जित दोहोर्याउने रहर, प्रतिकूल अंकगणित
पञ्चायती शासन व्यवस्था उत्कर्षतिर पुग्दै गर्दा एनपी साउद कञ्चनपुरको महेन्द्रनगर माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्थे । त्यही समयमा उनले नेपाली कांग्रेसको नेविसंघमा लागेर विद्यार्थी आन्दोलनको नेतृत्व गरे । त्यसरी सानै उमेरमा विद्यार्थी नेता बनेका साउद प्रहरी प्रशासनको निशाना बन्ने नै भए ।
कञ्चनपुरमा दैनिकजसो पञ्चायती शासनविरुद्ध नाराजुलूस हुन्थ्यो । उनी लुक्दै, छलिंदै आन्दोलनमा लागिरहे । त्यसक्रममा पटक–पटक पक्राउ परे, छुटे ।
यो २०३५–३६ सालको प्रसङ्ग हो । पञ्चायतले २०३० सालमै क्याम्पस र विद्यालयमा स्ववियुलाई प्रतिबन्धित गरेको थियो । कुनै पनि किसिमको राजनीतिक गतिविधिमा संलग्न नहुन विद्यार्थीलाई आदेश थियो । त्यस विरुद्ध आन्दोलन गर्दा गर्दै २०३६ सालमा साउद महेन्द्रनगर माविको नेविसंघ इकाइ सचिव भए ।
सिद्धनाथ विज्ञान क्याम्पसमा आईएस्सी पढ्दै गर्दा साउद स्ववियू सचिव चुनिए । उच्च शिक्षाका लागि काठमाडौं आएपछि उनी कृष्णप्रसाद भट्टराईको नजरमा परे अनि २०४१ सालमा नेविसंघको केन्द्रीय सदस्य चुनिए । सुदूरपश्चिमका शेरबहादुर देउवा राष्ट्रिय राजनीतिमा स्थापित भइनसकेको समय थियो, त्यो ।
त्यसपछि प्रजातन्त्र पुनर्स्थापनाका लागि सत्याग्रहको समय आयो । त्यसपछि २०४६ साल आयो । यसबीचमा साउद पटक–पटक पक्राउ परे अनि अनेक उपाय लगाएर छुटे । प्रजातन्त्र पुनर्स्थापनापछि २०४८ असोजमा भएको महाधिवेशनबाट साउद नेविसंघको अध्यक्ष चुनिए । त्यसबेला उनी २६ वर्षका थिए । नेविसंघमा कार्यकाल सकिएपछि उनी पार्टी राजनीतिमा लागे ।
साउदले पार्टीको केन्द्रीय सदस्य बन्न चाहिं २०५९ सालसम्म कुर्नु पर्यो । शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस विभाजित हुँदा उनले त्यो अवसर पाए । २०६४ सालमा कांग्रेस एकीकृत हुँदा पनि उनी केन्द्रीय सदस्य कायम रहे । त्यसपछि १२औं, १३औं र १४औं महाधिवेशनबाट पनि केन्द्रीय सदस्यमा विजयी बने ।
२०७९ सालमा कञ्चनपुरबाट विजय भएपछि साउदले परराष्ट्रमन्त्रीको जिम्मेवारी पाए । यसअघि नै उनी दुईपटक गरी तीन वर्ष मन्त्री बनिसकेका थिए– २०५६ मा शिक्षा राज्यमन्त्री र २०७० मा सिंचाइ मन्त्री । चुनावको मुखमा भएको नेपाली कांग्रेसको विशेष महाधिवेशनताका शेरबहादुर देउवा खेमामा उभिएका उनलाई गगन थापा नेतृत्वको कांग्रेसले पनि २१ फागुनको चुनावमा उम्मेदवार बनाएको छ ।
साउदले संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने अवसर भने २०५१ सालदेखि नै पाएका थिए । २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ सालको चुनाव चलडेका उनले कञ्चनपुरबाट २०५६, २०७० र २०७९ सालमा तीन पटक जिते । एक हारपछि जित निकालेर एउटा नियमित शृङ्खला बनाएका उनीमाथि यसपटक रुटिन भत्काउने चुनौती छ ।
कर्णाली र सुदूरपश्चिममा देउवालाई मजबूत बनाउने भूमिका खेलेका साउदलाई बदलिएको सन्दर्भ र पार्टीभित्र आफूलाई बलियो बनाइरहनुपर्ने चुनौती थपिएको छ ।
अनुकूलता-प्रतिकूलता
२०७४ सालको संसदीय निर्वाचनमा एनपी साउद एमालेका नरबहादुर धामीबाट पराजित भएका थिए । २०७९ सालमा उनले माओवादी केन्द्र र एकीकृत समाजवादीसँगको गठबन्धनको बलमा झन्डै ७ हजार मतान्तरसहित धामीसँग बदला लिए ।
जेनजी आन्दोलनपछि नयाँ सन्दर्भमा हुन गइरहेको यसपटकको चुनावमा साउदलाई हरेक जितपछिको हारको प्रवृत्ति भत्काउन निकै मेहनत गर्नुपर्ने देखिन्छ ।
Battleground Analysis
अनुकूलता
- राष्ट्रिय नेताको छवि ।
- परराष्ट्र मन्त्री हुँदा कञ्चनपुरमा गरेका विकास निर्माण (जस्तै: दोधारा चाँदनी सुक्खा बन्दरगाहको प्रक्रिया अघि बढाउनु) ।
प्रतिकूलता
- प्याटर्नको मनोवैज्ञानिक असर: 'एक पटक जित्ने एक पटक हार्ने' इतिहासले मतदाता र कार्यकर्तामा मनोवैज्ञानिक असर पार्न सक्छ।
- पार्टीभित्रको गुट: देउवा पक्षका साउदलाई गगन थापा पक्ष (संस्थापन) को कति सहयोग हुन्छ भन्ने संशय।
- एन्टी-इन्कम्बेन्सी: सुदूरपश्चिममा देउवा र पुराना नेताहरूप्रति बढेको असन्तुष्टिको असर।
राजनीतिक स्वभाव र शैली
देउवाका विश्वासपात्र
शेरबहादुर देउवाको राजनीतिक उदयदेखि नै उनको साथमा रहेर सुदूरपश्चिममा कांग्रेस र देउवा गुट बलियो बनाउन मुख्य भूमिका खेल्ने नेता। पार्टी विभाजन (२०५९) देखि एकीकरण र पछिल्ला महाधिवेशनहरूमा देउवाको 'कोर टिम' मा रहेर काम गरेको इतिहास।
अन्तर्राष्ट्रिय सम्बन्ध
परराष्ट्र मन्त्री हुँदा विभिन्न कूटनीतिक भ्रमण र 'हमास' को कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि गरेको पहलले उनको कूटनीतिक क्षमता उजागर गर्यो।
जुझारु विद्यार्थी नेता
पञ्चायतकालमा नेविसंघको अध्यक्ष (२०४८) भएर विद्यार्थी आन्दोलन हाँकेको र पटक–पटक जेल नेल भोगेको संघर्षशील पृष्ठभूमि।
जित र हारको शृंखला
चुनावमा 'एक पटक जित्ने र अर्को पटक हार्ने' रोचक शृंखला बनाएका नेता।
राजनीतिक टाइमलाइन
विद्यार्थी राजनीति
महेन्द्रनगर माविमा नेविसंघ इकाइ सचिवबाट राजनीति सुरु।
विद्यार्थी नेता
नेविसंघको केन्द्रीय सदस्य।
गिरफ्तारी
जनआन्दोलनमा सक्रिय र पटक–पटक गिरफ्तारी।
नेविसंघको नेतृत्वमा
नेविसंघको केन्द्रीय अध्यक्ष (२६ वर्षको उमेरमा)।
संसद छिर्ने असफल प्रयास
पहिलो संसदीय निर्वाचन (मध्यावधि) मा उम्मेदवार, तर पराजित।
राजकाजको अनुभव
कञ्चनपुरबाट सांसद निर्वाचित। शिक्षा राज्यमन्त्री।
विभाजनमा देउवासँगै
कांग्रेस विभाजन हुँदा देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकको केन्द्रीय सदस्य।
संविधानसभा-२
कञ्चनपुरबाट निर्वाचित। सिंचाइ मन्त्री।
परराष्ट्रमन्त्री
प्रचण्ड नेतृत्वको सरकारमा परराष्ट्र मन्त्री।
'एक हारपछि जित' को शृंखला तोड्दै जित दोहोर्याउने चुनौती सहित कञ्चनपुर–२ मा उम्मेदवार।
नारायण प्रकाश साउद को उम्मेदवारि कस्तो लागयो ?



