक्रम खनाल को उम्मेदवारि कस्तो लागयो ?



