Home Candidate गिरिराजमणि पोखरेल

चौथो जित निकाल्ने दाउ

महोत्तरी - १ उम्मेदवार

गिरिराजमणि पोखरेल

नेपाली कम्युनिस्ट पार्टी
पुरुष , ६८ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

लामो समयदेखि महोत्तरी–१ लाई आफ्नो कार्यक्षेत्र बनाएका पोखरेल यसपटक पनि सोही क्षेत्रबाट प्रतिनिधिसभामा उम्मेदवार बनेका छन् ।

०००

दुई पटक चुनाव जितिसकेका र मन्त्रीसमेत भइसकेका नेता गिरिराजमणि पोखरेललाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले यस पटक पनि महोत्तरी-१ को उम्मेदवार बनाएको छ ।

२०१५ साल फागुन २४ गते खोटाङको खार्पामा जन्मिएका पोखरेल महोत्तरी, बर्दिवास–३ का स्थायी बासिन्दा हुन् । ‘राल्फा’ आन्दोलनको प्रभावबाट २०३२ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय भएका उनले वाणिज्यशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातकसम्म अध्ययन गरेका छन् ।

२०३७ सालदेखि पूर्णकालीन राजनीतिमा होमिएका पोखरेल अनेरास्ववियुको केन्द्रीय सदस्य हुँदै २०४१ र २०४३ सालमा दुई कार्यकाल केन्द्रीय अध्यक्ष निर्वाचित भए ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (चौथो महाधिवेशन) बाट २०४३ मा केन्द्रीय सदस्य बनेका उनी जनमोर्चा नेपालको केन्द्रीय सचिवालय सदस्य र उपाध्यक्ष हुँदै पार्टी एकता प्रक्रियापछि हाल नेपाली कम्युनिस्ट पार्टीको पदाधिकारी तहमा क्रियाशील छन् ।

पोखरेलको संसदीय यात्रा २०६४ सालको पहिलो संविधानसभा निर्वाचनबाट सुरु भयो, जहाँ उनी महोत्तरी–१ बाट विजयी भए । २०७० मा देशभरि माओवादीले हार बेहोरेका बेला पोखरेलले महोत्तरीमा जित निकालेका थिए । र, २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि उनी सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भए ।

२०७९ को निर्वाचनमा भने उनी एमालेका लक्ष्मी महतो कोइरीसँग पराजित हुन पुगे ।

उनले माओवादी केन्द्रको संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी समेत सफलतापूर्वक निर्वाह गरिसकेका छन् ।

विभिन्न समयमा तीन पटक स्वास्थ्य मन्त्री र एक पटक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका पोखरेलले राजकीय भूमिकामा रहँदा केही स्मरणीय काम गरे । स्वास्थ्य मन्त्री हुँदा ‘स्वास्थ्य बीमा’को अवधारणा कार्यान्वयन र विपन्नका लागि कडा रोगको निःशुल्क उपचार सेवा विस्तारमा उनको भूमिकाको प्रशंसा हुन्छ । शिक्षा मन्त्रीका रूपमा उनले प्राविधिक शिक्षाको विस्तार र ’विद्यार्थी भर्ना अभियान’लाई तीव्रता दिएका थिए ।

राजनीतिक यात्राका क्रममा उनले धेरै पटक जेल र हिरासत भोग्नुपर्‍यो । विराटनगरबाट पक्राउ गरी काठमाडौं ल्याएर उनीमाथि राजकाजको अभियोगमा मुद्दा चलाइएको थियो भने विद्यार्थी आन्दोलनका क्रममा उनी पटक–पटक थुनामा परेका थिए ।

संसदीय राजनीतिमा स्वच्छ छवि र सादगी जीवनशैली भएका नेताका रूपमा चिनिए पनि उनी विवादमुक्त भने रहेनन् । शिक्षा र स्वास्थ्य मन्त्री हुँदा डा. गोविन्द केसीका मागहरू सम्बोधन गर्ने क्रममा भएको ढिलाइ र चिकित्सा शिक्षा विधेयकका केही प्रावधानलाई लिएर उनी आलोचनाको केन्द्रमा रहे ।

त्यस्तै, प्राविधिक शिक्षालय (सीटीईभीटी) को सम्बन्धन बाँड्ने विषयमा पनि उनीमाथि केही समय प्रश्न उठेको थियो ।

लामो समयदेखि महोत्तरी–१ लाई आफ्नो कार्यक्षेत्र बनाएका पोखरेल यसपटक पनि सोही क्षेत्रबाट उम्मेदवार बनेका छन् ।

राजनीति र कृषिलाई विशेष रुचिको क्षेत्र मान्ने उनी यस पटकको निर्वाचन जितेर पुनः मुलुकको नीति निर्माण र कार्यकारी भूमिकामा पुग्ने योजनामा छन् ।

अनुकूलता

  • लामो र निरन्तर राजनीतिक अनुभव
  • क्षेत्रमा बलियो पकड र पहिचान
  • स्वच्छ छवि र कामको ट्र्याक रेकर्ड

प्रतिकूलता

  • पछिल्लो निर्वाचनमा पराजय
  • मन्त्रीकालीन विवादहरू
  • बहुपक्षीय चुनौती

 

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

गिरिराजमणि पोखरेल को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित