बन्दुक छोडेर गुलाफको फूल
पहिलो पटक संसदीय निर्वाचनमा भाग लिएको नेकपा (माओवादी) ले रोल्पामा पोलिटब्युरो सदस्य चुडामणि वलीलाई उम्मेदवार बनाएको छ।
२०१४ जेठमा जन्मिएका वली रोल्पाको गंगादेव गाउँपालिका–३, झ्यामका स्थायी बासिन्दा हुन्। २०४२ सालमा अनेरास्ववियुको विद्यार्थी एकाइ कमिटी अध्यक्ष बनेका उनले त्यसको तीन वर्षपछि नेकपा (मशाल) को सदस्यता लिए।
२०४५ मा नेकपा एकता केन्द्रको इलाका सेक्रेटरी बने। माओवादी सशस्त्र विद्रोहमा लागेका उनी २०५४ मा रोल्पाको ओतबाट गिरफ्तार भए।
२०५४ मा माओवादी रोल्पा जिल्ला सदस्य बनेका उनी २०५८ मा रोल्पा जिल्ला जनसरकार सदस्य थिए। २०६३ सालमा ‘जनमुक्ति सेना’ को बिग्रेड कमिसार, मनाङ जिल्ला इन्चार्ज, २०६५ मा माओवादी केन्द्रीय सदस्य र २०७१ मा केन्द्रीय न्याय विभाग प्रमुखको जिम्मेवारी पाए। २०७६ मा दाङको राम्रीबाट गिरफ्तार भएर ५१ दिन हिरासत बसे।
२०७७ फागुनमा सरकारसँग तीनबुँदे सहमति गरेर नेकपा शान्ति प्रक्रियामा आयो। सरकारले पार्टीमाथिको प्रतिबन्ध हटाउँदै कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहा गर्न र सम्पूर्ण मुद्दाहरू खारेज गर्ने सहमति गर्यो।
वली २४ महिना कारागार बसेर २०७८ मा रिहा भए। उनको पार्टीको नाम ‘आदर्श सी’ हो। वलीले नेपाल कम्युनिष्ट पार्टीका वर्षमान पुन, नेकपा (एमाले) का गोकुलप्रसाद घर्ती, नेपाली कांग्रेसका डा. सुदनकुमार वली, रास्वपाका बालराम थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अम्मरबहादुर थापा क्षेत्री र राष्ट्रिय जनमोर्चाका मेखबहादुर विष्टलगायतसँग प्रतिस्पर्धा गर्दैछन्।
२०७९ को निर्वाचनमा रोल्पाबाट पूर्वअर्थमन्त्री वर्षमान पुन निर्वाचित भएका थिए। पहिलो पटक चुनावमा भाग लिएका वलीले बलिया प्रतिस्पर्धीहरू पाएका छन्। लामो समय भूमिगत राजनीति गरेका उनलाई शासन सत्तामा बस्दै आएका उम्मेदवारले जस्तो आलोचना भने खेप्नु पर्दैन।
- सूर्यप्रकाश बुढामगर
चुडामणी वली को उम्मेदवारि कस्तो लागयो ?



