राजनीतिक यात्रामा बास्केटबलका राष्ट्रिय खेलाडी
नेकपाले २०८२ को निर्वाचनमा बारा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा नयाँ अनुहारलाई प्राथमिकता दिएको छ । सोही रणनीतिअनुसार पार्टीले कुशवाहालाई युवा पुस्ताको प्रतिनिधित्व गर्दै उम्मेदवार बनाएको हो ।
०००
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले बारा जिल्लामा नयाँ पुस्ताका उम्मेदवारहरू अघि सारेको छ । बारा निर्वाचन क्षेत्र नम्बर ४ मा भने नेकपाले २७ वर्षीय अजय कुशवाहालाई उम्मेदवार बनाएको छ ।
राष्ट्रिय बास्केटबल खेलाडीका रूपमा परिचित कुशवाहा पहिलो पटक प्रतिनिधिसभा सदस्य पदको प्रतिस्पर्धामा उत्रिएका हुन् ।
२०५५ वैशाखमा बाराको प्रसौनी गाउँपालिका–२, बेलहियामा जन्मिएका उनी बुवा रामचन्द्रप्रसाद कुशवाहा र आमा प्रमिला कुशवाहाका छोरा हुन् ।
बुबाको राजनीतिक प्रेरणाले कम्युनिस्ट सक्रियताबाट प्रभावित हुँदै उनी सानै उमेरदेखि वामपन्थी विचारधारातर्फ आकर्षित भएका थिए ।
सोसल वर्क विषयमा स्नातक गरेका कुशवाहा सामाजिक न्याय, युवा सशक्तीकरण र समुदाय विकासका मुद्दामा स्पष्ट धारणा राख्ने युवा नेताका रूपमा चिनिन्छन् ।
हाल उनी नेकपा निकट खेलकुद महासंघका केन्द्रीय सदस्य तथा बारा–काठमाडौं सम्पर्क मञ्चका अध्यक्षको जिम्मेवारीमा छन् ।
नेकपाले २०८२ को निर्वाचनमा बारा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा नयाँ अनुहारहरूलाई प्राथमिकता दिएको छ । सोही रणनीतिअनुसार पार्टीले कुशवाहालाई युवा पुस्ताको प्रतिनिधित्व गर्दै उम्मेदवार बनाएको हो ।
राजनीतिसँगै खेलकुद क्षेत्रमा पनि कुशवाहाको छुट्टै पहिचान छ । उनी सन् २०१५ मा नेपाली राष्ट्रिय बास्केटबल टिममा समावेश भएका थिए । मात्र १६ वर्षको उमेरमा राष्ट्रिय टिममा डेब्यु गरेका उनी नेपालका सबैभन्दा कम उमेरका राष्ट्रिय बास्केटबल खेलाडीको रूपमा चिनिन्छन् ।
कुशवाहाले नेपाली टिमको प्रतिनिधित्व गर्दै २० भन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन् ।
चुनावी प्रचारका क्रममा कुशवाहाले खेल जीवनबाट सिकेका अनुशासन, टोली भावना, रणनीतिक सोच र नेतृत्व क्षमतालाई राजनीतिक यात्रासँग जोड्दै आएका छन् ।
‘कोर्टबाट संसद्सम्म’, ‘युवाको ऊर्जा, खेलाडीको जोस’ र ‘मधेशको छोरा’ लाई उनले प्रमुख प्रचार नाराको रूपमा अघि सारेका छन् । उनी नेकपाबाट जेनजी उम्मेदवार बनेका हुन् ।
अनुकूलता
- युवा र ऊर्जावान नेतृत्व
- राष्ट्रिय खेलाडीको पहिचान
- सामाजिक न्याय र युवा सशक्तीकरणमा स्पष्ट धारणा
प्रतिकूलता
- राजनीतिक अनुभवको कमी
- स्थानीय राजनीतिक नेटवर्क सीमित हुन सक्ने सम्भावना
- परम्परागत मतदाता
अजय कुशवाहा को उम्मेदवारि कस्तो लागयो ?





