Home Candidate नरेन्द्र कुमार केरुङ

दुई हारले थाकेनन्, अब संगठनको बलमा जीत निकाल्ने दौडमा

पाँचथर - १ उम्मेदवार

नरेन्द्र कुमार केरुङ

नेपाली कांग्रेस
पुरुष , ५३ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

हाल फिदिम नगरपालिका–२ लाई स्थायी बासस्थान बनाएका केरुङको राजनीतिक चेतनाको विकास शिक्षण पेशा र विद्यार्थी आन्दोलनसँग गहिरो रूपमा जोडिएको छ ।

व्यवस्थापन शास्त्र संकायमा स्नातकोत्तर अध्ययन गरेका उनी पेशागत रूपमा लेखा व्यवसायमा संलग्न रहँदै आएका छन् ।

राजनीतिमा उनको प्रवेश नेपाल विद्यार्थी संघमार्फत भएको हो। २०४८ सालमा नेविसंघ जिल्ला सचिवको जिम्मेवारी सम्हालेपछि उनी क्रमशः शिक्षक र प्राध्यापकहरूको संगठनमार्फत सक्रिय राजनीतिमा स्थापित हुँदै गए ।

२०५१ सालमा नेपाल शिक्षक संघको जिल्ला सह–सचिव बनेका केरुङ २०५७ देखि २०६७ सालसम्म ट्रेड युनियन कांग्रेस पाँचथरको सभापतिका रूपमा दस वर्ष संगठन नेतृत्वमा रहे ।

यसै अवधिमा उनले नमुना माध्यमिक विद्यालय फिदिम र सिद्धदेवी माध्यमिक विद्यालय सिदिनमा शिक्षकका रूपमा सेवा गरे भने २०५५ देखि २०६७ सालसम्म पाँचथर बहुमुखी क्याम्पसमा प्राध्यापन गर्दै प्राध्यापकको भूमिकामा पनि सक्रिय रहे।

२०६७ साल उनको राजनीतिक यात्राको महत्त्वपूर्ण मोड बन्यो। सोही वर्ष उनले प्रजातान्त्रिक प्राध्यापक संघको केन्द्रीय सदस्यमा जित हासिल गरे भने नेपाली कांग्रेस पाँचथरको जिल्ला सभापतिमा निर्वाचित भए । कम उमेरमै जिल्ला सभापतिको जिम्मेवारी पाएका केरुङले लगातार दुई कार्यकाल, २०७८ सालसम्म, जिल्ला पार्टी नेतृत्व सम्हाले ।

पाँचथरको फालेलुङ गाउँपालिका–७ सिदिनमा २०२९ मंसिर २१ गते जन्मिएका नरेन्द्र कुमार केरुङ नेपाली कांग्रेसका ती नेतामध्ये पर्छन्, जसले विद्यार्थी राजनीति हुँदै बौद्धिक र संगठनात्मक यात्राबाट आफ्नो राजनीतिक पहिचान निर्माण गरेका छन् ।


यस अवधिमा उनी संगठन विस्तार, आन्तरिक समन्वय र पार्टी प्रशिक्षणमा सक्रिय रहे। प्रशिक्षक र लेखकको रूपमा समेत उनको उपस्थिति देखिँदै आएको छ। विशेष महाधिवेशनपछि हाल उनी नेपाली कांग्रेसको केन्द्रीय सदस्यका रूपमा जिम्मेवारीमा छन्।

चुनावी राजनीतिमा भने केरुङको यात्रा चुनौतीपूर्ण रह्यो। २०७० सालको संविधान सभा निर्वाचनमा पाँचथर निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवार बनेका उनी पराजित भए । त्यसपछि २०७४ सालको प्रदेश सभा निर्वाचनमा पनि उनले हार व्यहोर्नुपर्‍यो । यी दुई पराजयका बाबजुद उनी पार्टी संगठन र वैचारिक राजनीतिमा निरन्तर सक्रिय रहँदै आएका छन् ।

राजनीतिक स्वभावका हिसाबले नरेन्द्र कुमार केरुङ प्रस्ट वक्ता र बौद्धिक नेताका रूपमा चिनिन्छन्। युवापुस्तासँग सहज रूपमा घुलमिल हुन सक्ने क्षमता, संगठनभित्र समन्वय गर्न सक्ने शैली र विकासका विषयमा संवाद र सहकार्यलाई प्राथमिकता दिनु उनका सबल पक्ष मानिन्छन् ।

तर दुई पटकको चुनावी पराजय, छिटो विश्वास गर्ने प्रवृत्ति र कहिलेकाहीँ फ्याट्ट बोल्ने बानीलाई उनका दुर्बल पक्षका रूपमा समेत चर्चा गरिन्छ । शिक्षण, संगठन र राजनीतिलाई एउटै धारमा जोड्दै अघि बढेका नरेन्द्र कुमार केरुङको राजनीतिक यात्रा पाँचथरको कांग्रेस राजनीतिमा एउटा बौद्धिक र संगठनमुखी धारको छ ।

उनको निर्वाचन क्षेत्रमा गत चुनावमा एमालेका बसन्तकुमार नेम्बाङले ३२ हजार ११० मत ल्याएर चुनाव जितेका थिए । उक्त चुनावमा कांग्रेसका भिष्मराज आङदेम्बेले ३२ हजार ६३ मत ल्याएका थिए । यो क्षेत्रमा रास्वपाका दलप्रसाद लिङदेनले ५२५ मत ल्याएका थिए । विगतमा एमालेले जित्दै आएको क्षेत्र भएकाले यो क्षेत्रमा कांग्रेस जित निकाल्नुपर्ने चुनौती छ । यो क्षेत्रमा अहिले मुख्य रुपमा एमालेका अइन्द्रसुन्दर नेम्बाङ, नेकपाका हर्कबहादुर नेम्बाङ र रास्वपाका महेन्द्रविक्रम थाम्सुहाङ मुख्य रुपमा प्रतिस्पर्धी उम्मेदवार छन् ।

अनकूलता
• बौद्धिक र शिक्षण पृष्ठभूमि
• नेविसंघदेखि ट्रेड युनियन कांग्रेस र दुई कार्यकाल जिल्ला सभापति हुँदै केन्द्रीय सदस्यसम्मको यात्रा
• युवा पुस्तासँग संवाद र समन्वय क्षमता

प्रतिकूलता
• संविधान सभा र प्रदेश सभा निर्वाचनमा पराजयको इतिहास
• भावनात्मक र फ्याट्ट बोल्ने शैली
• व्यक्तिगत विश्वासमा छिटो निर्भरता

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

नरेन्द्र कुमार केरुङ को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित