गगन थापाको विरासत जोगाउन मैदानमा
नेपाली कांग्रेसले काठमाडौं-४ बाट यसपटक युवा उम्मेदवारका रूपमा ३२ वर्षीय सचिन तिमल्सेनालाई अघि सारेको छ।
सचिन कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापासँग नजिक मानिन्छन् । उनले उनले गगनलाई आफ्नो जीवनकालकै सर्वश्रेष्ठ नेता मान्ने गरेका छन् । गगनले निर्वाचन लड्दै आएको यही क्षेत्रबाटै सचिनले टिकट प्राप्त गरेका हुन्।
यसै निर्वाचन क्षेत्रमा जन्मिएका सचिन आफ्नै समुदाय, समाज र परिवेशको विकास गर्ने चाहनाले राजनीतिमा प्रवेश गरेको बताउँछन्। 'आफ्नै क्षेत्रका समस्या बुझेको छु, आफ्नै ठाउँ भएकाले दिनरात काम गर्नेछु,' उनले भनेका छन्।
शैक्षिक योग्यतामा उनले त्रिभुवन विश्वविद्यालयबाट द्वन्द्व, शान्ति र विकास विषयमा स्नातकोत्तर पूरा गरेका छन्। साथै, अमेरिकाको हार्वर्ड केनेडी स्कुलबाट नेतृत्व र संगठनसम्बन्धी विशेष कोर्ससमेत पूरा गरेका छन् ।
उनको राजनीतिक चेतनाको जग पारिवारिक संस्कारसँग पनि जोडिएको छ। पिता सुरेन्द्रकुमार तिमल्सेना पाँच पटकसम्म नेपाली कांग्रेसको महासमिति सदस्य बनेका थिए भने आमा क्षेत्रीय प्रतिनिधि रहिसकेकी छिन्।
एक दशकदेखि सचिन युवा राजनीति, नागरिक स्वतन्त्रता, लोकतन्त्र र सामाजिक न्यायका मुद्दामा निरन्तर सक्रिय रहँदै आएका छन्।
२०७५ देखि २०७९ सालसम्म उनी युवा कांग्रेसका संस्थापक अध्यक्षका रूपमा कार्यरत रहेर युवालाई नारामा सीमित नराखी नीति निर्माण, सार्वजनिक बहस र लोकतान्त्रिक अभ्याससँग प्रत्यक्ष जोड्ने संरचना निर्माणमा संलग्न रहे।
तिमल्सेना एक दशकदेखि युवा राजनीति, नागरिक स्वतन्त्रता, लोकतन्त्र र सामाजिक न्यायका मुद्दामा सक्रिय रहँदै आएका छन्।
नेपाली कांग्रेस नीति ह्याकाथन २०७९ सफल बनाउने भूमिकामा उनी अगाडि थिए। जलवायु परिवर्तनसम्बन्धी नीतिपत्रहरू संसद् हुँदै पार्टीको नीति निर्माण प्रक्रियामा समावेश गराउन उनले पहल गरेका थिए।
लोकतन्त्र, महिला सहभागिता, मानव अधिकार, शान्ति र युवाका आकांक्षाबारे उनले निरन्तर बहस चलाउँदै आएका छन्। नेपालका अन्तर्राष्ट्रिय सम्बन्ध, दक्षिण एसियाली शक्ति सन्तुलन तथा सार्कको भविष्य जस्ता विषयमा पनि उनी सक्रिय वक्ता हुन्।
सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका–२०७७, निषेधित क्षेत्र घोषणा, प्रतिनिधिसभा विघटनलगायत घटनामा उनले संस्थागत तह र सडक आन्दोलन दुवै माध्यमबाट लोकतन्त्रको पक्षमा आवाज उठाएका थिए।
कोभिड–१९ महामारीका बेला ‘अक्सिजन फर नेपाल’, ‘कोभिड केयर नेपाल एप’, अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण, जनचेतनामूलक भिडियो तथा स्वास्थ्य संवादमार्फत उनले मानवीय जिम्मेवारी निर्वाह गरेका थिए। लमजुङ भूकम्प, मुग्लिन पहिरोपीडित तथा आगलागी पीडितका लागि राहत र आर्थिक सहयोगमा पनि उनी सक्रिय थिए।
राजनीतिसँगै उनी क्रिकेट कमेन्टेटरका रूपमा पनि परिचित छन्। नेपाल प्रिमियर लिग, नेपाली कमेन्ट्री, नेपाल–वेस्ट इन्डिज ऐतिहासिक शृंखलालगायत दर्जनौँ प्रतियोगितामा उनले कमेन्ट्री गरिसकेका छन्। क्रिकेट क्षेत्रका संरचनागत समस्यामाथि पनि उनले निरन्तर आवाज उठाउँदै आएका छन्।
सचिन तिमल्सेनाले आफ्नो यात्रालाई केवल चुनाव जित्ने प्रयास नभई राजनीतिक संस्कार परिवर्तन गर्ने अभियानका रूपमा लिएको बताएका छन्।
उनको उम्मेदवारीलाई राजनीतिमा नयाँ पुस्ताको प्रतिनिधित्वका रूपमा हेरिएको छ। तर एमालेका डा. राजन भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमसँगको कडा प्रतिस्पर्धा उनको प्रमुख चुनौती रहने देखिन्छ।
अनुकूलता
- नीति, अन्तर्राष्ट्रिय सम्बन्ध र लोकतान्त्रिक अभ्यासमा संलग्न
- स्थानीय पहिचान र सामाजिक सक्रियता
- गगन थापाको विरासत
प्रतिकूलता
- निर्वाचित जनप्रतिनिधिको प्रत्यक्ष अनुभवको अभाव
- एमाले र रास्वपा लगायतका उम्मेदवारसँग सिधा टक्कर
- मतदाताको अस्थिर अवस्था
सचिन तिमल्सेना को उम्मेदवारि कस्तो लागयो ?


