Home Candidate रमेश प्रसाद धमला

पर्यटन व्यवसाय र राजनीतिको फ्युजन

धादिङ - २ उम्मेदवार

रमेश प्रसाद धमला

नेपाली कांग्रेस
पुरुष , ५९ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

पर्यटन र राजनीतिमा चार दशकको अनुभव बोकेका रमेश धमला कांग्रेसबाट धादिङ-२ मा सहमति र विकासको एजेन्डासहित चुनावी मैदानमा छन् ।

०००

धादिङ क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार रमेश धमला पर्यटन व्यवसायमा पहिचान बनाएका र राजनीतिमा चार दशक लामो संघर्ष गरेका अनुभवी नेता हुन् । धादिङको समग्र विकासमा दूरदृष्टिसहितको ‘भिजनरी’ नेतृत्वका रूपमा उनी परिचित छन् ।

देश संघीय संरचनामा प्रवेश गरेपछि धादिङमा पालिका विभाजन र नामकरणको प्रक्रियामा नेपाली कांग्रेसको तर्फबाट देखाएको नेतृत्वदायी भूमिकाले धमलालाई थप चिनाएको हो । स्थानीय तहदेखि राष्ट्रिय राजनीतिसम्म निरन्तर सक्रिय उनी विकास र संस्थागत सुदृढीकरणमा जोड दिने नेताका रूपमा हेरिन्छन् ।

२०२३ असोज १५ गते स्व. सूर्यप्रसाद धमला र खिलादेवी धमलाको कोखबाट जन्मिएका रमेशप्रसाद धमला हाल नीलकण्ठ नगरपालिका-१३ का स्थायी बासिन्दा हुन् ।

२०३७ सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट राजनीतिक यात्रा सुरु गरेका उनले शिक्षक संघ धादिङको संस्थापक सदस्यको भूमिकासमेत निर्वाह गरेका छन् । २०५४ सालको स्थानीय निर्वाचनमा साविक साङ्कोष गाविस-९ को वडाध्यक्षमा निर्वाचित भएपछि उनी स्थानीय नेतृत्वमा स्थापित भए ।

वडाध्यक्ष निर्वाचित भएकै समयदेखि उनले पर्यटन व्यवसायमा पनि हात हाले । ‘राजनीति सेवा हो, जसका लागि आर्थिक आत्मनिर्भरता आवश्यक छ’ भन्ने मान्यतासहित उनले राजनीति र पर्यटन व्यवसायलाई एकअर्काको पूरकका रूपमा अघि बढाइरहेका छन् ।

२०७० सालमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्ष निर्वाचित हुँदा उनले पर्यटन क्षेत्रमा नीतिगत सुधार र श्रमिक अधिकारका पक्षमा प्रभावकारी भूमिका खेले । त्यस क्रममा पर्यटन बोर्डमा देखिएको शृंखलाबद्ध भ्रष्टाचारविरुद्ध ५७ दिनसम्म चलेको आन्दोलन, अनसन र विरोध कार्यक्रमको नेतृत्व गर्दै उनले पर्यटन व्यवसायी र श्रमिकको आवाज बुलन्द गरेका थिए ।

धमला अनाथ तथा गरिब बालबालिकाको पालनपोषण र शिक्षाका लागि स्थापित ‘बाल भविष्य संगठन’ का संस्थापक हुन् । साथै, लोकतान्त्रिक गैरसरकारी संस्था फेडेनका केन्द्रीय अध्यक्षसमेत भइसकेका छन् । राजनीतिशास्त्रमा स्नातक गरेका धमलालाई सिद्धान्त र व्यवहारलाई सन्तुलनमा राख्न सक्ने नेता मानिन्छ ।

नेपाली कांग्रेसको नवौँ महाधिवेशनदेखि महाधिवेशन प्रतिनिधि रहँदै आएका धमला पार्टीको विदेश विभाग सदस्य (२०६२ साल), धादिङ जिल्ला सभापति (२०७२ साल) हुँदै हाल केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् ।

संविधान जारी भई देश संघीय संरचनामा प्रवेश गरेपछिको पहिलो निर्वाचनमा उनी धादिङ क्षेत्र नम्बर २ को प्रदेशसभा-१ बाट कांग्रेसका उम्मेदवार बनेका थिए । उक्त निर्वाचनमा उनले १९ हजार १४ मत प्राप्त गरे पनि तत्कालीन वाम गठबन्धनका उम्मेदवार डा. रामकुमार अधिकारीसँग १ हजार ३५४ मतको अन्तरले पराजित भएका थिए ।

जिल्ला नेतृत्वदेखि केन्द्रीय नीति निर्माणसम्म उनले सधैं सहमति, सहकार्य र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राख्दै आएका छन् ।

हालै सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनमा विभिन्न मोर्चाको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेपछि उनी केन्द्रीय सदस्यमा निर्वाचित भए र धादिङ-२ बाट प्रतिनिधिसभा उम्मेदवार बन्न सफल भए । यद्यपि, विशेष महाधिवेशनको विपक्षमा रहेका आफ्नै पार्टीका केही नेताहरू र अन्य दलका बलिया प्रतिस्पर्धीलाई पराजित गर्नु उनको मुख्य चुनौतीका रूपमा देखिन्छ ।

अनुकूलता

  • चार दशक लामो राजनीतिक अनुभव र संगठनात्मक क्षमता
  • पर्यटन, समाजसेवा र स्थानीय विकासमा व्यावहारिक योगदान
  • जिल्ला र केन्द्रीय तह दुवैमा नेतृत्व गरेको अनुभव

प्रतिकूलता

  • अघिल्लो निर्वाचनमा पराजयको दबाब
  • पार्टी भित्रकै असन्तुष्ट समूहको सामना गर्नुपर्ने अवस्था
  • ठूला दल र स्थापित उम्मेदवारसँग कडा प्रतिस्पर्धा
Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

रमेश प्रसाद धमला को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित