Home Candidate प्रेमबहादुर आले

डोटीमा ह्याट्रिक गरेका आलेलाई कैलालीमा अग्निपरीक्षा

कैलाली - ५ उम्मेदवार

प्रेमबहादुर आले

नेपाली कम्युनिस्ट पार्टी
पुरुष , ५४ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

२०५४ सालको स्थानीय निकाय निर्वाचनमा पहिलो पटक चुनावी प्रतिस्पर्धामा होमिएका प्रेमबहादुर आलेमगरका लागि २०८२ सालको प्रतिनिधिसभा निर्वाचन केवल छैटौं प्रतिस्पर्धा मात्र होइन, यो उनको राजनीतिक जीवनकै सबैभन्दा ठूलो र जोखिमपूर्ण 'जुवा' हो। 

डोटी जस्तो सुरक्षित किल्ला, जहाँबाट उनले लगातार तीन वटा संसदीय निर्वाचन (२०७०, २०७४, २०७९) जितेर 'ह्याट्रिक' गरेका थिए, त्यसलाई चटक्कै छाडेर उनी सुदूरपश्चिमको राजधानी र राजनीतिक केन्द्रविन्दु मानिने कैलाली–५ (धनगढी) मा ओर्लिएका छन्।

'डोटीका शेर' भनेर चिनिने आलेका लागि तराईको यो नयाँ मैदान कति सहज होला? के उनले आफ्नो आक्रामक शैली र 'एक्सन मन्त्री' को छविले धनगढीका सहरी र थारु मतदातालाई रिझाउन सक्लान्? वा डोटी छाड्नु उनका लागि महँगो सावित हुनेछ?  जवाफका लागि चुनावी नतिजा कुर्नुपर्नेछ । 

डोटीदेखि सिंहदरबारसम्मको यात्रा

डोटीको साविक छतिवन गाविस–९ रुपसकाँडामा २०२८ सालमा बुवा टेकबहादुर र आमा गंगादेवी आलेको कोखबाट जन्मिएका प्रेम आलेको राजनीतिक उदय रोचक छ। २०४६ सालमा बहुदल आएपछि नेपाली कांग्रेसमा आबद्ध भई राजनीति सुरु गरेका आलेको झुकाव छिट्टै कम्युनिस्ट विचारधारातर्फ मोडियो। 

२०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको ९ महिने एमाले सरकारको जनमुखी कामबाट प्रभावित भई आफू एमालेमा लागेको उनी बताउँछन्। यद्यपि, उनका पूर्वसहकर्मीहरूका अनुसार, उनी २०५४ सालको स्थानीय निर्वाचनको संघारमा एमाले प्रवेश गरेका थिए।

२०५४ सालमा तत्कालीन जिल्ला विकास समिति (जिविस) सदस्य निर्वाचित भएपछि आलेले पछाडि फर्केर हेर्नुपरेन। जिविस सदस्य हुँदै एमाले डोटीको जिल्ला कमिटी सदस्य, दुई पटक उपसचिव र आठौं महाधिवेशनमा राष्ट्रिय प्रतिनिधि परिषद सदस्य बनेका उनी नवौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए। 

संगठन निर्माणमा खट्ने र जनताका सानातिना काममा पनि आफैं उपस्थित हुने उनको बानीले डोटीमा एमालेको बलियो जग बसाल्न मद्दत गर्‍यो।

संसदीय राजनीतिका 'अपराजित' खेलाडी

संसदीय राजनीतिमा आलेको रेकर्ड लोभलाग्दो छ। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पहिलो पटक डोटी–१ बाट निर्वाचित भएका उनले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनको बलमा शानदार जित निकाले। 

२०७९ को निर्वाचनमा एमाले विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) बाट उम्मेदवार बन्दा पनि उनले आफ्नो विरासत जोगाए। एमालेको गढ मानिने डोटीमा 'कलम' चिन्ह लिएर जित्नु चानचुने कुरा थिएन, जसले उनको व्यक्तिगत लोकप्रियतालाई पुष्टि गर्‍यो।

तर, २०८२ सम्म आइपुग्दा परिस्थिति फेरिएको छ। माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका दलहरू मिलेर बनेको 'नेपाल कम्युनिष्ट पार्टी' (नेकपा) को ब्यानरमा पाँचकुने तारा चिन्ह लिएर उनी मैदानमा छन्। र, मैदान पनि फेरिएको छ- पहाडबाट तराई।

चर्चा र विवादका पर्याय

प्रेम आले नेपालको राजनीतिमा सायद सबैभन्दा बढी चर्चा र विवादमा आउने पात्र हुन्। ५ पुस २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दा सुरुमा विघटनको पक्षमा उभिएका आले वनमन्त्री बने। वनमन्त्री हुँदा वैज्ञानिक वन व्यवस्थापन खारेजी लगायतका निर्णयले उनी विवाद र चर्चामा आए। तर, दोस्रो पटक संसद विघटन हुँदा उनी कित्ता परिवर्तन गरेर शेरबहादुर देउवाको पक्षमा उभिए।

देउवा सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएपछि आलेको चर्चा शिखरमा पुग्यो। नारायणहिटी दरबार संग्रहालयमा बतास समूहको क्यान्टिन हटाउने, पशुपति धर्मशाला प्रकरणमा एक्सन लिने र क्यासिनोहरूलाई कर तिराउन बाध्य पार्ने उनका निर्णयहरूले उनलाई 'एक्सन मन्त्री' को उपाधि दिलायो। 

