विरासत सुरक्षित गर्ने लक्ष्य
माधव नेपालको निर्वाचन क्षेत्र रौतहट-१ मा नेपाल सद्भावना पार्टी पुनर्गठन गर्दै अध्यक्ष बनेका पूर्वमन्त्री अनिलकुमार झासमेत नेपाली कांग्रेस प्रवेश गरी चुनाव लड्दैछन् । जसका कारण यो क्षेत्रलाई निकै महत्वका साथ हेरिएको छ ।
०००
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्यका लागि रौतहट क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका छन् ।
नेपालको जन्म २००९ सालमा रौतहटको गौरमा भएको हो । त्रिभुवन विश्वविद्यालयबाट बीकमसम्मको अध्ययन गरेका उनले २०४७ को संविधान मस्यौदाकारका रूपमा समेत काम गरेका थिए । संविधानसभा सदस्य उनले नेकपा एमाले, एकीकृत समाजवादीको नेतृत्व सम्हालिसकेका छन् ।
माधव नेपालले नेकपा (एमाले) र चुनाव चिह्न सूर्य अघिल्लो निर्वाचन २०७९ मै छाडेका थिए । २ भदौ २०७८ मा नेकपा (एकीकृत समाजवादी) गठन गरेका उनी अहिले प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा सहसंयोजकको भूमिकामा छन् ।
नेपालको निर्वाचन क्षेत्र रौतहट-१ मा नेपाल सद्भावना पार्टी पुनर्गठन गर्दै अध्यक्ष बनेका पूर्वमन्त्री अनिलकुमार झासमेत नेपाली कांग्रेस प्रवेश गरी चुनाव लड्दैछन् । सोही कारण रौतहट–१ लाई महत्वका साथ हेरिएको छ ।
नेकपा एमालेले माधवकुमार नेपालसँग साविक प्रतिस्पर्धी अजयकुमार गुप्तालाई नै उम्मेदवार बनाएको छ । गुप्ता माधवकुमार नेपालसँग दुई पटक पराजित भइसकेका छन् ।
एमालेमा आउनु अगाडि गुप्ताले २०७० सालमा फोरम लोकतान्त्रिकबाट निर्वाचन लडेका थिए । २०७४ सालको स्थानीय तह निर्वाचनमा भने उनी तत्कालीन राष्ट्रिय जनता पार्टीबाट गौर नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा भने गुप्ता लोकतान्त्रिक समाजवादी फोरमबाट निर्वाचन लडेका थिए । यस पटक माधवकुमार नेपालको भिडन्त स्थापित पार्टीसँग मात्र नभई नयाँ शक्तिहरूसँग समेत हुनेछ । राष्ट्रिय स्वतन्त्र पार्टीले उनको क्षेत्रमा राजेश चौधरीलाई टिकट दिएको छ ।
एमालेका तत्कालीन दृढ नेताको अस्थिर वर्तमान
२०४८ सालयता एमाले र सूर्यलाई बलियो गरी स्थापित गराउने अगुवा नेतामध्ये एक हुन्, माधवकुमार नेपाल । एमाले निर्माणको जग भने २०३२ मा गठित अखिल नेपाल को–अर्डिनेसन केन्द्र (कोके) हो, जसका संस्थापकमध्ये एक हुन्, नेपाल । कोकेकै प्रयासस्वरूप २०३५ सालमा नेकपा (माले) बनेको थियो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक पुष्पलाल श्रेष्ठको लिगेसी बोकेको नेकपा (मार्क्र्सवादी) सँगको एकताबाट २०४७ मा एमाले बन्यो । कोके, माले र एमालेको एकछत्र नेतृत्वमा रहे नेपाल । २०३९ मा सीपी मैनाली संकटमा पर्दा होस् या २०५४ मा वामदेव गौतमसहितका नेताहरूले पार्टी छोड्दा, नेपाल शक्तिमा रहिरहे ।
मैनाली, मदन भण्डारी र झलनाथ खनाल पार्टी नेतृत्वमा रहँदा पनि निर्णयमा माधवकुमार नेपालको प्रभाव रह्यो । २०५१ सालमा मदन भण्डारीको मृत्यु भएपछि लगातार १४ वर्ष महासचिव रहे नेपाल । २०६४ को पहिलो संविधानसभा चुनावमा भएको एमालेको पराजयको नैतिक जिम्मेवारी लिँदै उनले नेतृत्वबाट राजीनामा दिए ।
त्यसपछि झलनाथ खनाल महासचिव भए पनि एमालेमा नेपालको प्रभाव निर्णायक रह्यो । उनी एमालेको शक्तिमा रहँदै पञ्चायत र राजतन्त्र अन्त्य जस्तो ऐतिहासिक परिवर्तन भयो ।
२०७१ को नवौं महाधिवेशनमा भने उनी केपी शर्मा ओलीसँग पराजित भए । त्यसपछि पार्टी भित्रको शक्ति–संघर्षकै क्रममा ओलीले संविधान बाहिर गएर ५ पुस २०७७ मा प्रतिनिधिसभा विघटन गरे । त्यसपछिको जोर-जबर्जस्तीको क्रममा नेपालले नेकपा (एमाले) छाडे, जुन उनको ४५ वर्षदेखिको संकल्प र निर्माण थियो ।
त्योसँगै सूर्य चिह्नसँग उनको ३१ वर्षे सम्बन्ध पनि तोडियो । राष्ट्रिय सभा सदस्य रहेकाले २०४८ र २०५१ को चुनाव नलड्दा पनि उनी सूर्य चिह्नवाहक पार्टीका नेता थिए ।
नेपालले पहिलो पटक २०५६ सालमा रौतहट–४ बाट प्रतिनिधिसभा निर्वाचन लडेर जितेका थिए । माओवादीको लहर चलेको २०६४ मा भने एमालेसँगै आफू पनि पराजित भएर पार्टी नेतृत्व छाडेका थिए । त्यसबेला उनी रौतहट–६ मा देवेन्द्रप्रसाद पटेल र काठमाडौं–२ मा झक्कुप्रसाद सुवेदीसँग हारे । विजयी दुवै माओवादीका उम्मेदवार थिए ।
त्यसपछि राष्ट्रिय राजनीतिक शक्ति–सन्तुलन मिलाउन नेपाललाई समानुपातिक सांसदमा मनोनीत गरियो । उनी संविधानको मस्यौदा बनाउने संवैधानिक–राजनीतिक समितिका सभापति चुनिए । त्यही क्रममा नेपाली कांग्रेससहित दलहरूको समर्थनमा २०६६ मा प्रधानमन्त्री भए ।
२०७० को दोस्रो संविधानसभा निर्वाचनमा नेपालले रौतहट–१ र काठमाडौं–२ दुवै क्षेत्रबाट जितेका उनले २०७९ सालको प्रतिनिधिसभामा एकीकृत समाजवादीको अध्यक्षका रूपमा रौतहट-१ बाट विजयी भए ।
गत कात्तिक तेस्रो साता प्रचण्ड नेतृत्वको तत्कालिन माओवादी केन्द्र र माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीबीच एकता भई नेपाली कम्युनिस्ट पार्टीको औपचारिक घोषणा भयो । पार्टी, झण्डा र चुनाव चिह्नसमेत नयाँ लिएर नेपाल चुनावी मैदानमा होमिएका छन् ।
जीवनको उत्तरार्द्धतिर पटकपटक नयाँ पार्टी खोल्दै जोखिम उठाइरहेका नेपालका लागि रौतहट–१ को चुनावी प्रतिस्पर्धा विगतमा सहज भए पनि वर्तमानमा भने चुनौतीपूर्ण छ । गत जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योगपीठ तथा आयुर्वेद मुद्दा प्रकरणमा उनीविरुद्ध मुद्दा दायर गरेको छ । यो मुद्दाका कारण उनी विवादास्पद बनेका छन् ।
Battleground Analysis
अनुकूलता
- रौतहटका मतदातामाझ परिचित
- दशकौँ कम्युनिस्ट आन्दोलनको नेतृत्व
- नेकपासँगको एकताले मत एकत्रित गर्ने सम्भावना
प्रतिकूलता
- पार्टी परिवर्तनले मतदातामा द्विविधा
- बहुकोणीय प्रतिस्पर्धा
- मुद्दाका कारण छविमा नकारात्मक असर पार्ने जोखिम
माधव कुमार नेपाल को उम्मेदवारि कस्तो लागयो ?

