जुम्लामा कांग्रेसको दियो बाल्दै दीपबहादुर
२२ साउन २०२२ मा जुम्लामा जन्मिएका दीपबहादुर शाही राजनीतिमा लागेको लामै समय भयो । तर, संसदीय राजनीतिमा भने पहिलो परीक्षा दिँदैछन् । यो सम्भव भएको हो, १ माघमा सम्पन्न नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट ।
उनी विशेष महाधिवेशनको पक्षमा खुलेर लागेका थिए । पार्टीको तत्कालीन संस्थापन पक्षले विशेष महाधिवेशनलाई अवैधानिक भनिरह्यो, तर, विशेष महाधिवेशन पक्षधर रोकिएनन् ।
२७ पुसदेखि सुरु भएको विशेष महाधिवेशन १ माघमा गगनकुमार थापालाई पार्टी सभापति चयन गर्दै सकियो । त्यसपछि दुवै पक्ष निर्वाचन आयोग पुगे । आयोगले ४ माघमा विशेष महाधिवेशन विधानको व्यवस्थाअनुसार नै आयोजना भएको भन्दै वैधानिकता दिएपछि कांग्रेस पार्टीको आन्तरिक जीवनमा ठूलै फरबदल हुन पुग्यो ।
प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्ताको समय सम्मुख आइसकेको थियो । सभापति गगन र उपसभापति विश्वप्रकाश शर्मा नयाँ कांग्रेसका नयाँ उम्मेदवार खोज्दै थिए । यही मौकामा यी दुवैले दीपबहादुरमाथि विश्वास जनाए ।
नेपाली कांग्रेसको छैटौं जिल्ला अधिवेशनबाटै सभापति बनिसकेका थिए, दीपबहादुर । प्रतिनिधिसभामा भने पहिलोपटक प्रतिस्पर्धा गर्दैछन् ।
जुम्लाको हिमा गाउँपालिकाका स्थानीय उनले हिमा गाउँपालिकाको अध्यक्षका रूपमा दुई कार्यकाल काम गरिसकेका छन् । जुम्लाको भौगोलिक विकटता, विकासका चुनौती र आम जनताका दैनिक समस्याबारे जानकारी छ ।
शाही स्वयं पनि जुम्लाको हरेक बस्ती र त्यहाँका नागरिकका समस्यालाई नजिकबाट बुझेको बताउँछन् । उनका अनुसार प्रतिनिधिसभा सदस्यमा उनको उम्मेदवारी जिल्लाको समृद्धिका लागि हो ।
जिल्ला सभापतिको अनुभव र स्थानीय तहमा नागरिकसँगको सिधा सम्पर्कलाई मुख्य आधार बनाएर शाही मत मागरहेका छन् । पार्टीभित्रको आन्तरिक एकतालाई मजबुत बनाउँदै र विपक्षीसँगको प्रतिस्पर्धालाई सामना गर्दै चुनाव जित्ने उनको विश्वास छ ।
प्रतिनिधिसभा सदस्य भएपछि जुम्लाको विकासको एजेन्डा संघीय संसद्मा पुर्याउने उनको प्रतिवद्धता छ ।
अनुकूलता :
पार्टी राजनीतिसँगै जनप्रतिनिधिको पनि लामै अनुभव । दुई कार्यकाल स्थानीय तह प्रमुखको जिम्मेवारी पूरा गरिसकेका छन् । जिल्लाको भौगोलिक विकटता, विकासका चुनौती र आम जनताका दैनिक समस्याबारे जानकार छन् । स्थानीयसँग निकट छन् ।
प्रतिकूलता :
संसदीय राजनीतिको अनुभव छैन । विशेष महाधिवेशनपछि पार्टी नेताहरू खुलेरै अभियानमा जुटिसकेका छैनन् । अरु दलबाट पनि बलिया र प्रभावशाली उम्मेदवार चुनावी मैदानमा छन् ।
व्यक्तिगत विवरण
नाम : दीपबहादुर शाही
जन्म : २०२२ साल साउन २२ गते,
जन्मस्थान : जुम्ला
स्थायी ठेगाना : हिमा गाउँपालिका, जुम्ला
दीपबहादुर शाही को उम्मेदवारि कस्तो लागयो ?