तर, सोही समयमा नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षसँगको अश्लील गालीगलौजसहितको अडियो सार्वजनिक हुनु र सार्वजनिक कार्यक्रमहरूमा दिने विवादास्पद अभिव्यक्तिले उनको आलोचना पनि उत्तिकै भयो। उनी कामले जति प्रशंसा बटुल्थे, बोलीले उत्तिकै विवाद निम्त्याउँथे।

नयाँ रणभूमिमा चुनौतीका चाङ

कैलाली–५ (धनगढी क्षेत्र) सुदूरपश्चिमको 'हट सिट' हो। यहाँ विगतमा आरजु राणा देउवा, नारद मुनि राना र पुष्कर नाथ ओझा जस्ता हस्तीहरूले चुनाव लडेको इतिहास छ। २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका डिल्ली राज पन्त (२१,३९२ मत) ले एमालेका नारद मुनि राना (२०,३१८ मत) लाई झिनो मतान्तरले हराएका थिए। स्वतन्त्र उम्मेदवार पुष्कर नाथ ओझाले ८ हजार भन्दा बढी मत काटेका थिए।

यसपटक (२०८२) को समीकरण झनै पेचिलो छ। आलेका मुख्य प्रतिस्पर्धीहरू छन्- एमालेका यज्ञराज ढुंगाना जो पार्टीको बलियो संगठनसहित छन् भने एमाले पंक्तिमा आलेले पार्टीलाई धोका दिएको भन्ने तुष बाँकी नै छ । 

कांग्रेसबाट नर नारायण शाह बदलिएको कांग्रेसको नारासहित पार्टीको जित जोगाउन चाहन्छन् । आरजु राणाको प्रभाव क्षेत्र भएकाले कांग्रेस यहाँ कमजोर छैन।

उता, २०७९ मा ३,४०५ मत ल्याएको रास्वपाले आनन्द बहादुर चन्दलाई सहरी क्षेत्रको सकारात्मक माहोलका बीच उतारेको छ । जेनजी आन्दोलनपछि नयाँ पुस्तामा देखिएको पुराना दलप्रतिको वितृष्णाको फाइदा चन्दलाई पुग्न सक्छ।

थारु र मधेसी मत तान्न नागरिक उन्मुक्ति र जनमत पार्टीका उम्मेदवारहरूले पनि राम्रै कसरत गरिरहेका छन्।

आलेका अनुकूलता

कैलाली–५ मा डोटीबाट बसाइँ सरेर आएका मतदाताहरूको संख्या ठूलो छ। 'डोटेली नाता' र आफ्नो पुरानो सम्पर्क सूत्र प्रयोग गरेर आलेले यो मत तान्न सक्छन्। ‘डोटी डायस्पोरा’ फ्याक्टरले आलेको अनुकूलता बढाउन सक्छ ।  

मन्त्री हुँदा धनगढी विमानस्थलको स्तरोन्नति र गेटा मेडिकल कलेज सञ्चालनका लागि गरेको पहललाई उनले चुनावी मुद्दा बनाएका छन्। जनताले 'काम गर्ने नेता' खोजिरहेको बेला उनको ‘एक्सन नेता’को छवि सहयोगी बन्न सक्छ।

आले चुनाव परिचालन र व्यवस्थापनमा माहिर मानिन्छन्। साम, दाम, दण्ड, भेद सबै प्रयोग गर्न सक्ने नेताको रूपमा उनको छवि छ।

प्रतिकूलता 

डोटी छोडेर कैलाली आउँदा उनलाई विपक्षीले 'पर्यटक उम्मेदवार' को ट्याग लगाइरहेका छन्। धनगढीका स्थानीय समस्यासँग उनी कति भिज्छन् भन्ने प्रश्न छ।

एमालेबाट एकीकृत समाजवादी, र अहिले फेरि नयाँ नेकपा। छिटो–छिटो कित्ता फेर्ने उनको बानीले मतदातामा अविश्वास पैदा गर्न सक्छ।

एमाले र कांग्रेसको जस्तो बलियो र व्यवस्थित संगठन उनको नयाँ पार्टी नेकपासँग छैन। माओवादीको मत आधार यहाँ कमजोर देखिन्छ । 

एमाले नेतृत्व र कार्यकर्ता आलेलाई 'सबक सिकाउन' चाहन्छन्। एमालेको 'कोर भोट' तान्नु त परको कुरा, उल्टै उनलाई रोक्न एमालेले रणनीतिक भोटिङ गर्न पनि पछि पर्ने छैन।

यसरी, आलेका लागि २०८२ को चुनाव राजनीतिक अस्तित्व रक्षाको लडाइँ हो। डोटीमा सुरक्षित जित सुनिश्चित हुँदाहुँदै जोखिम मोलेर कैलाली झर्नुलाई धेरैले उनको अति-महत्वाकांक्षा वा बाध्यताको रूपमा विश्लेषण गरेका छन्।

यदि उनले कैलाली–५ जिते भने उनी सुदूरपश्चिमको बलियो नेताको रूपमा स्थापित हुनेछन् र राष्ट्रिय राजनीतिमा उनको बार्गेनिङ पावर बढ्नेछ। तर, पराजित भएमा उनको 'ह्याट्रिक' को ह्याङ्गोवर मात्र सकिने छैन, अस्थिर राजनीतिक चरित्रका कारण उनको राजनीतिक भविष्य नै संकटमा पर्न सक्छ। 

धनगढीको गर्मीमा भइरहेको यो चुनावी महाभारतमा प्रेम आले 'अर्जुन' बन्छन् कि 'अभिमन्यु', त्यसको छिनोफानो चुनावी नतिजाले गर्नेछ।

 

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

प्रेमबहादुर आले को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित