आठौंपटक चुनावी मैदानमा लक्ष्मी पोखरेल
२०३६ सालको एक दिन, दैलेखको विजया माध्यमिक विद्यालयमा अध्ययन गर्ने लक्ष्मी पोखरेल खोज्दै प्रहरी गाउँ पुग्यो र पक्राउ गर्यो । त्यसबेला लक्ष्मी १७ वर्ष मात्र थिए । पक्राउ गर्नुको कारण थियो, उनी पञ्चायतको विरोध र बहुदलको पक्षमा खुलेर लागेका थिए ।
त्यसको एक वर्षअघि नै अर्थात् १६ वर्षकै उमेरमा लक्ष्मीले आफू पढ्ने विजया माध्यमिक विद्यालयमा नेपाल मजदुर किसान पार्टीको विद्यार्थी कमिटी गठन गरेका थिए । कमिटीका उनी संस्थापक अध्यक्ष थिए । पञ्चायतको विरोधमा हुने कार्यक्रममा सहभागी हुने मात्र होइन, सकेसम्म नेतृत्व नै गर्थे । पञ्चायतका शासकलाई त्यो मनपर्ने कुरा थिएन । त्यसैले १७ वर्षकै कलिलो उमेरमा उनी पक्राउ परेका थिए ।
विद्यालय शिक्षा सकेपछि उनले २०४१ देखि २०४३ सम्म नेपाल राष्ट्रिय निमावि रिजुमा शिक्षण कर्म गरे । दिनभर विद्यालयमा पढाउने, रातिराति राजनीतिक गतिविधिमा सक्रिय हुने लक्ष्मी पञ्चायती प्रशासनको आँखाबाट लामो समय छिप्न सकेनन् । २०४२ मा पुन: पक्राउ परे । यसपटक उनलाई दुई महिनासम्म कारागार राखियो ।
२०१९ साल असार १३ गते दैलेखमा जन्मिएका लक्ष्मीप्रसादलाई यी सबै घटनाले राजनीतिक गतिविधिमा लागिरहन झन्झन् साहस दियो । २०४३ मा शिक्षकको जागिर छाडेर उनी गाउँ पञ्चायतको प्रधानको निर्वाचनमा उम्मेदवार बने र जिते ।
त्यसयता नेमकिपाबाट सुरु भएको उनको राजनीति एमाले, माले र पुन: एमालेमा रहेर अघि बढिरहेको छ । यसबीच २१ फागुनमा हुने निर्वाचनमा उनी आठौंपटक उम्मेदवार बनेका छन् ।
उनको नेतृत्वमा २०४५ सालमा जिल्लामा मदिरा निषेध आन्दोलन भएको थियो । २०४६ सालको संयुक्त जनआन्दोलनमा दैलेख जिल्लाको संयोजक रहेर लक्ष्मीले आन्दोलनलाई नेतृत्व दिए । यसक्रममा उनी ३ फागुनमा पक्राउ परे । आन्दोलन उत्कर्षमा बढ्दै थियो । अन्तत: २६ चैत २०४६ मा बहुदलमाथिको प्रतिबन्ध हटेपछि मात्र उनी कारागारबाट रिहा भए ।
२०४२ देखि नेमकिपाका जिल्ला समिति सदस्य भएका उनी २०४८ मा बुटवलमा भएको प्रथम केन्द्रीय महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । २०४९ गाविस अध्यक्ष बनेका उनी २०५४ मा वडा सदस्य लडे । नेमकिपाको प्रभाव न्युन हुँदै गएको थियो । २०५४ मै उनले समेत नेमकिपा छाडेर नेकपा एमाले रोजे ।
पछि एमाले विभाजन हुँदा वामदेव गौतम नेतृत्वको मालेमा लागे । २०५५ मा मालेबाट जिल्ला विकास समितिको चुनावमा सदस्य लडेका उनी एमालेकै भद्र भण्डारीसँग पराजित भए ।
एमाले विभाजनपछि २०५६ मा भएको प्रतिनिधिसभा निर्वाचनमा लक्ष्मी मालेबाट उम्मेदवार बनेका थिए । तर, जमानत जोगाउनसमेत सकेनन् । त्यसोत: त्यतिबेला देशैभरबाट मालेका उम्मेदवार पराजित भएका थिए ।
मालेमै रहेर राजनीति गर्दा खासै अघि बढ्न नसक्ने देखेपछि २०५८ मा वामदेव गौतमसँगै उनी एमालेमा फर्किए । यसक्रममा उनी एमाले दैलेखको जिल्ला सदस्य भए । २०६३ देखि २०६६ सम्म एमालेको जिल्ला कमिटी उपसचिव बने ।
