सैन्य र राजनीतिक फाँटका अनुभवी
दाङको बबई–४, हापुरेमा २०३३ सालमा जन्मिएका धनबहादुर मास्की विद्यार्थी जीवनमै राजनीतिमा आकर्षित भए । आईए पढ्दापढ्दै २०५२ सालमा शुरु भएको माओवादी विद्रोहमा लागे ।
सैन्य फाँटमा काम गरेका उनी २०५९ सालमा माओवादी केन्द्रीय सदस्य बने । २०६० मा जनमुक्ति सेनाको डिभिजन कमाण्डर र २०६३ मा पार्टीको पोलिटब्यूरो सदस्यको जिम्मेवारी पाए ।
शान्ति प्रक्रियामा आएपछि राजधानी केन्द्रित राजनीतिमा सक्रिय भए । त्यसपछि आफ्नै गृह जिल्लामा फर्किएर राजनीतिक तथा सामाजिक काममा लागे ।
२०७९ को निर्वाचनमा दाङ–३ (२) प्रदेश सभा सदस्यमा उम्मेदवारी दिए । सत्तारुढ गठबन्धनबाट उठेका मास्की २२ हजार ३६२ मत सहित निर्वाचित भए । २०८० जेठदेखि २०८० चैतसम्म लुम्बिनी प्रदेशको अर्थ मन्त्रालयको नेतृत्व गर्ने अवसर पाए ।
गत निर्वाचनमा दाङ–३ मा माओवादीले समर्थन गरेको कांग्रेसका उम्मेदवार दीपक गिरीले जितेका थिए । त्यतिबेला माओवादीले समानुपातिकतर्फ १० हजार ९२६ भोट पाएको थियो ।
मास्कीले माओवादी र एकीकृत समाजवादी मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवारी दिएका छन् । कांग्रेसबाट दीपक गिरी, एमालेबाट घनश्याम पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमल सुवेदी लगायत उठेका छन् ।
– प्रस्तुति : गिरिराज नेपाली
धन बहादुर मास्की को उम्मेदवारि कस्तो लागयो ?


