
माओवादी केन्द्र स्थापना : पार्टी प्रमुख : अध्यक्ष- पुष्षकमल दाहाल प्रचण्ड
नेकपा माओवादी केन्द्रले २०६४ देखि चुनावमा भाग लिंदै आएको छ । माओ विचारधारालाई आदर्श मान्ने यो पार्टीले एक्काइसौं शताब्दीको जनवादलाई मार्गदर्शक सिद्धान्त मान्छ ।
यो पार्टीको रणनीतिक लक्ष्य समाजवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादको निर्माण गर्नु र अन्ततः साम्यवादी दिशामा अघि बढ्नु रहेको छ । २०५२ देखि १० वर्षसम्म माओवाद मान्दै गाउँबाट शहर घेर्ने रणनीतिअन्तर्गत ‘दीर्घकालीन जनयुद्ध’ र त्यसपछि १२ बुँदे विस्तृत शान्ति सम्झौता गर्दै माओवादी केन्द्र शान्तिपूर्ण राजनीतिमा अवतरित छ ।
माओवादीले भाग लिएको पहिलो चुनाव (२०६४ को पहिलो संविधानसभा) मा सबैभन्दा ठूलो शक्ति बनेको थियो । २०७० को चुनावमा तेस्रो दलमा झर्यो र २०७४ को चुनावमा पनि तेस्रो दलकै रूपमा कायम रह्यो ।
यसपटक माओवादी केन्द्र दोस्रो बन्ने लक्ष्यसहित चुनावमा होमिएको छ । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनबाट चुनावमा सहभागी माओवादी केन्द्रले प्रतिनिधिसभाको १६५ मध्ये ४३ सिटमा उम्मेदवारी दिएको छ । बाँकी क्षेत्रमा गठबन्धनका अन्य दलका उम्मेदवारलाई समर्थन गरेको छ ।
प्रदेशसभातर्फ सात प्रदेशको ३३० निर्वाचन क्षेत्रमध्ये माओवादी केन्द्रले १११ क्षेत्रमा उम्मेदवारी दिएको छ । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशितालाई आफ्नो आन्दोलनको उपलब्धि दाबी गर्ने माओवादी केन्द्रले तीन पटक सरकारको नेतृत्व गरेको छ ।
२०६४ मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, २०६८ मा डा.बाबुराम भट्टराई र २०७४ मा पुनः प्रचण्ड माओवादीबाट प्रधानमन्त्री बने । आगामी चुनावपछि प्रचण्डलाई प्रधानमन्त्रीका रूपमा माओवादी केन्द्रले अगाडि सारेको छ ।