परम्परागत राजनीतिभन्दा फरक मोडेल
विकास विज्ञको पहिचान बोकेका बोधनारायण श्रेष्ठ नीतिगत सुधार र परिणाममुखी राजनीतिको एजेन्डासहित धादिङ-२ मा चुनावी प्रतिस्पर्धामा छन् ।
०००
राष्ट्रिय स्वतन्त्र पार्टीबाट धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा बोधनारायण श्रेष्ठ उम्मेदवार बनेका छन् । परम्परागत राजनीतिक शैलीभन्दा विकासको मोडेल, विपद् व्यवस्थापन र नीतिगत सुधारको बहसलाई प्राथमिकतामा राख्ने व्यक्तिका रूपमा चिनिएका श्रेष्ठलाई रास्वपाले उम्मेदवार बनाएको हो ।
२०२६ सालमा धादिङ जिल्लाको तत्कालीन मैदी गाविसमा जन्मिएका श्रेष्ठ लामो समयदेखि सामाजिक र विकास क्षेत्रमा सक्रिय रहँदै आएका छन् । औपचारिक राजनीतिक पदमा भने यसअघि सक्रिय नरहे पनि उनी विगतमा नेकपा माओवादीप्रति वैचारिक आस्था राख्थे ।
केही महिनाअघि मात्र राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका श्रेष्ठ हाल पार्टीको संगठन विभाग उपप्रमुखको जिम्मेवारीमा छन् ।
ग्रामीण विकासमा स्नातकोत्तर र राजनीतिशास्त्रमा स्नातक गरेका श्रेष्ठ ‘विकास विज्ञ’ का रूपमा परिचित छन्। उनीसँग युनिसेफ नेपाल, नेपाल रेडक्रस सोसाइटीलगायत गैरसरकारी संस्थामा करिब १७ वर्ष खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) परियोजनामा काम गरेको अनुभव छ ।
जागिरका क्रममा उनले मधेश, बागमती, लुम्बिनी, गण्डकी, कोशी र कर्णाली प्रदेशका दुर्गम क्षेत्रसम्म पुगेर काम गरेका छन् । विकास संस्थामा आर्जित अनुभवलाई संघीयता कार्यान्वयन, स्थानीय तहको सशक्तीकरण र प्रभावकारी नीति निर्माणमा प्रयोग गर्नुपर्ने निष्कर्षसहित आफू प्रतिनिधिसभा निर्वाचनमा होमिएको श्रेष्ठ बताउँछन् ।
२०७२ सालको विनाशकारी भूकम्प र कोभिड-१९ महामारीका समयमा समुदायको सुरक्षा, राहत तथा स्वास्थ्य सामग्री व्यवस्थापनमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने अभियानदेखि राजमार्ग सुरक्षा, प्राथमिक उपचारसम्बन्धी अवधारणा विकास गरी दुर्घटना न्यूनीकरण र घाइतेको जीवन रक्षासम्मका जनचेतनामूलक अभियानमा उनी अग्रसर देखिएका छन् ।
श्रेष्ठ नेपाल रेडक्रस सोसाइटी धादिङका पूर्वमन्त्री, उपसभापति तथा संगठन व्यवस्थापक रहिसकेका छन् । साथै, उनी ज्वालामुखी गाउँपालिकास्थित बुढीगण्डकी क्याम्पसका संस्थापक अध्यक्षसमेत हुन् ।
‘जबसम्म नीति निर्माण गर्ने ठाउँमा सही मान्छे पुग्दैनन्, तबसम्म राम्रो योजना पनि सफल हुँदैन’ भन्ने मान्यताका आधारमा आफू राजनीतिमा प्रवेश गरेको श्रेष्ठ बताउँछन् ।
संघीय, प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्दै ऐन-कानुन निर्माणमा सघाएको अनुभव बोकेका उनी संसद्मा पुगेर विधि, थिति र परिणाममुखी राजनीतिक अभ्यास गर्न चाहन्छन् ।
अनुभव, योग्यता र स्पष्ट भिजनका कारण बोधनारायण श्रेष्ठले धादिङ-२ मा परम्परागत राजनीतिक दलहरूलाई कडा चुनौती दिनेमा राष्ट्रिय स्वतन्त्र पार्टी आशावादी देखिन्छ ।
अनुकूलता
- विकास, विपद् व्यवस्थापन र नीति निर्माणमा लामो व्यावसायिक अनुभव
- गैरसरकारी र मानवीय क्षेत्रमा काम गरेको व्यावहारिक पृष्ठभूमि
- परम्परागत राजनीतिभन्दा फरक ‘टेक्नोक्रेट’ छवि
प्रतिकूलता
- प्रत्यक्ष निर्वाचित पदमा काम गरेको अनुभव नहुनु
- नयाँ पार्टी भएकाले संगठनात्मक संरचना सीमित
- पुराना र स्थापित दलका उम्मेदवारसँग कडा प्रतिस्पर्धा
बोधनारायण श्रेष्ठ को उम्मेदवारि कस्तो लागयो ?

