सम्पदा संरक्षणको कार्यसूची बोकेर चुनावी मैदानमा
सांस्कृतिक सम्पदाको संरक्षणसँगै व्यवस्थित पूर्वाधार विकास, स्थानीय जनताको जीवनस्तर सुधार र राज्यका सेवामा समान पहुँच सुनिश्चित गर्ने उनको प्रतिबद्धता छ ।
०००
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार हुन्, निरज लामा । उनी स्थानीय नेता हुन् ।
२०६२/६३ को जनआन्दोलनपछि निरन्तर माओवादी राजनीतिमा सक्रिय रहँदै आएका लामाले यसपटक प्रतिनिधिसभा सदस्यका रूपमा उम्मेदवारी दिएका हुन् ।
२०३७ साल साउन ७ गते काठमाडौं महानगरपालिका–६ मा जन्मिएका लामाको राजनीतिक चेतना गणतन्त्र स्थापनाको आन्दोलनसँगै विकसित भएको हो ।
औपचारिक रूपमा लेखपढसम्म अध्ययन गरेका उनी राजनीतिक प्रशिक्षण, संगठनात्मक अभ्यास र आन्दोलनको अनुभवलाई आफ्नो मुख्य पूँजी मान्छन् । उनी हाल नेकपाका काठमाडौं महानगर संयोजकको जिम्मेवारीमा छन् ।
लामाको राजनीतिक यात्रा २०६२/६३ को जनआन्दोलनदेखि सुरु भएको हो । राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा सक्रिय सहभागिता जनाउँदै उनले माओवादी राजनीतिमा आफ्नो पहिचान बनाए ।
उनी स्थानीयस्तरमा निरन्तर संगठन विस्तार, जनसम्पर्क र स्थानीय तहमा पार्टीको उपस्थिति मजबुत बनाउन लागेका नेता हुन् ।
माओवादी र एकीकृत समाजवादीको एकीकरणपछि उनी प्रचण्ड–माधव समूहका युवा नेताका रूपमा चिनिएका हुन् ।
यसपटकको उम्मेदवारीलाई लामा गणतन्त्रका उपलब्धि जोगाउन उम्मेदवारी दिएको बताउँछन् । ‘गणतन्त्र सहजै आएको होइन । यो जनताको बलिदानबाट प्राप्त उपलब्धि हो । त्यसलाई जोगाउन र संस्थागत गर्न संसद्मा पुग्न जरुरी ठानेर उम्मेदवारी दिएको हुँ,’ उनले भने ।
विगतका प्रतिनिधिले जनचाहनाअनुसार काम गर्न नसेको उनको निष्कर्ष छ । ‘३ नम्बर क्षेत्रमा धेरै व्यक्तिले जितेर गए,’ लामा भन्छन्, ‘तर क्षेत्रले जित्न सकेन ।’
विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको क्षेत्र भए पनि अपेक्षित विकास हुन नसकेको उनको गुनासो छ ।
उनको चुनावी एजेन्डामा विकास र सुशासन प्रमुख छन् । सांस्कृतिक सम्पदाको संरक्षणसँगै व्यवस्थित पूर्वाधार विकास, स्थानीय जनताको जीवनस्तर सुधार र राज्यका सेवामा समान पहुँच सुनिश्चित गर्ने उनको प्रतिबद्धता छ ।
विकासको नाममा सम्पदा मास्ने होइन, सम्पदालाई जोगाउँदै आर्थिक अवसर सिर्जना गर्नुपर्ने उनी बताउँछन् ।
‘क्षेत्रका जनताको विकासका लागि उम्मेदवारी दिएको हुँ,’ संसद्मा पुगेर काठमाडौं–३ लाई विकास र पहिचान दुवैमा अगाडि बढाउने मेरो लक्ष्य हो,’ उनले भने ।
क्षेत्र नम्बर ३ मा एमालेका रामेश्वर फुँयाल, कांग्रेसका रमेश अर्याल, नेकपाका निरज लामा, उज्यालो नेपालका कुलमान घिसिङ लगायतका २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
यसअघि २०७९ को चुनावमा काठमाडौं–३ मा कांग्रेसकै सन्तोष चालिसेले जित हात पारेका थिए । त्यसबेला चालिसेले १५ हजार १५८ मत ल्याएका थिए ।
त्यसैगरी एमालेका तत्कालीन उम्मेदवार कृष्णबहादुर राईले ११ हजार १९६ र रास्वपाका दुर्गाविक्रम थापाले ५ हजार ८६५ मत ल्याएका थिए । राप्रपाका गणेश गिरीले २ हजार ५११ मत ल्याएका थिए । क्षेत्र नम्बर ३ मा ४८ हजार ४८९ जना मतदाता छन् ।
अनुकूलता
- स्थानीय नेता र निरन्तर संगठनात्मक उपस्थिति
- आन्दोलनबाट खारिएको राजनीतिक पृष्ठभूमि
- सम्पदा संरक्षणसँग विकास जोड्ने स्पष्ट एजेन्डा
प्रतिकूलता
- औपचारिक शैक्षिक योग्यता कमजोर
- राष्ट्रियस्तरको पहिचान सीमित
- नेकपाको मत आधार पुनर्संरचनाको चुनौती
को हुन् निरज लामा ?
जन्ममिति : २०३७–०४–०७
जन्मस्थान : काठमाडौं महानगरपालिका–६
शैक्षिक योग्यता : लेखपढ
२०६२/६३ को जनआन्दोलनपछि माओवादीमा सक्रिय
हाल : नेकपाका काठमाडौं महानगर संयोजक
निरज लामा को उम्मेदवारि कस्तो लागयो ?