भेरी अञ्चल समन्वय कमिटीका संगठन विभाग प्रमुख तथा नेकपा एमालेका राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यको जिम्मेवारी समेत निभाए । पार्टी राजनीतिमा उनी उक्लिँदै गए । नेकपा एमालेको पोलिटब्युरो सदस्य समेत भए ।
यसबीच २०७० को दोस्रो संविधान सभा चुनावमा एमालेबाट उम्मेदवार बनेर उनले संसदीय यात्रा सुरु गरे । त्यसबेला उनले १५ हजार ६१९ मत पाएका थिए भने निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हिमबहादुर शाहीले १३ हजार ९६ मत ल्याएका थिए ।
२०७९ मा उनी दैलेख २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका थिए । तर, नेपाली काँग्रेसका दिक्पाल शाहीसँग १५३ मले मात्र पराजित हुन पुगे । दिक्पालले २० हजार १५८ मत ल्याउँदा लक्ष्मीले २० हजार ५ मत पाएका थिए ।
पार्टी राजनीतिमा पनि पछिल्ला वर्ष उनका लागि उपलब्धिमूलक बन्न सकेन । हालै भएको एमालेको ११औं महाधिवेशनमा केपी ओली प्यानलबाटै केन्द्रीय सदस्य उम्मेदवार बने पनि उनी पराजित हुन पुगे ।
स्नातकसम्मको अध्ययन पूरा गरेका ६३ वर्षीय लक्ष्मीलाई पार्टीले पुन: यही क्षेत्रबाट उम्मेदवार बनाएको छ । यसक्रममा उनी २०७९ मा थोरै मतले व्यहोरेको पराजयलाई यसपटक उल्टाएर जित हासिल गर्न प्रयासरत छन् ।
अनुकूलता :
पञ्चायतकालदेखि नै जनपक्षीय राजनीति, केही वर्षको शिक्षण र गाविसको प्रमुखको जिम्मेवारीका कारण जनस्तरसम्मै पहुँच, संविधान सभा सदस्यका रूपमा निर्माणमा भूमिका निर्वाह गरेका नेता हुन् ।
प्रतिकूलता :
नेमकिपाबाट एमाले, एमालेबाट माले र पुन: एमालेमा फिर्ता हुँदा अस्थिर राजनीतिज्ञको आरोप, जिल्लाको विकासमा चासो नदेखाएको, नयाँ पुस्तालाई अघि बढाउन र मौका दिन नचाहेको आरोप उनीमाथि लाग्ने गरेको छ ।
व्यक्तिगत विवरण
नाम: लक्ष्मीप्रसाद पोखरेल
जन्म : २०१९ साल असार १३ गते
जन्मस्थान : दैलेख
स्थायी ठेगाना: दुल्लु नगरपालिका–५, छिउडीपुसाकोट, दैलेख
शिक्षा: स्नातक तह
राजनीतिक टाइमलाइन
२०३५ : दैलेखमा नेमकिपाको विद्यार्थी संगठनको संस्थापक अध्यक्ष
२०३६ : बहुदलको पक्षमा लाग्दा पक्राउ
२०४२ : पञ्चायतविरुद्ध आन्दोलन गर्दा दुई महिना जेल
२०४३ : दैलेखको तत्कालीन पुष गाउँ पञ्चायतको प्रधानपञ्चमा निर्वाचित
२०४५ : जिल्लामा मदिरा निषेध आन्दोलनको अगुवाइ
२०४६ : संयुक्त जनआन्दोलनमा दैलेख जिल्लाको संयोजक
२०४८ : नेमकिपाको केन्द्रीय सदस्य निर्वाचित
२०४९ : गाविस अध्यक्ष निर्वाचित
२०५४ : एमालेमा प्रवेश
२०५६ : एमाले विभाजनपछि मालेबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार
२०६३–२०६६ : एमालेको दैलेख जिल्ला कमिटी उपसचिव
२०७० : संविधान सभा सदस्य विजयी
२०७९ : प्रतिनिधिसभा सदस्य पराजित
२०८२ : प्रतिनिधिसभा सदस्य उम्मेदवार
लक्ष्मीप्रसाद पोखरेल को उम्मेदवारि कस्तो लागयो ?


