पहिलो पटक प्रत्यक्ष निर्वाचन जित्न संघर्षरत
पार्टी राजनीतिमा सफलताका सिँढी चढ्दै आएकी डिनाका लागि आम चुनाव भने सधैं चुनौतीपूर्ण रहँदै आएको छ ।
०००
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मकवानपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले महालक्ष्मी उपाध्याय ‘डिना’ लाई उम्मेदवार बनाएको छ । ६१ वर्षीया डिना कांग्रेस राजनीतिमा लामो समयदेखि संघर्षरत नेतृ हुन् ।
२०२१ सालमा जन्मिएकी डिनाले स्नातकोत्तर तहसम्मको अध्ययन गरेकी छिन् । उनी विद्यार्थी राजनीतिबाटै सक्रिय भएकी हुन् । पद्मकन्या क्याम्पसमा अध्ययनरत रहँदा नेविसंघको राजनीतिमा लागेकी डिनाले २०३९ सालदेखि कांग्रेसको संगठन निर्माणमा लागेकी हुन् ।
२०४२ सालको सत्याग्रह आन्दोलनमा सहभागी हुँदा उनी शैलजा आचार्यसँगै सात महिना जेलसमेत बसिन् । त्यसको एक वर्षपछि, २०४३ सालमा पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भई उनी विद्यार्थी राजनीतिमा होमिएकी हुन् ।
२०४७ देखि २०५७ सालसम्म नेपाल महिला संघ मकवानपुरको सभापतिमा चयन भइन् । डिनाका लागि आम चुनाव भने सधैं चुनौतीपूर्ण रहँदै आएको छ ।
२०४८ र २०५१ सालमा मकवानपुर-२ बाट प्रतिनिधिसभा निर्वाचन लड्दा उनी नेकपा एमालेका विरोध खतिवडासँग पराजित भइन् । २०७४ सालमा पनि सोही क्षेत्रमा उनले पुनः पराजय भोग्नुपर्यो ।
२०६४ र २०७० सालमा भने समानुपातिकबाट संविधानसभा सदस्य हुँदै डिना संविधान निर्माणमा सहभागी भइन् । यही अवधिमा उनी जलस्रोत राज्यमन्त्रीसमेत बनिन् ।
२०७९ सालको निर्वाचनमा उनी मकवानपुर-१ बाट प्रतिनिधिसभा उम्मेदवार बनेकी थिइन् । सो निर्वाचनमा राप्रपाका दीपक सिंहसँग पराजित भइन् । यस पटक पनि सोही क्षेत्रबाट उनले उम्मेदवरी दिएकी हुन् ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट सहमहामन्त्री निर्वाचित डिना पार्टी भित्र अनुभवी नेतृका रूपमा चिनिन्छिन् ।
अनुकूलता
· निरन्तरको राजनीतिक सक्रियता
· महिला नेतृत्व र संगठन विस्तारमा योगदान
· पार्टीप्रति प्रतिबद्धता र धैर्य
प्रतिकूलता
· प्रत्यक्ष निर्वाचनमा पटक-पटक पराजय
· चुनावी रणनीति प्रभावकारी नदेखिएको भनेर आलोचना
· जनलहर सिर्जना गर्न अपेक्षाकृत कठिनाइ
महालक्ष्मी उपाध्याय ‘डिना’ को उम्मेदवारि कस्तो लागयो ?




