Home Candidate लक्ष्मी महताे काेइरी

‘राजनीतिक न्याय’ पाएको सन्देशसहित चुनावी प्रतिस्पर्धामा

महोत्तरी - १ उम्मेदवार

लक्ष्मी महताे काेइरी

नेकपा एमाले
पुरुष , ६१ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

अदालतबाट पूर्ण सफाइ पाएर ‘राजनीतिक न्याय’ प्राप्त गरेको सन्देशसहित कोइरी यसपटक पुनः महोत्तरी–१ बाटै चुनावी मैदानमा छन् ।

०००

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेले लक्ष्मी महतो कोइरीलाई महोत्तरी क्षेत्र नम्बर १ बाट पुन: उम्मेदवार बनाएको छ । कोइरी २०७९ को प्रतिनिधिसभा निर्वाचन यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

१६ जेठ २०२१ मा महोत्तरीको गौशाला नगरपालिका निगौलमा जन्मिएका कोइरी महोत्तरीको राजनीतिमा सधैं चर्चाको केन्द्रमा रहने नाम हो । एसएलसीसम्म अध्ययन गरेका कोइरीले व्यवसाय र समाजसेवा सँगसँगै राजनीतिलाई पनि अगाडि बढाइरहेका छन् ।

कोइरी नेपाली कांग्रेस पृष्ठभूमिका नेता हुन् । कांग्रेसको विद्यार्थी संगठन (नेविसंघ) मा २०४७ सालमा आबद्ध भएर राजनीति सुरु गरेका कोइरीले २०५४ सालमा कांग्रेस छाडे । कांग्रेस छाडेर चुनावमा भाग लिएका उनले निगौल गाविस अध्यक्षमा निर्वाचित भए ।

गाविस अध्यक्षको टिकट नपाएपछि कांग्रेस छाडेका कोइरी चुनाव जितेपछि पनि पार्टीमा फर्किएनन् । २०५९ सालमा कुशवाह समाजको केन्द्रीय कोषाध्यक्ष भएका कोइरी २०७४ मा संघीय समाजवादी फोरम प्रवेश गरे ।

उनको संसदीय यात्रा निकै चुनौतीपूर्ण र संघर्षपूर्ण रह्यो । प्रतिनिधिसभा सदस्यको टिकट पाउने सर्तमा संघीय समाजवादी फोरम प्रवेश गरेका कोइरीले २०७४ को निर्वाचनमा महोत्तरी-१ बाट प्रतिस्पर्धा गरे ।

त्यतिबेला उनले माओवादी केन्द्रका प्रभावशाली नेता तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेलसँग कडा प्रतिस्पर्धा गरे पनि पराजित हुनुपर्‍यो । तर २०७९ को निर्वाचनको पूर्वसन्ध्यामा उनी ‘सरप्राइज’ शैलीमा नेकपा (एमाले) मा प्रवेश गरे ।

एमाले–जसपा गठबन्धनको साझा उम्मेदवार बनेका कोइरीले २३ हजार ४०२ मत प्राप्त गरी पोखरेललाई १ हजार ३० मतान्तरले पराजित गरे ।

उनको राजनीतिक जीवन विकासप्रेमी छविका साथै गम्भीर कानुनी विवादका कारण पनि उत्तिकै चर्चित र उतारचढावपूर्ण रह्यो ।

२०७२ सालको मधेश आन्दोलनका क्रममा जलेश्वरमा सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा उनीमाथि कर्तव्य ज्यान मुद्दा चलाइएको थियो । उच्च अदालत जनकपुरले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका बेला उनी प्रहरीको ‘फरार सूची’ मै रहेर भूमिगत शैलीमा निर्वाचन जितेका थिए ।

निर्वाचित भएपछि प्रहरीकै आँखा अगाडि संसद्‌मा पुगेर शपथ लिएको र २०७९ पुस २६ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन पुगेको घटनाले नेपालको संसदीय इतिहासमै ठूलो बहस र विवाद सिर्जना गर्‍यो ।

सोही मुद्दाका कारण चौतर्फी दबाब परेपछि २०८० वैशाख १९ मा सभामुख देवराज घिमिरे उनलाई प्रतिनिधिसभा सदस्यबाट निलम्बन गरे ।

झन्डै सात महिनाको निलम्बन र कानुनी लडाइँपछि २०८० मङ्सिर २८ मा महोत्तरी जिल्ला अदालतले उनलाई थमन विक हत्या मुद्दा र एम्बुलेन्स आगजनी दुवैमा सफाइ (निर्दोष ठहर) दियो । अदालतबाट सफाइ पाएपछि २०८० पुस ८ मा उनको सांसद पदको निलम्बन फुकुवा भयो र उनी पुनः संसदीय भूमिकामा फर्किए ।

महोत्तरी–१ (बर्दिबास, गौशाला, औरही) मा कोइरीको पकड निकै बलियो मानिन्छ । मधेशी र पहाडी समुदायको मिश्रित बसोबास रहेको यस क्षेत्रमा उनले दुवै पक्षलाई समेटेर लैजाने सन्तुलित नेताको पहिचान बनाएका छन् । आफ्नो कार्यकालमा उनले विशेषगरी किसानका लागि डीप बोरिङ, ग्रामीण सडकको स्तरोन्नति, सामुदायिक भवन निर्माण र गौशाला स्वास्थ्य केन्द्रको स्तरोन्नतिमा महत्त्वपूर्ण पहल गरेका छन् ।

अदालतबाट पूर्ण सफाइ पाएर ‘राजनीतिक न्याय’ प्राप्त गरेको सन्देशसहित कोइरी यसपटक पुनः महोत्तरी–१ बाटै चुनावी मैदानमा छन् । पुराना प्रतिपक्षी र नयाँ राजनीतिक शक्तिका बीचमा उनी आफ्नो क्षेत्रमा ‘विकास र सुरक्षा’ को एजेन्डा लिएर पुनः विजयको खोजीमा छन् ।

अनुकूलता

  • अदालतबाट पूर्ण सफाइ
  • क्षेत्रमा बलियो जनाधार र पहिचान
  • विकासमुखी छवि र प्रत्यक्ष कामको प्रभाव

प्रतिकूलता

  • विगतका कानुनी विवादको राजनीतिक असर
  • पार्टी परिवर्तनको इतिहास
  • कडा प्रतिस्पर्धा र नयाँ राजनीतिक शक्ति
Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

लक्ष्मी महताे काेइरी को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित