सामाजिक अभियन्ताबाट उदाएका नेता
उज्यालो नेपाल पार्टीका उपाध्यक्ष जितराम लामाले भक्तपुर-२ बाट उम्मेदवारी दिएका छन् । काभेपलाञ्चोक जिल्ला चौंरीदेउराली गाउँपालिका-७ स्थायी घर भए पनि लामाले लामो समयदेखि भक्तपुरलाई कर्मथलो बनाएका छन् । हाल उनी सूर्यविनायक नगरपालिका-५, भक्तपुरका बासिन्दा हुन् ।
गैरसरकारी संस्था महासंघको अध्यक्षसमेत रहेका लामाले २० वर्षदेखि शिक्षा, स्वास्थ्य र खानेपानी, सरसफाइ र खुला दिसामुक्त क्षेत्र बनाउने काममा योगदान गरेका छन् ।
‘संसद्मा भक्तपुर-२ का समस्या, जनजीविकाका सवाल सशक्त रूपमा उठाउन उम्मेदवारी दिएको हुँ,’ उनले भने, ‘शिक्षा, स्वास्थ्य, कृषि, प्रविधि, आर्थिक विकासमा योगदान दिने एजेन्डा छ । गरिब, पिछडिएको वर्गको क्षेत्रको आवाजका लागि उम्मेदवारी दिएको छु ।’
उनी व्यवस्थापन र समाजशास्त्र दुई विषयमा स्नातकोत्तर हुन् भने विपद् व्यवस्थापनमा विद्यावारिधि अध्ययनरत छन् ।
विगत तीन दशकभन्दा बढी समयदेखि सामाजिक क्षेत्रमा क्रियाशील लामाले नेपालको ग्रामीण समुदायको समग्र विकासका लागि निरन्तर योगदान दिँदै आएका छन् ।
उनले २०७२ सालको विनाशकारी भूकम्पपछिको पुनर्निर्माण प्रक्रिया तथा कोभिड–१९ महामारी नियन्त्रणका क्रममा नेपाली गैरसरकारी संघ-संस्थाहरूको प्रभावकारी परिचालनमा महत्वपूर्ण भूमिका निभाएका छन् । अन्तर्राष्ट्रिय दातृ निकायहरूसँग समन्वय गरी स्रोत व्यवस्थापन र सहकार्य सुदृढ गर्न निरन्तर पहल गरेको उनको दाबी छ ।
नेपाली नागरिक तथा सामाजिक संघ-संस्थाहरूको एक मात्र साझा संस्था गैरसरकारी संस्था महासंघ नेपालको अध्यक्षको रूपमा काम गरेको अनुभव उनीसँग छ । एसिया तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न सञ्जाल र महासंघहरूमा रही नेतृत्वदायी भूमिका निर्वाह गर्दै नेपालको नागरिक समाजको आवाज अन्तर्राष्ट्रिय मञ्चमा उनले प्रस्तुत गरेका छन् ।
राष्ट्रिय योजना आयोगअन्तर्गत राष्ट्रिय विकास परिषद्को सदस्य तथा दिगो विकास लक्ष्य कार्यान्वयन तथा अनुगमन समितिमा रहेर नेपालको समग्र विकास प्रक्रिया र योजना निर्माणमा उनले योगदान दिएका छन् ।
भक्तपुरका ग्रामीण भेगहरू नंखेल, काँक्राबारी, नैचाल, चाँगुनारायण, सुँडाल लगायतका क्षेत्रमा खानेपानी सेवा विस्तारमा प्रत्यक्ष योगदान पुर्याएको उनको भनाइ छ ।
लामो समयदेखि लेखापरीक्षकका रूपमा समेत कार्य गर्दै आएका लामाले पारदर्शिता, जवाफदेहिता र सुशासनप्रति प्रतिबद्धतालाई थप सुदृढ गराउने एजेन्डा अघि सारेका छन् ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर–२ बाट नेपाली कांग्रेसका दुर्लभ थापाले २४,२३९ मत प्राप्त गर्दै विजयी भएका थिए भने नेकपा (एमाले)का महेश बस्नेतले २३,२८२ मतसहित दोस्रो स्थान हासिल गरेका थिए ।
जितराम लामा को उम्मेदवारि कस्तो लागयो ?



