निरन्तर विजयको खोजी गर्दै फेरि मैदानमा
भगवती चौधरी नेपाली राजनीतिमा नयाँ नाम होइन । उनी संघर्षबाट खारिएकी, संगठनबाट हुर्किएकी र संसद्सम्म आफ्नो उपस्थिति मजबुत बनाएकी नेतृ हुन् ।
सुनसरीको साविक औरावनी गाविस (हाल गढी गाउँपालिका) मा २०२८ साल वैशाख २ गते जन्मिएकी चौधरीको राजनीतिक चेतना निकै कम उमेरमै पलाएको हो ।
विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा अध्ययनरत रहँदा जननेता स्वर्गीय मदन भण्डारीको राजनीतिक जीवन र जनताको बहुदलीय जनवादबाट प्रभावित हुँदै २०४८ सालदेखि नै उनी कम्युनिस्ट राजनीतितर्फ आकर्षित भइन्।
तीन दशकभन्दा लामो राजनीतिक यात्रामा उनले संगठन, नीति निर्माण र कार्यकारी भूमिकाको अनुभव सँगालेकी छन्। ३० वर्षको उमेरमा, २०५८ सालमा नेकपा (एमाले) को संगठित सदस्य बनेपछि पार्टीका विभिन्न तह र जिम्मेवारीमा सक्रिय रहँदै आइन् ।
२०६४ सालमा एमाले सुनसरी जिल्ला कमिटी सदस्यमा मनोनित, २०६६ मा निर्वाचित जिल्ला कमिटी सदस्य र २०७० मा कोशी अञ्चल कमिटी सदस्य बनेकी चौधरी २०७१ सालमा पार्टीको केन्द्रीय सदस्य भइन् र त्यसयता निरन्तर केन्द्रीय राजनीतिमा सक्रिय छिन् ।
२०६४ सालको पहिलो संविधानसभामा विज्ञ सदस्यका रूपमा मनोनित भएकी उनले संविधान लेखन प्रक्रियामा भूमिका निर्वाह गरिन् । सोही कालखण्डमा झलनाथ खनाल नेतृत्वको सरकारमा वन तथा भू–संरक्षण राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्दै कार्यकारी अनुभव पनि हासिल गरिन् ।
चौधरीले एमालेको नवौँ र २०७८ सालमा चितवनमा सम्पन्न दशौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा पुनः निर्वाचित हुँदै श्रम तथा स्वरोजगार केन्द्रीय विभागको उपप्रमुख, अखिल महिला संघको केन्द्रीय सचिवालय सदस्य तथा गरिबी निवारण विभागको सचिवको जिम्मेवारी सम्हालिन्।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी-३ बाट निर्वाचित हुँदै संसद्मा प्रवेश गरेकी चौधरीले शक्तिशाली मानिएका विजय गच्छदारलाई पराजित गरिन् ।
यसअघि २०७४ को निर्वाचनमा भने उनी गच्छदारसँग झिनो मतान्तरले पराजित भएकी थिइन् । संसद् प्रवेशसँगै उनले दुई पटक गरी करिब पाँच महिना महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पाइन्।
एक छोराकी आमा चौधरी समाजशास्त्र र व्यवस्थापनमा स्नातकोत्तर पूरा गरी विद्यावारिधिको तयारीमा छिन्। उनका श्रीमान् दिनेशकुमार चौधरीको निधन भइसकेको छ। व्यक्तिगत जीवनका कठिनाइबीच पनि सार्वजनिक जीवनमा सक्रिय रहनु उनको राजनीतिक दृढताको उदाहरण मानिन्छ।
सुनसरी-३ जहाँ गढी र बर्जु गाउँपालिका, दुहवी नगरपालिका, इनरुवा नगरपालिकाको वडा नम्बर ७ तथा इटहरी उपमहानगरपालिकाका वडा ६ देखि १५ सम्म पर्छन् ।
यो विकासका हिसाबले पछि परेको क्षेत्र मानिन्छ। चौधरी समुदायको बाक्लो बसोबास रहेको यस क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, पुल, कृषि र रोजगारी जस्ता आधारभूत समस्या गम्भीर छन् । सामुदायिक विद्यालयको अवस्था कमजोर छ । स्वास्थ्य सेवा सर्वसुलभ छैन । सम्भावना हुँदाहुँदै पनि कृषि र पर्यटन व्यवसायीकरण हुन सकेको छैन र सुकुम्बासी समस्या झन् जटिल बनेको छ।
उद्यमशिलता, युवा स्वरोजगार र आत्मनिर्भरतालाई मूल नाराका रूपमा अघि सार्दै आएकी चौधरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्यलाई व्यवहारमा उतार्ने संकल्पसहित राजनीतिमा क्रियाशील छिन् ।
जेनजी आन्दोलनले उठाएका रोजगारी र आत्मनिर्भरतासम्बन्धी मागलाई संसद्मा सशक्त रूपमा उठाउने दायित्व आफ्नो भएको उनी बताउँछिन् । राज्यसत्तामा नहुँदा पनि व्यक्तिगत पहल र स्रोत–साधन प्रयोग गरेर जनताका लागि काम गरिरहेको दाबी गर्ने चौधरी गरिबी, अशिक्षा र बेरोजगारीलाई मुलुकका मूल समस्या ठान्छिन्।
हाल दुहवी नगरपालिका–२ मा स्थायी बसोबास गर्दै आएकी भगवती चौधरीका लागि सुनसरी–३ को समग्र विकास अझै अधुरो सपना हो, जसलाई पूरा गर्न उनी पुनः जनमतको यात्रामा छिन्।
अनुकूलता
- लामो संगठनात्मक अनुभव र केन्द्रदेखि स्थानीय तहसम्मको बलियो राजनीतिक सञ्जाल
- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री अनुभव
- सुनसरी–३ का सामाजिक–आर्थिक समस्यासँग प्रत्यक्ष जोडिएको स्थानीय पृष्ठभूमि
प्रतिकूलता
- विकासमा पछाडि परेको क्षेत्रका गहिरा र बहुआयामिक समस्या
- शक्तिशाली राजनीतिक प्रतिस्पर्धी र कडा चुनावी प्रतिस्पर्धा
- सीमित स्रोत–साधनबीच जनअपेक्षा पूरा गर्नुपर्ने दबाब
भगवती चौधरी को उम्मेदवारि कस्तो लागयो ?

